भर्खरै :

कसिमला पाँय्, बुद्धिचाल र बाघचाल खेल सम्पन्न

कसिमला पाँय्, बुद्धिचाल र बाघचाल खेल सम्पन्न

भक्तपुर, २३ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा माघ २१ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार कसिमला पाँय्, बुद्धिचाल र बाघचाल खेल सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमममा उहाँले नगरपालिकाले प्रतियोगितालाई खेलकुद महोत्सवको रुपमा लिएको र विद्यार्थीको शारीरिक, मानसिक विकास गर्ने उद्देश्यले हरेक वर्ष खेलकुद कार्यक्रम आयोजना गरिएको बताउनुभयो । खेलाडीको गहना अनुशासन रहेको चर्चा गर्दै उहाँले देशको सार्वभौमिकता रक्षाका लागि खेलाडीहरू सधैँ तत्पर रहनुपर्ने बताउनुभयो । खेल, स्वास्थ्य र शिक्षालाई सँगै लगेमा जीवनमा सफलता प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो ।
वडा नं ६ का वडा सदस्य गोविन्द दुवालले सरकारमा रहेका दल तथा नेताहरूमा अनुशासनको कमी रहेकोले उनीहरूले देश र जनताको बारेमा नसोचेको बताउनुभयो । विद्यार्थीहरू भविष्यका कणर्धार रहेको उहाँले अनुशासित विद्यार्थीहरूले मात्र देश र जनताको लागि योगदान गर्ने बताउनुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक एवं भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले १५ विधाका विभिन्न खेलकुद प्रतियोगितामा कक्षा १ देखि कक्षा १२ सम्मका २२०० भन्दा बढी खेलाडीहरू सहभागी भएको बताउनुभयो ।
नगरपालिकाले चुनावी घोषणापत्र बमोजिम खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको चर्चा गर्दै उहाँले नगरपालिकाले खेल प्रशिक्षणअन्तर्गत ६ वटा खेलहरू प्रशिक्षण दिँदै आएको र प्रशिक्षणमा सहभागी हुन वडा कार्यालयमा सम्पर्क गर्न सकिने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा नं ६ का वडा सदस्य तथा कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, वडा सदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो । खेलमा उत्कृष्ट हुन सफल विद्यार्थीको नतिजा ६ नं खेलकुद समितिका संयोजक राजुसिहं बजिकोले सुनाउनुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूबाट कसिमला पाँय, बुद्धिचाल र बाघचाल खेलमा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । उदयमान खेलाडीको रुपमा बाघचालतर्फ ज्ञानतारा इ. स्कूलका विराज ग्वाछा, बुद्धिचालतर्फ महेन्द्र विद्या आश्रमका सोफिया मधिकर्मी, वागीश्वरी माविका प्रत्यिस श्रेष्ठ, कसिमला पाँयतर्फ शारदा माविका निश्चल राजचल, नविन आधारभूत विद्यालयका जेनिशा कपाली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *