भर्खरै :

नेक्राशिसङ्घ लम्कीचुहाद्वारा विद्यालय बन्दप्रति विमति

नेक्राशिसङ्घ लम्कीचुहाद्वारा विद्यालय बन्दप्रति विमति

कैलाली, १ फागुन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, लम्किचुहा नगर समितिले एक प्रेस विज्ञप्ति प्रकाशित गरी एउटा घटना विशेषका कारण त्यस क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था अनिश्चितकालीन गर्ने निर्णयप्रति सङ्घको ध्यानाकर्षण गरी बालबालिकाहरूको पढ्न पाउने अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिएको छ ।
विज्ञप्तिमा गत माघ २२ गते लम्किचुहा नगरपालिका कैलालीका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गौरीकान्त न्यौपानेमाथि अज्ञात समूहले कानुनविपरीत अमानवीय व्यवहार गरेको र सोही विषयलाई लिएर लम्किचुहा नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठक बसी लम्किचुहा नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था अनिश्चितकालीन बन्द गरिएको निर्णयप्रति नेक्राशिसङ्घको ध्यानाकर्षण भएको जनाउँदै बालबालिकाहरूको पढ्न पाउने अधिकार सुरक्षित हुनुपर्ने सङ्घको धारणा रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा विधि र नीतिको शासनले चल्नुपर्ने लोकतान्त्रिक व्यवस्थामा आवश्यक छानबिन गरी कानुनी प्रक्रियाद्वारा निरूपण गर्नुपर्ने ठाउँमा शिक्षा प्रमुखलाई अमानवीय अराजक गतिविधि गर्नु र प्रधानाध्यापकहरूको बैठकले अनिश्चितकालीन शिक्षण संस्था बन्द गर्नु दुवै सही नभएको हाम्रो ठहर छ भन्दै अनिश्चितकालीन बन्द गरिएका शिक्षण संस्था यथाशीघ्र पुनः सञ्चालन गर्न र दोषी पक्षलाई छानबिन गरी हदैसम्मको कारबाही गरियोस् भनी सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।
नगर समितिका संयोजक तिलक सिजापतिद्वारा हस्ताक्षरित उक्त विज्ञप्ति माघ २३ प्रकाशित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *