कुरीति र अन्यायको बारेमा चुप नलाग्ने हाम्रो आफ्नै परम्परा छ
- कार्तिक १, २०८३
भक्तपुर, ३१ असोज । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृति तथा पूर्वाधार विकासको क्षेत्रमा गरिरहेका कामबारे जानकारी दिनुभयो ।
उहाँले देको मिवा आवास योजनाबारे चर्चा गर्दै आयोजना कार्यान्वयनमा ढिलाइ हुँदा जनताले नै समस्या र नोक्सानी बेहोर्नुपर्ने भएकोले विद्यमान समस्या समाधान गर्दै आयोजना छिटो सम्पन्न गर्ने प्रयास भइरहेको बताउनुभयो ।
आयोजनाका सम्बन्धमा स्थानीय जनताका गुनासा र समस्यालाई गम्भीरतापूर्वक लिई सरसल्लाह तथा छलफलका माध्यमबाट समाधान खोजिरहेको उहाँले स्पष्ट पार्नुभयो । जनतालाई अप्ठ्यारो पार्ने गरी कुनै काम नगर्ने उल्लेख गर्दै आवास योजनाको कामलाई संवेदनशीलताका साथ अगाडि बढाइरहेको बताउनुभयो ।
सरकारको तर्फबाट भर्खरै जारी गरिएको भूमिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी भएपछि गुठी अधिनस्थ जग्गासम्बन्धी समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले यस व्यवस्थाले देको मिवा इतापाके आयोजनामा परेका गुठी अधिनस्थ जग्गाहरूमा समेत व्यक्तिसरह समान योगदान कटौती हुने र यसबाट मोही किसानलाई समेत राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले गरिरहेको काम तथा विकासको नमुना अध्ययन गर्न विभिन्न स्थानबाट मानिसहरू आउने गरेको बताउँदै भक्तपुरको विकास मोडेलप्रति धेरैको चासो र आकर्षण रहेको उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुरका कलेजहरू गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्तिको चरणमा रहेको जानकारी दिँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।
पशु वध तथा मासु बिक्रीसम्बन्धी व्यवस्थाबारे चर्चा गर्दै उहाँले मङ्सिर १ गतेदेखि पशु वधका लागि आवश्यक व्यवस्था गर्नुपर्ने, पशुको जाँच गर्नुपर्ने तथा पशुको छाला बिक्री गर्न नपाइने कानुनी व्यवस्था ल्याइएको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आदर निकेतनको सञ्चालनबाट प्रभावित भएका विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सहयोगी भावना र सामाजिक उत्तरदायित्वका साथ सहयोग गर्ने सबैप्रति नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले दसैँ, तिहार तथा छठजस्ता चाडपर्वलाई सामाजिक सद्भाव कायम गर्ने अवसरको रूपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले समाजको सामाजिक तथा आर्थिक अवस्थाअनुसार चाडपर्व मनाउन आग्रह गर्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो । नगरपालिकाले नगरवासीको हितलाई ध्यानमा राखेर विद्यालय, अस्पताल तथा आवास योजनाजस्ता कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी नगर समिति भक्तपुरका उपाध्यक्ष लक्ष्मीभक्त लासिवाले सामुदायिक भावनाबाट प्रेरित भई स्थापना भएका संस्थाहरूले समाजकै हितमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टी नगर समितिका प्रतिनिधि गंगाराम ज्याख्वले पार्टीले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्दै आएको उल्लेख गर्दै विश्वका न्यायप्रेमी जनताको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो ।
स्थानीय समाजसेवी गणेशप्रसाद सुवालले नेपाल मजदुर किसान पार्टीको मुख्य उद्देश्य देश र जनताको सेवा गर्नु रहेको बताउनुभयो । उहाँले बस्तीभित्र सञ्चालन भइरहेका प्रदूषण फैलाउने उद्योगहरूलाई स्थानान्तरण गर्नु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले देको मिवा आवास योजना जनताको मागअनुसार व्यवस्थित आवासको व्यवस्था गर्ने उद्देश्यले अघि बढाइएको बताउनुभयो । उहाँले करिब ९० प्रतिशत जनता योजनाको पक्षमा रहेको उल्लेख गर्दै जनताकै योगदान र सहभागिताका कारण खुला क्षेत्रको व्यवस्था सम्भव भएको बताउनुभयो । उहाँले आयोजनाअन्तर्गत भइरहेको विकास निर्माणको प्रगति प्रस्तुत गर्दै योजनालाई छिटो सम्पन्न गर्ने दिशामा काम भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्य श्यामसुन्दर मातांले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply