भर्खरै :

पोशाक वितरण गरी भीम आदर्शमा अक्षरारम्भ

पोशाक वितरण गरी भीम आदर्शमा अक्षरारम्भ

भक्तपुर, २ फागुन । लिबालीस्थित भीम आदर्श आधारभूत विद्यालयमा सरस्वती पूजाको पावन अवसरमा अभिभावक भेलासहित अक्षरारम्भ कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रममा शिक्षासेवी हिमालयश्वरलाल मूलले अङ्ग्रेजी निजी विद्यालयको विकल्पको रूपमा सामुदायिक विद्यालय पनि सक्षम हुँदै आएको बताउँदै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावकवर्ग सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बदलिँदो समयमा सामुदायिक विद्यालयको विकासमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रशिक्षक देवना जोशीले खेल विधिको माध्यमबाट फोनिक्सजस्ता प्रयोगात्मक आधारभूत सिकाइ वर्तमान समयमा अत्यावश्यक भएको उल्लेख गर्दै गृहकार्यले विद्यार्थीको रचनात्मक सीपको अभिवृद्धि गर्न सहयोग गर्ने बताउनुभयो ।
विद्यालयका प्रअ दीपक माकले विद्यार्थीको उमेर तथा मनोभावना बुझेर गरेको शिक्षणले सिकाइ लामो समयसम्म टिक्ने स्पष्ट पार्दै तल्लो तहका विद्यार्थीहरूका लागि खेल विधि शिक्षणलाई विद्यालयले प्रमुख प्राथमिकतामा राखेको चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीले बदलिँदो शिक्षा प्रणालीलाई आत्मसात गर्दै गुणस्तरीय सिकाइको लागि विद्यालयमा अङ्ग्रेजी पाठ्यपुस्तकको अध्यापन हुँदै आएको बताउनुभयो ।
सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रममा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई शैक्षिक सामग्री र विद्यालय पोशाक निःशुल्क वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *