भर्खरै :

ख्वप इन्जिनियरिङ र ख्वप कलेज अफ इन्जिनियरिङका प्राध्यापक तथा कर्मचारीबिच शुभकामना आदानप्रदान

ख्वप इन्जिनियरिङ र ख्वप कलेज अफ इन्जिनियरिङका प्राध्यापक तथा कर्मचारीबिच शुभकामना आदानप्रदान

भक्तपुर, २९ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राध्यापक तथा कर्मचारीबिच बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वहरूले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने बताउँदै सबैलाई चाडपर्वका अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले निरन्तर मेहनत र परिश्रमका साथ विभिन्न उपलब्धि हासिल गर्ने प्रयास गरिरहेको बताउँदै उहाँले कलेजले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गर्न प्राध्यापक तथा कर्मचारीहरूले गरेको मेहनत र योगदान उल्लेखनीय रहेको बताउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न क्युएएको महत्व बढ्दै गएको उल्लेख गर्नुभयो ।
भक्तपुरका शैक्षिक संस्थाहरूको व्यवस्थापन शैलीबाट अन्य क्षेत्रका संस्थाहरूले समेत सिक्न सक्ने बताउँदै उहाँले स्थानीय तहबाट सञ्चालित शैक्षिक संस्थाहरूले सीमित स्रोतसाधनका बिच पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूले समयअनुसार उत्पन्न हुने समस्याहरूको समाधान खोज्न सक्नुपर्नेमा जोड दिँदै उहाँले बौद्धिक वर्गमा आलोचनात्मक चेत, स्वतन्त्र विचार र परिवर्तनकारी सोच हुन आवश्यक रहेको बताउनुभयो । बौद्धिक व्यक्तिहरूलाई राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने सोचले समाजमा अपेक्षित परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उहाँले समाजको विकास र रूपान्तरणमा बौद्धिक वर्गको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले नयाँ सरकार गठन भएको सात महिना बितिसक्दा पनि जनताले अपेक्षा गरेअनुसार नयाँ काम र उपलब्धि देखिन नसकेको टिप्पणी गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन शिक्षा, बौद्धिक विमर्श र आलोचनात्मक सोचलाई प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो कदमले सुशासन र कानुनी जवाफदेहितामाथि प्रश्न उठाएको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले आफ्नो घोषणापत्रअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै घोषणापत्रमा किसानलाई पेन्सन दिने विषय उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले सरकारले जनतासमक्ष गरेका प्रतिबद्धताहरू व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र सीमा सुरक्षाजस्ता संवेदनशील विषयमा सरकार प्रमुखले जिम्मेवार ढङ्गले बोल्नुपर्ने बताउँदै देशको हित र राष्ट्रियताको संरक्षणका लागि जिम्मेवार अभिव्यक्ति र प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो ।
उहाँले दसैँको बिदालाई अविस्मरणीय बनाउने गरी सिर्जनात्मक तथा उपलब्धिमूलक काम गर्न सबैलाई आग्रह गर्दै बिदाको समयलाई मनोरञ्जनमा मात्र सीमित नराखी नयाँ ज्ञान हासिल गर्ने, समाजका लागि उपयोगी काम गर्ने र आफ्नो जिम्मेवारी पूरा गर्ने अवसरको रूपमा सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले चाडपर्वहरू खानपान र रमाइलोमा मात्र सीमित नभई प्रकृति, संस्कृति र सामाजिक जीवनसँग समेत जोडिएको बताउँदै चाडपर्वको महत्वलाई बुझ्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा प्राध्यापक तथा विज्ञहरूको अनुसन्धानबाट महत्वपूर्ण सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै उहाँले प्राध्यापकहरूबाट भएका अध्ययन तथा अनुसन्धानले नगरपालिकालाई नीति निर्माण र योजना कार्यान्वयनमा सहज बनाएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले ख्वप इन्जिनियरिङ कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्तिको प्रक्रियामा रहेको र ख्वप कलेज अफ इन्जिनियरिङले क्युएए प्राप्त गरिसकेको जानकारी दिनुभयो । उहाँले ख्वप विश्वविद्यालय स्थापनाको अवधारणालाई साकार पार्न निरन्तर प्रयास भइरहेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले दुवै कलेजले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्रगतिको बाटोमा अघि बढिरहेको बताउनुभयो । गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्नु दुवै कलेजको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ, ख्वप कलेज अफ इ. का उपप्राचार्य रत्नशोभा प्रजापति, ख्वप कलेज अफ इन्जिनियरिङ आर. एन्ड डी. युनिटका संयोजक डा. राजुभाइ त्यात, ख्वप इ. कलेजका सिभिल विभाग प्रमुख उमेश सुकमनी, लेखा शाखा प्रमुख विष्णुप्रसाद सुवाल र प्रशासन शाखा प्रमुख सिद्धिराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *