भर्खरै :

कुथुसुब्या दुगुद्यो मन्दिर पुनःनिर्माण गर्न शिलान्यास : रु. ४१ लाख बढी आर्थिक सहयोग प्राप्त

कुथुसुब्या दुगुद्यो मन्दिर पुनःनिर्माण गर्न शिलान्यास : रु. ४१ लाख बढी आर्थिक सहयोग प्राप्त

भक्तपुर, २ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ५ स्थित भीमसेनस्थानमा अवस्थित कुथुसुब्या दुगुद्यो मन्दिर पुनःनिर्माणको बुधबार शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माण गर्दा मौलिक स्वरूपमै बनाउनुपर्ने तथा नयाँ पुस्तालाई सम्पदा र संस्कृतिको महत्वबारे बुझाउन सम्पदा निर्माण गर्दा हरेक कुरा लिपिबद्ध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सम्पदा पुनःनिर्माण गर्दा नगरपालिकाले जनताको अपनत्व कायम हुने गरी जनसहभागिता र स्थानीय जनताबाट आर्थिक सहयोगमा निर्माण सम्पन्न गर्दै आएको बताउँदै उहाँले इतिहासको पानामा जनताको सहयोगलाई बुझ्ने गरी कोरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा नमुनाको रूपमा विकास गरिरहेको चर्चा गर्दै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूमध्ये विगत ५ वर्षमा १२४ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नगरपालिकाले पूर्व प्राचीन कालदेखिको इतिहास बोकेका पुरातात्विक महत्वका सम्पदाहरू निरन्तररूपमा उत्खनन गरी पुनःनिर्माण गरिरहेकोमा खुसी व्यक्त गर्दै सम्पदाहरू इतिहासको प्राथमिक प्रमाणहरू हुन् र तत्कालीन समयमा भन्दा भविष्यका नयाँ पुस्ताको लागि यसको महत्व बढी हुने जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष न्हुछेरत्न खाइतुले उक्त दुगुद्यो मन्दिर पुनःनिर्माणको लागि हालसम्म रु. ४१ लाखभन्दा बढी आर्थिक सङ्कलन भइसकेको र सहयोग आउने क्रम जारी रहेको बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवां र उपभोक्ता समिति सदस्य र नारायणप्रसाद तमखुले मन्दिरलाई जनसहभागितामा मौलिक स्वरूपमै बनाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *