भर्खरै :

पुरानो भूमिसुधार

पुरानो भूमिसुधार

पहिलो अध्याय

पुरानो भूमि व्यवस्था
‘पारस्परिक सहयोग दल’ जस्ता साना अर्ध– समाजवादी खेती उत्पादक सहकारी संस्थाहरू र पूर्ण समाजवादी सहकारीहरूमाथि नियालेर हेर्नु अघि क्रान्तिभन्दा पहिलेको चिनियाँ खेती समस्या र त्यसबेलाका किसानहरूको सम्बन्धमा जान्नु अत्यन्त जरुरी देखिन्छ ।
सन् १९४९ को क्रान्तिभन्दा पहिले चिनियाँ जनता भित्री र बाहिरी शत्रुहरूबाट सा¥है शोषित थिए । जापान, बेलायत, फ्रान्स, संरा अमेरिका आदि साम्राज्यवादीहरूबाट क्रान्तिभन्दा पहिले चिनियाँ जनता कति शोषित थिए भन्ने कुरो एक दुई पन्ना लेखेर सकिने कुरा होइन । दर्जनाँैपटक चिनियाँ जनताले जापानी, बेलायती र अन्य साम्राज्यवादीहरूको आक्रमणबाट आफ्नो देश बचाउन युद्धको बलि बेदीमा होम्नु परेको थियो । यो कुरा त चीनको रातो र लामो इतिहासले बताउँछ । सन् १९४९ को क्रान्ति सफल हुनुभन्दा पहिले चिनियाँ जनताले कहिले पनि स्वाधीनताको सास फेर्न पाएका थिएनन् । आखिरमा १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सफल भएको जनवादी क्रान्तिमा जापानी र अमेरिकी साम्राज्यवाद र तिनीहरूका पछि लाग्ने च्याङ काईशेकको शासन उल्टाएर फ्याँके । तैपनि, राष्ट्र सङ्घमा तथाकथित ‘राष्ट्रवादी चीनको’ नामले अमेरिकी साम्राज्यवाद एटम बमको शक्तिले च्याङ काईशेकलाई अगाडि राखेर चीनको अभिन्न अङ्ग थाइवान कब्जा गरेर चीनको मुख्य भूमिमा फेरि साम्राज्य फैलाउने कोसिस गर्दै थियो । तर, चिनियाँ जनता आफ्नो अभिन्न अङ्ग थाइवान स्वतन्त्र गर्न नसकेसम्म शान्तिको सास नफेर्ने अडानमा थिए ।
क्रान्तिभन्दा पहिले चीनको ७० देखि ८० प्रतिशत जग्गा जमिनदार, राजा–रजौटा र २० देखि ३० प्रतिशत जग्गा मध्यम वर्गको हातमा थियो । एकातिर जमिनदार र राजा रजौटाहरूसँग आँखैले नभ्याउने जग्गा थियो भने अर्काेतिर गरिब किसानहरूको आफ्नो पाइला टेक्न सक्नेसम्म पनि जग्गा थिएन । अर्को शब्दमा भनुँ भने सयकडा ९० प्रतिशत किसानहरूसँग जग्गा थिएन । फेरि बेलाबेलाका राजाहरूले अनगिन्ती जग्गा किसानहरूबाट खोसेर राजाका मानिसहरूलाई दिन्थे । किसानहरूले उब्जनीको ठुलो भाग जमिनदारहरूलाई कूतको रूपमा तिर्नुपर्दथ्यो । यसबाहेक सरकार कहाँ झाराजानु र कर तिर्नु पर्दथ्यो । यसरी त्यसबेलाका शासकहरूको शोषणले किसानहरूमा बर्सेनि कर्जा बढ्दै जान्थ्यो र ब्याज पनि बढ्दै जान्थ्यो । आखिरमा किसानहरूले आफ्नो जहान, छोराछोरी, घरखेत सारा कुरा जमिनदारलाई बेचेर आफू जन्मेको प्यारो गाउँबाट बिदा भएर जान बाध्य गरिन्थ्यो र ती किसानहरू यताउत्ता भडकेर आत्महत्या गर्थे । यस किसिमको क्रूर शोषणले चिनियाँ जनता अरु देशका जनताभन्दा धेरै पिछडिएका थिए र चिनियाँ जनताको आर्थिक र सामाजिक जीवनको उन्नति पनि धेरै पछि पर्न गएको मात्र होइन, चिनियाँ इतिहास किसान सङ्घर्षहरूले भरिए ।
तर, चिनियाँ जनता सामन्तहरूबाट मात्रै शोषित थिएनन्, देशका पुँजीपतिहरूबाट पनि शोषित थिए । यसरी चिनियाँ जनता भित्री र बाहिरी दुवै शत्रुहरूबाट शोषित थिए ।
साम्राज्यवादीहरूले सस्तोमा चीनको कच्चा माल लिएर मात्रै चिनियाँ जनतालाई शोषण गरेका थिएनन् बरु बैङ्क र सहरका कारखानाहरूमा पनि हात घुसारेर चीनको गाउँगाउँमा पनि जमिनदारहरूसँग मिलेर प्रत्यक्ष या अप्रत्यक्षरूपले चिनियाँ किसानहरूलाई चुस्थे । तर, १९४९ मा कम्युनिस्ट पार्टीको नेतृत्वमा सफल भएको क्रान्तिले देशको नसानसामा भिजेको सामन्तवाद, अर्ध–उपनिवेशवाद र दलाल पुँजीवादलाई जरैदेखि उखेलेर फ्याँके । सारमा, चिनियाँ समाजको ऐतिहासिक सङ्घर्षहरूको मूल कारण चीनको खेती समस्या थियो ।
भूमिसुधार
सन् १९४९ देखि १९५२ सम्ममा भूमिसुधार अथवा जग्गा वितरणको काम सिध्याइसकेको थियो । हुन त १९४९ भन्दा पहिले नै मुक्त क्षेत्रहरूमा भूमि वितरण सिध्याइसकेको थियो । प्रतिक्रियावादी च्याङका फौजहरूद्वारा कब्जा गरिएका युनान, क्वेचाउ, स्वेचाउ आदि प्रान्तहरू र जापानी साम्राज्यवादद्वारा कब्जामा राखेको जग्गा फिर्ता लिई १९५२ सम्ममा भूमि सुधारको काम सम्पन्न गरिएको थियो ।
तर, जग्गा वितरणले मात्रै चीनको खेती समस्या हल हुने विषय थिएन । चीनको बहुमत किसानहरूसँग खेतमा काम गर्ने कुटो–कोदालोजस्तो साधारणभन्दा साधारण ज्यावलसम्म पनि थिएन । तिनीहरूसँग खालि आफ्नो जीउको श्रमशक्तिबाहेक आफ्नो भन्ने अरु कुनै कुरो थिएन । यसरी खेतीको औजारको कमी, श्रम शक्तिको राम्रो उपयोग र खेतीलाई समाजवादीकरण गर्न (खेतीमा समाजवादीकरण गर्न) चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा ‘पारस्परिक सहयोग दल’ को स्थापना गरियो । तर, क्रान्तिभन्दा पहिलेका चिनियाँ किसानहरू शोषण र गरिबीले मात्रै थिचिएका थिएनन्, बरु वर्षैपिच्छे ७२ देखि ८० प्रतिशत जनताले प्राकृतिक क्षति सहनु पर्दथ्यो । भूगोलका स–साना विद्यार्थीहरू पनि ‘चीनको शोक’ को नामले जानिने ह्वाङहोजस्ता डरलाग्दो नदीको बाढी, सुख्खा, असिना, कीरा पर्नेजस्ता अनेकौँ प्रकारका प्राकृतिक क्षतिले चिनियाँ किसानहरूले वर्षैपिच्छे ठुलठुला क्षति व्यहोर्नुपथ्र्यो । यी सबै किसिमका प्राकृतिक प्रकोपहरूबाट बच्न ‘पारस्परिक सहयोग दल’ मात्रै समर्थ थिएन । वैज्ञानिक खेती गर्न, प्राकृतिक प्रकोपबाट बच्न र समाजवादी खेती व्यवस्था कायम गर्न ‘पारस्परिक सहयोग दल’ ले क्रमशः ‘प्राथमिक सहकारी’ र ‘अगाडि बढेको सहकारी’ को स्थापनापछि जन कम्युनको प्रयोग भएको थियो । त्यसले माथिका समस्याहरूलाई सजिलैसित हल गर्न सकेको थियो ।
पारस्परिक सहयोग दल
पारस्परिक सहयोग दलको स्थापना नै चिनियाँ जनकम्युनको विजारोपन थियो । त्यस दलको स्थापनाको आन्दोलन खास गरेर १९५३ फेब्रुअरी महिनादेखि तीव्रगतिले सुरु भएको थियो । त्यस पारस्परिक सहयोग दलमा ७ देखि १५ घरसम्म सदस्यहरू हुन्थे । त्यस दलको मुख्य उद्देश्य उत्पादन बढाउनु र श्रममा सामूहिकताको विकास गर्नु थियो । त्यस दलका सबै सदस्यहरूले एकपछि अर्काको खेतमा गएर काम गर्थे । खेत आफ्नै हुन्थ्यो र आफ्नै इच्छाअनुसारको उत्पादन गर्न पाउँथे । तर, काम गर्दा सबै सदस्यहरूको औजारहरू काममा लगाउनुपर्दथ्यो । त्यो पारस्परिक सहयोग दलको काम नेपालको (उपत्यकाका नेवार) किसानहरूको ‘बोला वानेगु’ वा पर्म जाने प्रचलनसँग मिल्थ्यो । त्यसबेला आफ्नो खेतको उत्पादन आफ्नै हुन्थ्यो र कामको बदला कामैले अथवा कामको बदला ज्यालाले पनि परस्परमा काम चलाउँथ्यो । आज ‘क’ को खेतमा चौध जना ज्यामी गइदियो भने चौधै जनाको काममा पनि ‘क’ गइदिन्थ्यो । यदि ‘क’ ले तिनीहरू कहाँ काम गर्न गएन अथवा जान सकेन भने उसले सबैलाई श्रमको सट्टा उचित ज्याला दिनुपर्दथ्यो । तर, खास गरेर यस पारस्परिक सहयोग दलमा ज्यामीको सट्टा ज्यामी नै गइदिने नियम थियो र कसैले ज्यामी गइदिएको दिन बढी छ भने कसको खेतमा कति कति दिन बढी काम गरेको थियो त्यसअनुसार उसलाई अरुले ज्याला दिनुपर्दथ्यो ।
यसरी पारस्परिक सहयोग दलले आफ्ना दलका सदस्यहरूको खेतीको औजारको कमीलाई केही मात्रामा हल गरेर समयमै खेतको काम सिध्याउँथ्यो । साथै काममा निपुणता बढेर उत्पादनमा वृद्धि हुन्थ्यो र किसानहरूको आम्दानी पनि बढ्थ्यो । पारस्परिक सहयोग दल दुई किसिमका थिए – एक खनजोत र बाली काट्ने समयमा मात्र सङ्गठित हुने र अर्को वर्षभरि सङ्गठित भइरहने ।
पारस्परिक सहयोग दलको स्थापनाले व्यक्तिगत खेती गरेको बेलाभन्दा बढी सुविधा र फाइदा त अवश्यै हुन्थ्यो ।
तर, पारस्परिक सहयोग दलमा सामूहिक श्रम र अव्यवस्थित (विकेन्द्रित) प्रबन्धको बिचमा उत्पन्न हुने अन्तरविरोधलाई यसले मात्रै समाधान गर्न सक्दैनथ्यो किनभने अव्यवस्थित प्रबन्धमा सामूहिक श्रम राम्रोसँग सञ्चालन हुन सक्दैनथ्यो । उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व भएकोले हरेकले आफ्ना साधनहरूलाई इच्छाअनुसार उपयोगमा ल्याउँथे र सामूहिक श्रमको राम्रो उपयोग हुनसक्दैनथ्यो । काममा ल्याउन सक्ने गोरु, गधा आदि भएकाहरू अलि हुनेखाने किसानले बढी फाइदा उठाउँथ्यो । त्यसले गर्दा वर्गभेद अथवा आन्तरिक आर्थिक स्तरमा असमानता बाँकी नै हुन्थ्यो । यस किसिमको अन्तरविरोधलाई हटाउन र भएको वर्गभेदलाई समाप्त पार्दै लैजान पारस्परिक सहयोग दलभन्दा उँचो किसिमको खेती उत्पादन सङ्गठनको आवश्यकतालाई महसुस गर्न थालियो । त्यस आवश्यकता र मागअनुसार ‘प्राथमिक खेती सहकारी संस्था’ को स्थापना भयो ।
प्राथमिक सहकारी संस्था
प्राथमिक खेती सहकारी संस्थाहरूको स्थापनाको आन्दोलन १९५४ को अन्ततिर सुरु भएको थियो । यस प्राथमिक खेती सहकारी संस्था २०–३० घरहरू मिलेर बनेको हुन्थ्यो । त्यो प्राथमिक खेती सहकारी संस्था अर्ध–समाजवादी संस्था थियो । त्यसमा उत्पादनका केही साधनहरू सामूहिक प्रबन्धमा हुन्थे र खेती व्यक्तिहरूकै हुन्थ्यो र सबैका खेतहरूको आली भत्काएर ठुलो चक्ला बनाई काम गर्थे । अनि उत्पादनको केही भाग त्यस प्राथमिक खेती सहकारी संस्थाका सदस्यहरूलाई आफ्नो खेतको अनुपातमा वितरण हुन्थ्यो र उत्पादनको केही भाग संयुक्त प्रबन्धमा रहेका कुटो कोदाली, हल, गोरु, गधा, भैँसी आदि उत्पादनका साधनहरूलाई बहालको रूपमा वितरण गरिन्थ्यो । त्यसबाहेक सामूहिक उत्पादनको धेरै भाग कामको दिनको हिसाबले काम गर्नेहरूलाई वितरण गर्थे र अरु केही भाग सामूहिक कल्याणको लागि बचाउँथे र केही भाग आफ्नो संस्थाको ढुकुटीको लागि पनि बचाउँथे ।
राम्रोसँग सोच्ने हो भने त्यस प्राथमिक खेती सहकारीमा उत्पादनका साधनहरू व्यक्तिगत स्वामित्वबाट सामूहिक स्वामित्वतिर विस्तारै सङ्क्रमण भएको देखिन्थ्यो । उत्पादनको मुख्य साधन जग्गामा व्यक्तिगत स्वामित्व भने कायमै थियो । तापनि, जम्मा उत्पादनको केही भागमात्रै जग्गाको अनुपातको आधारमा पाउँथे ।
प्राथमिक खेती सहकारी संस्थाको सुरु सुरुमा उत्पादनका औजार या साधनहरू अर्थात् काममा ल्याउने जनावरहरू र कुटो, कोदाली, हल आदिमा व्यक्तिगत स्वामित्व भएको हुनाले त्यस काममा ल्याइएको वस्तुको भाग दिइन्थ्यो । तर, पछि विस्तार विस्तार संस्थाले आफ्नै ज्यावल किन्ने क्षमता राखेपछि व्यक्तिहरूको औजारको महत्व घट्न जाने स्वाभाविकै थियो । त्यसले गर्दा विस्तार विस्तार व्यक्तिगत स्वामित्व भएका औजारहरूलाई भाडा अथवा बहालमा दिन छोडियो ।
त्यस्तो उत्पादनका औजारहरूमा भाग अथवा बहाल नदिँदा पनि व्यक्तिहरूको आर्थिक जीवनमा केही अन्तर आउने भएन र विस्तारै पहिले आफ्नो औजारहरूको कम महत्व भएपछि भाडामा दाबी गर्न पनि छोडे र त्यही औजारहरू व्यक्तिगत स्वामित्वबाट विभिन्न प्रकारले सामूहिक स्वामित्वमा परिणत भए । त्यसरी उत्पादनका साधनहरूलाई भाग दिन नपर्दा सहकारी संस्थाको सम्पत्ति पनि बढ्दै जान थाल्यो, जसमा सबैको स्वामित्व हुन्थ्यो । यो अवश्य पनि समाजवादी चरित्रको स्वामित्व थियो ।
तर पनि उत्पादनको मुख्य साधन भूमिमा व्यक्तिगत स्वामित्व छँदै थियो । त्यसैले सामूहिक उत्पादनको केही अंश खेतको धनीले पाउँथ्यो र ‘हरेकलाई कामअनुसारको ज्याला’ को सिद्धान्तअनुसार पूर्णतया वितरण व्यवस्था लागु भइसकेको थिएन । उत्पादनको केही अंश बहालको रूपमा दिइसकेपछि बाँकी भएको उत्पादनको बढी भाग ‘कामअनुसार’ को सिद्धान्तअनुसार वितरण गरिन्थ्यो । त्यसैले, यस प्राथमिक खेती सहकारी संस्थालाई पूर्ण समाजवादी भन्न नसकेर अर्ध–समाजवादीमात्र भनिन्थ्यो ।
उक्त कुराहरूले स्पष्ट छ, प्राथमिक खेती सहकारी पारस्परिक सहयोग दलभन्दा धेरै अगाडि बढेको संस्था थियो । पारस्परिक सहयोग दलमा व्यक्तिगत आर्थिक प्रबन्ध हुन्थ्यो, जो धेरै सानो आकारको र अव्यवस्थित तरिकाले सञ्चालन गरिन्थ्यो । प्राथमिक खेती सहकारी संस्थामा केन्द्रित सामूहिक प्रबन्धको आधारमा व्यक्तिगत, सानो आकारको उत्पादनबाट ठुलो आकारको सामूहिक उत्पादनमा फेरिनुको साथै उत्पादनका साधनहरूको राम्रो र उचित प्रयोग गर्न सकियो । यसले गर्दा माटोको उब्जाउपनबाट बढी फाइदा लिन पनि सफल भयो । प्राथमिक खेती सहकारी संस्थामा पारस्परिक सहयोग दलमा काम गर्ने ढाँचाभन्दा बढी सामूहिक र ठुलो आकारको भएकोले श्रम शक्तिको राम्रो प्रयोगको लागि योग्यताअनुसार कार्य विभाजनको सिद्धान्तलाई लागु गर्न लाग्यो । कार्य विभाजनद्वारा श्रम शक्तिको राम्रो उपयोगले गर्दा उत्पादनमा वृद्धि हुनु स्वाभाविक थियो । पारस्परिक सहयोग दलमा भन्दा प्राथमिक सहकारी खेतीमा उत्पादन बढ्नुको एक अर्को कारण त्यसको समाजवादी वितरणको व्यवस्था थियो । उत्पादनको बढी भाग हरेकलाई कामअनुसार वितरण गर्नाले बढी काम गर्नेले बढी कामको ज्याला पाउन थाले, त्यसको राम्रो व्यवस्था पारस्परिक सहयोग दलमा थिएन । कामअनुसारको वितरण व्यवस्था लागु गर्दा पारस्परिक सहयोग दलको बेलाभन्दा बढी काम गर्ने उत्साह किसानहरूमा देखिन थाल्यो र साँच्चै धेरै बढी उत्साह र मन दिएर काम गरे । माथिका उत्पादनका साधनहरू, श्रम शक्तिको उचित प्रयोग तथा वितरण व्यवस्था समाजबाटै लागु गर्नाले किसानहरूको बढी काम गर्ने इच्छाले गर्दा पारस्परिक सहयोग दलको समयमा भन्दा प्राथमिक खेती सहकारीमा १६ देखि ३० प्रतिशतभन्दा बढी उत्पादन बढ्यो ।
यदि कसैले प्राथमिक खेती सहकारी संस्थाको सदस्यता कुनै कारणले त्याग्न खोजेमा, खुसीसाथ त्याग्न सक्दथ्यो । सदस्यता त्याग्दा खेती संस्थामा गाभेका आफ्ना सबै उत्पादनका साधनहरू फिर्ता पाउँथ्यो, साथै आफू सहकारी संस्थाको सदस्य भइरहँदासम्ममा संस्थाले पाएको अथवा आम्दानी गरेको धन वा मालसामान आफूले पाउनुपर्ने उचित भाग पनि नाफाको रूपमा पाउँथ्यो । त्यस संस्था त्याग्ने व्यक्तिलाई दिइने नाफा संस्थाको कुल नाफामा अरु सदस्यहरूले जतिकै अनुपातमा उसले पाउँथ्यो । त्यो प्राथमिक खेती सहकारी संस्थाको नियम हो । संस्था त्याग्न चाहने व्यक्तिको आफ्नो पहिलेको जग्गामा सहकारी संस्थाको घर वा सडक आदि निर्माणको कार्य भइसकेको रहेछ भने त्यसै किसिमको उत्तिकै जग्गा (खेत) उसलाई अरु पायक पर्ने ठाउँको दिइने नियम थियो ।
प्राथमिक खेती सहकारी संस्था अर्ध–समाजवादी संस्था थियो । त्यसमा समाजवादी अंशको साथसाथै व्यक्तिगत स्वामित्व पनि गाभिएको थियो । यी दुई परस्परविरोधी तत्वहरूमा अन्तरविरोध देखिनु स्वाभाविक थियो, जसले उत्पादनको कार्यमा बाधा उत्पन्न हुन्थ्यो । एकातिर जमिनमा व्यक्तिगत स्वामित्वको दाबा गर्ने हक थियो भने अर्कोतिर उत्पादनका अरु सामानहरू अर्ध–समाजवादी थिए । त्यस्तो बेलामा वैज्ञानिक खेतीको लागि जग्गामा लगाइने पुँजी, अरु चौपाया र उत्पादनका औजारहरूको उचित प्रयोग गर्नमा बाधाहरू आउनु स्वाभाविकमात्र होइन अनिवार्य पनि थियो । त्यति मात्रै होइन कुल उत्पादनको केही भाग खेत र औजारहरूलाई पनि बहालको रूपमा हिस्सा पाउने हुँदा काममा लगाइने चौपायाहरू र अरु औजारहरू हुने पहिलेका धनी किसानहरूले चौपाया र उत्पादनका औजार नभएका गरिब किसानहरूको भन्दा बढी मात्रामा उत्पादनको हिस्सा पाउँथे । उत्पादनका औजारहरू नभएका गरिब किसानहरू भने धनी किसानहरूलाई दिइने त्यस उत्पादनको भागबाट वञ्चित हुन्थे । त्यसले वितरणमा असमानता हुन्थ्यो र उत्साहपूर्वक काम गर्ने गरिब किसानहरूको काम गर्ने हौसलामा धक्का लाग्थ्यो र आर्थिक विषमता पनि बढ्दै जाने लक्षण पनि स्पष्ट देखिन्थ्यो ।
ती सबै बाधाहरू र अन्तरविरोधलाई हटाउन उत्पादनका साधनहरूमा भएको व्यक्तिगत स्वामित्वलाई जरैदेखि उखेल्नुपर्छ भन्ने कुरोलाई बुझे तथा उत्पादनको एक निश्चित मात्रा बढाउन उत्पादनका सबै साधनहरूमा सामूहिक स्वामित्व कायम हुनु जरुरी छ भन्ने कुरोलाई पनि अनुभव गरियो, किनभने प्राथमिक खेती सहकारीको केन्द्रित प्रबन्ध र सामूहिक श्रमको प्रयोगले भएको उत्पादनको वृद्धिसँग किसानहरू पर्याप्त मात्रामा परिचित भइसकेका थिए । यसका साथै उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व नभएर सामूहिक स्वामित्वमा आधारित ठुलो आकारको खेती गर्नाले उत्पादनमा धेरै वृद्धि हुने कुरोलाई बहुमत किसानहरूले महसुस गरिसकेका थिए । त्यसप्रकारको खेती गर्नाले उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व भएको अथवा व्यक्तिगत तरिकाले खेती गरेको बेलाभन्दा धेरै गुणा फाइदा भएको पाए र सहकारी संस्थाको सामूहिक सञ्चित धनको उत्तरोत्तर वृद्धि र सामूहिक उत्पादनका साधनहरूको वृद्धिले गर्दा व्यक्तिगत उत्पादनका साधनहरूलाई कम महत्व दिन थालियो । प्राथमिक खेती सहकारी संस्थाको केन्द्रित प्रबन्ध र सामूहिक श्रमद्वारा गरिएको ठुलो आकारको खेतीको फाइदाले किसानहरूमा समाजवादी चेतना बढ्दै गयो र उत्पादनलाई वृद्धि गर्न त्यो अर्ध–समाजवादी प्राथमिक सहकारी संस्थालाई पूर्ण समाजवादी सहकारी संस्थामा परिणत गर्नु आवश्यक थियो । किसानहरूले राम्ररी बुझेर अगाडि बढेको पूर्ण समाजवादी सहकारी संस्थाको माग गर्न लागे । यसरी अर्ध–समाजवादी सहकारीको विकासले नै समाजवादी सहकारीको लागि चाहिने अवस्थाहरूलाई विस्तार विस्तार तयार गर्दै लगेको थियो । साथै अर्कोतिर चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई समाजवादी खेती सहकारी संस्था बनाउनको लागि उत्साहित गर्दै पनि थियो । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले किसानहरूलाई साना अर्ध–समाजवादी खेती सहकारी संस्थाहरू मिलेर ठुलठुला पूर्ण समाजवादी खेती सहकारी संस्था बनाएमा बढी फाइदा हुन्छ भनेर ‘चीनको गाउँतिर समाजवादको लहर’ भन्ने किताबमा सङ्केत गर्नुभयो । उहाँले भन्नुभयो, “खास गरेर अहिले हाम्रो अर्ध समाजवादी सहकारी संस्थाहरूमा २०–३० परिवारमात्र छन् । यस किसिमको सहकारी संस्थाहरू सञ्चालन गर्न सजिलो हुन्छ र तिनीहरूबाट चाँडै अनुभव प्राप्त गर्न र व्यवस्थापकहरू तथा सदस्यहरूलाई तालिम गर्ने मौका पाउनेछन् । तर, स–साना संस्थाहरूमा सदस्य, जग्गा र धनको कमी हुन्छ । तिनीहरूले ठुलो आकारको अथवा यन्त्रहरू उपयोग गर्न सक्दैनन् । तिनीहरूको उत्पादन शक्तिको उन्नति सधैँ अवरुद्ध नै रहन्छ । यही अवस्थामा तिनीहरू धेरै कालसम्म बस्नु हुँदैन, बरु अरु सहकारी संस्थाहरूमा मिल्न जानुपर्छ ।”
यसरी जनता आफैँ पनि ठुलठुला पूर्ण समाजवादी सहकारी संस्थाहरू बनाउन माग गर्दै थिए र अर्कोतिर चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको नेतृत्वमा समाजवादी सहकारी संस्थाहरू बनाउन प्रेरणा दिइँदै थियो । सन् १९५५ को जन गणनाअनुसार १,६९,२०,००० अथवा १४.२ प्रतिशत परिवारले सहकारी खेतीमा भाग लिएका थिए । त्यसमध्ये १,६८,८०,००० अर्ध–समाजवादी र ४०,००० समाजवादी सहकारी संस्थाहरूमा सम्मिलित भएका थिए । तर, १९५६ को जूनसम्ममा ११,०५,१०,००० अथवा ९७.७ प्रतिशत चिनियाँ किसान परिवारले अर्ध–समाजवादी र समाजवादी सहकारी संस्थामा भाग लिइसकेका थिए ।
ती माथिका सङ्ख्याहरूले चिनियाँ किसानहरू धेरै छिटछिटो अर्ध समाजवादी व्यवस्थासँग परिचित हुँदै गएको स्पष्ट गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *