भर्खरै :

अन्तरनगर महिला कबड्डी प्रतियोगिता मूल समितिको बैठक सम्पन्न

अन्तरनगर महिला कबड्डी प्रतियोगिता मूल समितिको बैठक सम्पन्न

भक्तपुर, १० फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आयोजना फागुन २९ गतेदेखि चैत ३ गतेसम्म हुने अन्तरनगर महिला कबड्डी प्रतियोगिता २०८० मूल समितिको बैठक बिहीबार सम्पन्न भयो ।
बैठकमा प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिताहरू आन्तरिक पर्यटन प्रवद्र्धन र आकर्षण गर्ने माध्यम पनि भएको बताउँदै खेलकुद क्षेत्र विकासको लागि सरकारले भौतिक पूर्वाधार निर्माणतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
प्रतियोगिता सञ्चालनले विभिन्न जिल्लाबाट आउने खेलाडीहरूसँग अनुभव आदान हुने बताउँदै उहाँले आयोजकले प्रतियोगिता अवधिभर सहभागी खेलाडीहरूलाई सबै पक्षमा सहजता प्रदान गर्न संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो ।
राज्यले जुन क्षेत्रलाई प्राथमिकता दिन्छ त्यो क्षेत्र अरुभन्दा तुलनात्मकरूपमा अगाडि बढेको हुन्छ भन्दै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखी काम गरेको कारण आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादनमा टेवा पुगिरहेको छ भन्नुभयो ।
एसियन कबड्डी सङ्घका उपाध्यक्ष विनोद प्रजापतिले भक्तपुरमा कबड्डी खेल संस्थागत गर्न भक्तपुर नपाको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै प्रतियोगिता अवधिभर खेलाडीहरूको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगिता सञ्चालनको लागि १५१ जनाको मूल समिति, ११ वटा उपसमिति गठन गरेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कुशल व्यवस्थापनमा अन्तर नगर कबड्डी प्रतियोगिता सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *