भर्खरै :

पहिलोपटक ख्वपमा भयो विजनेस आइडिया प्रमोसन कम्पिटिसन

पहिलोपटक ख्वपमा भयो विजनेस आइडिया प्रमोसन कम्पिटिसन

भक्तपुर, १० फागुन । विद्यार्थीहरूमा उद्यमशीलताको विकास गर्ने अभिप्रायका साथ भक्तपुरमा बिहीबार विजनेस आइडिया प्रमोसन कम्पिटिसन (व्यवसाय विचार प्रवद्र्धन प्रतियोगिता) भएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको प्रतियोगितामा उत्कृष्टलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक कलेजले जनाएको छ ।
ख्वप माविको २४ औँ, ख्वप कलेजको २२ औँ, शारदा क्याम्पस माविको ३३ औँ र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सवको क्रममा प्रतियोगिता भएको हो । प्रतियोगितामा कलेजमा व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरू प्रतिस्पर्धीका रूपमा रहेका छन् । उनीहरूले यसको लागि ४० भन्दा बढी विभिन्न स्टलहरू राखेका छन् ।
आयोजक कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले राखिएका स्टलहरूको मूल्याङ्कन विज्ञहरूको टोलीले गर्ने बताउनुभयो । अवलोकनकर्ताहरूबाट उत्कृष्ट लाग्ने ३ वटा उद्यमशील स्टललाई आफ्नो मत प्रदान गर्ने अवसर प्रदान गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई अब पढाइ सँगसँगै व्यवसाय पनि गर्न सिकाउने उद्देश्यले पहिलो पटक यो कार्यक्रम गरेको उहाँले भन्नुभयो ।
प्रतिस्पर्धीहरूको छनोट गरी पहिलोलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । कलेजको वार्षिकोत्सव समापन समारोहमा पुरस्कार प्रदान गरिनेछ । तीनदिने वार्षिकोत्सव शुक्रबार सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *