भर्खरै :

सिद्धान्तच्युत राजनीतिक दलहरू

एमाओवादी केन्द्रको सा¥है प्रचार गरिएको केन्द्रीय बैठक गम्भीर छलफल भन्दाभन्दै आखिर घरको साँचो प्रचण्डको हातमा ठम्याउन पुग्यो । यता हालै समापन भएको अर्को शासक दल नेपाली काङ्ग्रेसको महासमितिको बैठक ‘नीति न थिति’ हुँदै ‘गठबन्धन गलफतीमै सकियो काङ्ग्रेस महासमिति ।’ (नागरिक दैनिक, ११ फागुन २०८०)
‘पार्टीलाई समयानुकूल बनाउन नीति निर्माण गर्ने महत्वपूर्ण थलो महासमिति बैठकमा जनताका यावत् समस्यालाई असरल्ल छाडेर चार वर्षपछिको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने बहसमै काङ्ग्रेसका नेताहरू अल्झिए ।’
‘समाजवादी’ र ‘कम्युनिस्ट’ भनिने दलहरूलाई सिद्धान्तनिष्ठ भएन भन्दै बारम्बार ठाउँमा ल्याउन वामपन्थी चिन्तकहरूले घच्घच्याएका थिए । तर, उनीहरू समाजको आमूल परिवर्तनको उद्देश्य छोडेर पञ्च, काङ्ग्रेस, तराईका विभिन्न नाउँका पुँजीवादी दलहरूसँग मिलेर सिक्काको एकापट्टी राजा र अर्को पाटोमा ईसु धर्मका क्राइश्चेलीहरू तथा पूर्वराजाहरूलाई बिउँत्याउने सरकारमा बारम्बार जान थाकेनन् । पूर्वराजावादीहरूको सत्तामोहले गर्दा ‘गाँसेगुसे एकैनासे’ भनी सचेत जनताले ‘राजनीति’ शब्दप्रति नै वितृष्णा गरे । बीपीको तस्बिर राख्ने र समाजवादी सिद्धान्तअनुसार उद्योगधन्दा र सेवालाई राज्यले विकास गर्नुपर्ने बेला ‘बीपीको विचारले अहिले सान्दर्भिकता हरायो’ भन्दै निजीकरणलाई सुरु गरेको देख्दा बुद्धिजीवीहरू पनि आश्चर्यमा परे ।
सिद्धान्त, विचार, नीति, कार्यक्रम आदि राजनीतिक दलहरूको वैचारिक आदर्श त्यागेर जोसँग पनि सम्झौता र गठबन्धन भन्दै उनीहरू संयुक्त सरकारमा रहँदा र जाँदा नीतिबारे भन्दा पनि मन्त्री बन्ने बनाउनेतर्फ लागे । भ्रष्टाचारको आलोचना गर्दा कुरा नमिल्ने विषयले नेपालको वर्तमान सत्ता राजनीति पहिले भनिएजस्तै ‘फोहर पोखरी’ र ‘धुलो फाल्ने कन्टेनर’ भएकोमा सचेत नागरिकहरू भविष्यबारे चिन्तित छन् ।
यसकारण, प्रजातन्त्र र प्रजातान्त्रिक परिपाटीलाई विश्वास गर्ने नेपाली काङ्ग्रेसको झन्डा नबोके पनि विचार बोक्ने विश्लेषक प्रा.डा. लोकराज बराल भन्नुहुन्छ, “दलहरू सिद्धान्तच्युत हुनुहुँदैन ।” (अन्नपूर्ण पोष्ट, ११ फागुन २०८०)
हतिपति मुख नखोल्ने र मिष्ठुभाषी डा. बराललाई अब सही नसक्ने उकुसमुकुसको कारण ‘दलहरू सिद्धान्तच्युत’ हुनुभएन भनी नेपाली काङ्ग्रेसको महासमितिको चिन्तन र छलफलको परिस्थितिमा कुकरको सेफ्टी भल्भको काम गरेर आफ्नो कर्तव्य पूरा गर्नु पनि भलाद्मीपन हो ।
हो त, कूटनीतिक व्यक्तिहरू मुखमुखे लागेर होइन कसैलाई चित्त नदुखाई समस्या समाधानमा बढी ध्यान दिने गर्छन् । नेपालमा योग्य र व्यवहारिक कूटनैतिक व्यक्तित्वहरूको समूह भएको भए के एमसीसीमा पढ्दै नपढ्दै संसद्बाट ‘हुन्छ’ भनी पारित गरिन्थ्यो होला ? वा चुच्चे नक्सा खाली केटाकेटीको खेल हुन्थ्यो होला ?
देशको निम्ति योगदानबारे धेरै चर्चा हुने गर्छ । सरकारमा हुँदा गर्नुपर्ने ठुलठुला काम वा राष्ट्रिय स्तरको समस्या समाधान गर्न सके सरकारको सफलता मानिन्छ । त्यस्तै बेलायती शैली (वेस्टमिनिस्टर शैली) को प्रजातन्त्रमा देशलाई निस्सासिँदो अवस्थामा प्रमुख प्रतिपक्ष दलले सडक र सदनमा आएर आफ्नो धर्म पालना गर्नुपर्दथ्यो । त्यो हो बेलायती शैलीको प्रजातन्त्र ! नत्र ‘समाजवादी’, ‘कम्युनिस्ट’ भन्ने राजनीतिक दलहरूले न वामपन्थी न प्रजातन्त्रवादी चालले तमासा हेर्ने प्रवृत्तिलाई ‘न हाँसको चाल न कुखुराको चाल’ भन्ने उखानले पिरोल्नु कुन नयाँ कुरा होला र !
‘काङ्ग्रेस महासमितिको सङ्कल्प, अब एक्लै चुनाव लड्ने’ शीर्षक समाचारपत्रमा हेरी पाठकहरूले एकले अर्कोलाई आँखा झिम्क्याउँदै भन्ने नै भए, ‘पहाड खन्यो मुसा निस्क्यो !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *