जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
यो दबुमा वरिष्ठ मनोरोग विज्ञ डा. विश्वबन्धु शर्माजी हुनुहुन्छ । उहाँ मनोचिकात्साको क्षेत्रमा एक अग्रणी व्यक्तित्व हुनुहुन्छ । उहाँले लामो समयदेखि आफ्नो क्षेत्रबाट सेवा गर्दै हुनुहुन्छ । दबुमा प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली हुनुहुन्छ । उहाँले महाकाव्य लेख्नुभयो । कैयौँ कविता लेख्नुभयो । उहाँ एक राम्रो समालोचक हुनुहुन्छ । नेपाली साहित्यको क्षेत्रमा समालोचना साहित्यको अभाव भयो भनी बरोबर चर्चा हुने गर्दछ । उहाँका दर्जनौँ कृति प्रकाशित छन् । उहाँहरूजस्ता व्यक्तित्वलाई चिनाउनुपर्ने सरकारले हो । तर, राज्य देखे नदेखेझैँ गर्छ, वास्ता गर्दैन । त्यसैले, समाजले चिन्नुपर्नेलाई चिन्न सकिरहेको स्थिति छैन । असल र देशका निम्ति सही तरिकाबाट योगदान दिइरहेकाहरूको प्रचार कम छ । खराब मानिसहरू र देशका निम्ति कुनै योगदानसमेत नपु¥याएकाहरूको प्रचार बढी छ । यो कुनै पनि हालतमा उचित होइन । यसलाई चिर्न आवश्यक छ ।
आज उहाँहरूजस्ता व्यक्तित्वलाई समाजसमक्ष थप परिचित बनाउने र नयाँ पुस्तालाई अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम भइरहेको छ । यो सकारात्मक पक्ष हो । यसले निरन्तरता पाउनुपर्छ । समाजलाई मार्गदर्शन गर्ने र नयाँ पुस्तालाई उत्साहित बनाउने यो एउटा उपाय हुनेछ । समाजको उज्यालो पक्ष उजागर गर्नु हितकारी हुनेछ ।
आज शनिबार । अर्को शनिबार हाम्रा श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को जन्मदिन । देश र जनताको पक्षमा योगदान लामो समयदेखि उहाँले गर्दै आउनुभएको छ । चारैतिर अप्ठ्यारा र निराशाका कुरा आइरहँदा उहाँले नेपाली समाजलाई आशा जगाइराख्नुभएको छ । उपस्थित सम्पूर्णको तर्पmबाट उहाँलाई जन्मदिनको धेरै शुभकामना ।
शिक्षा क्षेत्र उकास्न विद्यालयहरूले अब एकआपसमा सिक्नुपर्छ । सवल पक्ष तथा असल अभ्यासहरूको आदानप्रदानको माध्यमबाट शैक्षिक विकासमा टेवा पु¥याउन सकिन्छ । एक्लो दौडमा जितेर कसैको हित हुँदैन । बाल विकास स्कूलले निजी शैक्षिक गुठीअन्तर्गत मुनाफारहित ढङ्गमा विद्यालय सञ्चालन गरेर एउटा उदाहरण प्रस्तुत गर्दै छ । देशका शिक्षामन्त्री तथा शिक्षा क्षेत्रका नीतिनिर्माताहरू यहाँ आएर वास्तवमा यो मोडलको प्रभावकारिता तथा सफलताबारे अध्ययन गर्नुपथ्र्यो । तर, त्यस्तो खालको संवेदनशीलता न हिजो सरकारमा थियो न त वर्तमान सरकारमा नै देखिन्छ । यस्तो पवित्र उद्देश्यका साथ नमुना विद्यालयको सुरुआत गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ ।
अब म समसामयिक शैक्षिक, सामाजिक, आर्थिक तथा राजनीतिक विषयमा केही प्रसङ्ग राख्ने प्रयास गर्छु ।
कुनै मानिसको स्वास्थ्य कस्तो छ या शरीरमा रोग के छ भनेर बुझ्न थोरै रगतको जाँच, थोरै दिसापिसाबको परीक्षणले मद्दत पु¥याउँछ । शरीरमा अर्बुद रोग छ कि छैन भनेर बुझ्न, सरल भाषामा भन्नुपर्दा, शरीरको अङ्गको अति थोरै मासुको सानो अंशको नमुना या कोषिकाको नमुना परीक्षण या बायोप्सी परीक्षणबाट पत्ता लाग्दछ । आधुनिक विज्ञानले अरु धेरै पूर्वसतर्कताका विधिको विकास गरिसकेको छ । चिकित्सा विज्ञानले उपचारका पद्धतिको पनि त्यही हिसाबले विकास गरिसकेको छ ।
मानिसको स्वास्थ्य, सम्भाव्य स्वास्थ्य समस्या तथा आयुबारे जन्मिनुभन्दा अगाडि नै पूर्वानुमान गर्ने तौरतरिकाको विकास गरिसकेको बताइन्छ । आधुनिक विज्ञानका यी चमत्कार हुन् भन्नु अतिशयुक्ति नहोला ! यो त भयो व्यक्तिगत स्वास्थ्यको प्रसङ्ग !
समाजको स्वास्थ्यबारे पनि चिन्तन लामो समयदेखि चलिरहेकै छ । भोलिको समाज कस्तो होला भनेर अनुमान या प्रक्षेपण गर्न विशेषगरी विद्यालय, कक्षा कोठा, प्रयोगशाला र पुस्तकालय कस्ता छन् भनेर हेर्दा थाहा लाग्छ । शिक्षकहरूलाई हेर्दा या तिनीहरूसँग कुराकानी गर्दा भोलिको पुस्ता कस्तो बन्ला भनेर अन्दाज गर्न सकिन्छ । अझ जरैसम्म पुग्ने हो भने मातृशिशु स्वास्थ्यका बन्दोबस्त, शिशुस्याहार केन्द्र, बालोद्यान तथा पूर्वस्कूलहरूको स्थितिबाट समाजको भविष्यबारे पूर्वानुमान गर्न सकिन्छ । समाजले कुन बाटो हिँड्ला र कहाँसम्म पुग्ला भनेर अनुमान लगाउन सकिन्छ ।
समाज कति सभ्य, सुसंस्कृत तथा अगाडि बढेको छ भन्ने बुझ्न विद्यालय, कलेज, पुस्तकालय, वाचनालय, पुस्तक पसल आदि हेरे अन्दाज गर्न सकिन्छ । विश्वविद्यालयको समग्र अवस्थाले समाजको विगत, वर्तमान र भविष्यबारे गहिरो ढङ्गमा बुझ्न मद्दत पु¥याउँछ । शिक्षा, चेतना, विज्ञानको क्षेत्रमा उदासीन समाज धेरै पछाडि पर्नु अस्वाभाविक होइन । त्यस्तो समाज अन्धविश्वास, कुरीति, कुप्रथाको दलदलमै फस्छ । त्यो समाजले गतिलो नेतृत्वसमेत पाउँदैन । यी आजका चुनौती हुन् ।
धेरै बालबालिकामा केही शैक्षिक, सामाजिक, चारित्रिक तथा सांस्कृतिक समस्या देखिए पाठ्यक्रम निर्माणमा कहाँनिर गल्ति भयो, शिक्षणमा कहाँनिर समस्या भयो र मूल्याङ्कन पद्धतिमा कहाँनिर कमजोरी छ भन्ने सोधखोज गर्नुपर्ने हुन्छ । साथै, अभिभावकद्वारा बालबालिकाको हुर्काइमा के कमजोरी भयो ? बच्चाबच्चीको सङ्गत कस्तो छ ? यी प्रश्नको उत्तर बेलैमा खोज्नुपर्ने हुन्छ । समस्या समाधानको सही विधि यही हो ।
यहीँनिर एउटा छोटो कथा या प्रसङ्ग जोड्छु । एकजना चोरीको अभियोगमा जेल परेको कैदीलाई मृत्युदण्डको पैmसला सुनाइयो । कैदीले मृत्युदण्ड दिनुभन्दा अगाडि आफ्नी आमा भेटेर एउटा प्रश्न सोध्ने अन्तिम इच्छा जाहेर गरे । आमासँगको भेटमा कैदीले भने, “मैले सानातिना चोरी गर्न थाल्दानै तपाईँले मलाई किन रोक्नुभएन ? त्यतिखेर नै मलाई रोकेको भए आज मैले यो कम उमेरमै मर्नुपर्ने थिएन । यो मैले पाइरहेको मृत्युदण्डको दोषी तपाईँ पनि हो !” आमा नाजवाफ भइन् ।
यसको अर्थ सबै आमा त्यस्ता हुन्छन् भन्ने कदापि होइन, तर कमजोरी जोसुकैबाट जुनसुकै बेला हुनसक्छ ! कमजोरीको बेलैमा निदान गर्नुपर्छ भन्ने सन्देश यसको मूलभूत विषय हो । कुनै व्यक्ति या समाज एकै दिनमा या एकै जनाका कारण बिग्रिने होइन ! खराबी सुरु हुँदा नै रोक्न सके त्यसले डरलाग्दो आकार तथा रूप लिन पाउँदैन भन्ने शिक्षा यसले दिन्छ ।
बालबालिकाको हुर्काइमा समस्या भए, कमजोरी भए या हेलचेक््रयाइँ भए परिणाम दुःखद एवम् कसैले चिताउनसम्म नचिताएको मिल्छ ! बेलैमा हाम्रो सावधानी तथा समाधानका सुझबुझपूर्ण प्रयास आवश्यक हुनुको कारण यही हो ।
यसै प्रसङ्गलाई देशका जल्दाबल्दा समस्या र घटनाहरूसँग जोडेर थप प्रस्ट हुने प्रयास गरौँ ! नेपाली समाजमा गम्भीर सामाजिक, आर्थिक, नैतिक, राजनीतिक विचलनहरू देखापर्दै छन् । स—साना होइनन् देशका ठुलै नेताहरूबाट देशघात भइरहेका छन् । अनपढहरूबाट होइन प्रकाण्ड विद्वान्हरूबाट बेइमानी हुँदै छ । गरीब सर्वसाधारणबाट होइन धनीधनाढ्यबाट बदमासी भइरहेका छन् ।
करोडौँ—अरबौँको भ्रष्टाचारका खबरहरू दैनिक बाहिर आइरहेका छन् । कहिल्यै नसुनिएका ठुलठुला ठगी, तस्करी, भ्रष्टाचारका काण्डहरू दैनिक सार्वजनिक भइरहेका छन् । शासक नेता, मन्त्री, माथिल्लो ओहोदाका कर्मचारी, ठुलठुला व्यवसायीहरूसमेत अनेक किसिमका अपराध तथा अनियमिततामा फस्दै छन् । ती जेल जाने दिन नजिकिँदो छ ।
आखिर यो किन, कसरी हुँदै छ ? आमाबुबा तथा घरपरिवार यसका निम्ति कति जिम्मेवार छन् ? आजको यो स्थिति तयार हुनुमा शिक्षकशिक्षिकाहरूको हात कति छ ? विद्यालय, कलेज, समाज कति दोषी छन् ? यो स्थितिबाट मुक्त हुन पाठ्यपुस्तक, पाठ्यक्रम, शिक्षणमा कहाँनिर फेरबदल उपयुक्त होला ? शिक्षानीति र त्यसका निर्माता किन जिम्मेवार छन् ? यी सामान्य सवाल जरुर होइनन् । यी सवालले गम्भीर चिन्तन तथा तड्कारो समाधानको माग गर्दछन् ।
आजका यी ठुला ठुला भ्रष्टाचारीहरूलाई हिजो पढाउने शिक्षक, प्राध्यापक को होलान् ? तिनले कुन विद्यालय र कलेजमा पढेका होलान् ? ती तस्करहरू बाल्यकालमा या विद्यालय—कलेजमा कस्ता थिए होलान् ? ती कुन विश्वविद्यालयबाट दीक्षित भएका हुन् ? ती अपराधीहरूको पारिवारिक पृष्ठभूमि या हुर्काइ कस्तो थियो होला ? ती कुन राजनीतिक सङ्गठनका सदस्य थिए होलान् ? तिनका नेता को हुन् ? ती कुन समुदायका हुन् ? ती कुन भाषा बोल्छन् ? यी सबै संवेदनशील विषय हुन् । अपराध मौलाउने परिवेश कसरी तयार भयो ? त्यसलाई मलजल कसले कसरी ग¥यो भन्नेतिर ध्यान पु¥याए समस्याको मूलस्रोतको पहिचान हुनेछ र समाधान छिट्टै निकाल्न सम्भव होला !
कुनै व्यक्ति या समाज बिगार्न अरु धेरै बिगारिराख्न पर्दैन । देश ध्वस्त पार्न एटम बम र रकेटहरूनै खसाल्नुपर्छ भन्ने कुनै जरुरत छैन । विद्यालय र विद्यालय शिक्षा बिगारे पुग्छ । शिक्षक तथा कर्मचारीहरूलाई कामचोर बनाए पुग्छ । शिक्षा स्तरहीन बनाए पुग्छ । परीक्षा खुकुलो पारेर विद्यार्थीहरूलाई परीक्षामा नक्कल गर्न दिए पुग्छ । शिक्षा बर्बाद पार्नु भनेकै देश बर्बाद पार्नु हो । यो अफ्रिकी अनुभवको सार हो । हाम्रो आजको सन्दर्भमा पनि उत्तिकै मेल खान्छ ।
यी विषयमाथि विचारविमर्श तथा चिन्तनमनन गर्न सक्यौँ भने हाम्रो समाज थप बिग्रिनबाट जोगाउन सक्नेछौँ । हामी गम्भीर बनेनौँ भने भावी पुस्ताले समेत दुःख पाउनेछ ।
समाजमा सबै खराब हुने गर्दैनन् । सबै असल मात्र पनि हुने गर्दैनन् । सबै खराब देख्नु पनि गलत हो र सबै असल देख्नु पनि पूर्णरूपमा सही होइन । तर, यहाँ असल मानिसहरूकै बहुमत छ र असल बन्न चाहनेहरूको सङ्ख्या अत्यधिक छ । असलहरू सक्रिय भएपछि खराबहरू लाखापाखा लाग्नेछन् । यहाँ असल मानिसहरूको मौनता या निष्क्रियता भने झन् बढी भयानक हुन्छ ।
फोहर हुने भएकैले कुचो आवश्यक भएको हो र जहाँ कुचो पुग्छ त्यहाँ सफा हुन्छ । कुचो बन्न हामी तयार छौँ या छैनौँ, सवाल त्यति मात्र हो । यो यथार्थ मनन गर्दा निराश हुने छैनौँ ।
समाजको भविष्य घुमाइफिराइ हामी शिक्षक, अभिभावक तथा अग्रजहरूकै हातमा छ । समय अभैm बितिसकेको छैन । आशा अभैm मरिसकेको छैन । सम्भावना अभैm बाँकी नै छ । आ–आफ्नो जिम्मेवारी बहन गरौँ ! आ–आफ्नो कर्तव्यप्रति सदा सचेत रहौँ ! भविष्यप्रति आशावादी बनौँ ! स्वर्णिम भविष्यको क्षितिज केही पर हामीलाई नै कुरिबस्दै छ । बिहानीको मिर्मिरेले हामीलाई बोलाइरहेछ !
(बाल विकास सेकेन्डरी स्कूलको ३६ औँ वार्षिकोत्सव समारोह, फागुन १९ गतेमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको विचार)
Leave a Reply