निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
निर्वाचन घोषणापत्रको लडाइँ हो, सिद्धान्तको लडाइँ हो र विचारको युद्ध हो । फरक—फरक उद्देश्य लिएर स्थापना भएका राजनीतिक पार्टीले निर्वाचनको समय आफ्नो घोषणापत्रमार्फत् जनताको मन जित्ने प्रयत्न गर्छन् । मतदाताको अमूल्य मत देश र जनताको आमूल परिवर्तन र विकासको लागि हो । बहुमत पाएका राजनीतिक दलले सरकारको नेतृत्व गर्छन् भने थोरै सिट संख्या प्राप्त साना दलहरूले प्रतिनिधिसभामा प्रतिपक्षको भूमिका निर्वाह गरी देश र जनताको सेवा गर्छन् ।
यसै सेरोफेरोमा यहाँ चर्चा गर्न खोजिएको विषय हो – नेपाल मजदुर किसान पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन – २०७४ को घोषणापत्र । जम्मा १६ पृष्ठमा प्रकाशित यो घोषणापत्रमा देशको परिस्थिति, अहिलेको मुख्य मुख्य समस्या, वाम र लोकतान्त्रिक गठबन्धनबारे टिप्पणी, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति र प्रतिनिधिसभा र प्रदेशसभामा नेमकिपाले गर्ने काम–कारबाहीहरू विशेषतः (विद्युत, शिक्षा, स्वास्थ्य, प्रशासन र कर्मचारी, न्याय प्रशासन, नागरिकता, वातावरण, उत्तरी क्षेत्रको विकास, उपभोक्ता अधिकार, मानवअधिकार, परराष्ट्र नीति, महिला र बालबालिका, ज्येष्ठ नागरिक) आदि क्षेत्रमा केन्द्रित छ ।
नेमकिपाको यस घोषणापत्रमा संयुक्त राज्य अमेरिकालाई हतियार र युद्धको व्यापारी हो भनी उल्लेख गरिएको छ । निश्चय नै संरा अमेरिकाको विश्व राजनीतिमा संलग्नता छ । अरु देशलाई हतियार बेचेर त्यहाँ स्थानीय युद्धहरु निम्त्याउने संसारको ठूलो आतड्ढवादीको रुपमा व्याख्या गरिएको जुन मनासिब पनि छ । यसैगरी भारतीय फासीवादबारे गरिएको विश्लेषण पनि चर्चायोग्य छ । दक्षिण एसियामा भारतीय फासीवादी प्रभाव र त्यसले छिमेकी देशमा पार्नसक्ने असरहरूबारे उल्लेख गर्ने पार्टी मात्र नेपाल मजदुर किसान पार्टी हो भन्दा फरक नपर्ला । देश निर्माणमा ठेकेदारहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ । तर अहिले ठेकेदारहरूले देशको विकासमा बाधा–व्यवधान खडा गरिरहेका छन् । ठेकेदारलाई राजनीतिक संरक्षण भएकै कारण अनियमित कार्य गर्नेमा ठेकेदारहरू अगाडि सरेका छन् । ठेकेदार संसद सदस्य हुनु र संसद सदस्य ठेकेदार हुनुले पनि यहाँ ठेकेदारको हालीमुहाली बढिरहेको छ भन्ने विश्लेषण यस घोषणापत्रमा गरिएको छ ।
नेमकिपाले जोताहा किसानलाई मोहियानी हक, आफ्नै देशमा युवाहरूलाई रोजगारीको बन्दोबस्त, उद्योग–कलकारखानाको निजीकरणको विरोध, ट्रली बसजस्ता विद्युतले चल्ने बाहनलाई प्राथमिकता दिनुपर्ने, दुर्गममा सडकको सट्टा रोप वे वा केबुलकारको बन्दोबस्त हुनुपर्ने, शिक्षालाई उत्पादन श्रमसँग मिलाउने, स्थानीय तहमा पनि विश्वविद्यालय स्थापना गर्ने अधिकार, कर्मचारी युनियनको विरोध, नागरिकता सिफारिस गर्ने कामलाई कडाइका साथ लागु गर्नुपर्ने, दोहोरो नागरिकताको विरोध, सबै छिमेकी देशसँग सुमधुर सम्बन्ध आवश्यक र नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्ने, महिला साक्षरता, तालिम र रोजगार, ज्येष्ठ नागरिकलाई ‘आदर निकेतन’ को बन्दोबस्त गर्नुपर्ने लगायततका विषयहरूलाई अगाडि सारेको छ ।
समग्रमा कांग्रेसको ८३ पृष्ठको, एमालेको ४८ पृष्ठको घोषणापत्रभन्दा नेपाल मजदुर किसानको १७ पृष्ठको यो घोषणापत्र बढी सान्दर्भिक छ । जनताको आधारभूत आवश्यकता जस्तै गाँस–बाँस–कपासको सुनिश्चितता गर्न नसकेका प्रमुख शासक राजनीतिक दलहरूले आगामी निर्वाचनमा सर्वसाधारणको मत पाउन पुरा हुनै नसक्ने खालका आर्थिक विषयहरू सार्वजनिक गरेर मतदातालाई झुक्याउने काम गरेको जनगुनासा छन् । मुलुकका दुई शासक पार्टीहरू एमाले र एमाओवादी केन्द्र मिलेर (वामगठबन्धन) र नेपाली कांग्रेस, राप्रपा आदि (लोकतान्त्रिक गठबन्धन) भनी देशमा दुई दलीय निरंकुशतन्त्र स्थापना गर्न खोजेको स्पष्ट छ ।
ठूला दलको घोषणापत्रमा उल्लेख गरिएका विषयहरूजस्तै प्रतिव्यक्ति आय बढाउने, बिजुलीको उत्पादन बढाउने, आर्थिक समृद्धि, विकास निर्माणका कार्यलाई तीव्रता दिने, लगायतका मुद्दाहरू उठ्नु, सर्वसाधारणको मत तान्नकै निम्ति मात्र समावेश गरिएको भनी राष्ट्रिय सञ्चारमाध्यमहरूमा बहसको विषय बनेको छ । वामगठबन्धनले आगामी १० वर्षसम्ममा नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी पाँच लाख पु¥याउने र १० वर्षमा १० लाखलाई रोजगारी दिने हावादारी घोषणा पनि गरेको सुनियो । ती पार्टीहरूले मनन गर्नुपर्ने कुरा, नैतिकताको राजनीति गर्ने पार्टीले कहिल्यै भ्रष्टाचारी, गुण्डागर्दी वा अन्य आपराधिक पृष्ठभूमिका अपराधीलाई नेता बन्ने/बनाउने अवसर दिंदैनन् । सदाचारी पात्रलाई मात्र रोज्ने गर्छन् । अपराधकर्मीहरूलाई काखी च्यापी स्वच्छ राजनीति गर्छु भन्नु जनतालाई मुर्ख बनाउने र दुःख दिने काममात्र हो । नेपालको राजनीतिमा डन, गुण्डा, ठग र भ्रष्टहरूको प्रवेश अचाक्ली रुपमा बढिरहेको छ । राजनीतिको मुख्य उद्देश्य देश र जनताको सेवा गर्ने उद्देश्यले गरिनुपर्छ । शुद्ध राजनीति स्वच्छ र इमानदार व्यक्तिबाट मात्र सम्भव हुन्छ । राजनीतिलाई स्वच्छ बनाउन इमानदार व्यक्तिलाई प्राथमिकता दिनुपर्ने थियो तर हाम्रो देशमा त्यस्तो हुन सकिरहेको छैन ।
चुनावमा आफू र आफ्ना दल बलियो बनाउन डन, गुण्डा, ठग र भ्रष्टाचारीको साथ, सहयोग खोज्ने कारण आज यी शासक पार्टीका कारण राजनीतिक दलहरू स्वयम् बद्नाम छन् । नेमकिपाको घोषणापत्रमा महानिर्वाचन ठगहरूको प्रतिस्पर्धा हुनुहुँदैन भनी स्पष्ट उल्लेख गरिएको छ । हुन त निर्वाचनको समयमा प्रकाशित हुने घोषणापत्रहरू अध्ययन गरी, पार्टीको नीति, सिद्धान्त बुझी मतदान गर्ने परिपाटी नेपालमा न्यून छ । आफ्ना नेता/कार्यकर्तालाई जिताउन लाखौं रकम बोकेर हिंडेको र चुनाव प्रचारको क्रममा प्रहरीले नगदसहित नियन्त्रणमा लिएको खबरहरू सुन्नमा आएका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमध्ये ठूला पार्टीका नेता÷कार्यकर्ता नै अग्रस्थानमा छन् । सस्तो लोकप्रियता बटुल्न, नेपालका अर्थशास्त्रीहरू नै जिल्ल पर्ने गरी ल्याएका यी घोषणापत्रका महत्वाकांक्षी योजनाले पूर्णता पाउनु ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै मात्र हुनेछ । आर्थिक वृद्धि गर्नमै केन्द्रित यस्ता घोषणापत्रले ‘जनताको मत जित्न सक्ला’ तर देशको समृद्धिको यात्रालाई भने अगाडि बढाउन नसक्ने पक्का छ । नेका २००७ सालदेखि बारम्बार सरकारमा छ, एमाले ४ पटक र माओवादीले ३ पटक सरकारको नेतृत्व गर्यो, काम भने कांग्रेसको जस्तै भ्रष्टाचारी, ठेकेदार र अपराधीहरु पोस्ने काम गरे । लोकप्रिय विषय अगाडि सार्नु ठूलो कुरा होइन । देशको सीमा रक्षा गर्ने, साम्राज्यवादी नीतिको विरोध गर्ने, एकाधिकार पूँजीको विरोध, जोताहा किसानलाई मोहियानी हक दिलाउने, निजीकरणको विरोध, शिक्षालाई उत्पादन श्रमसँग मिलाउने, मजदुर युनियनको विरोधलगायतका विषयहरू ठूलो पार्टीको घोषणापत्रमा अटाउन सकेनन् । तर नेपाल मजुदर किसान पार्टीले यी महत्वपूर्ण कुराहरूलाई उल्लेख गर्नुले पनि नेमकिपाको दृष्टिकोण, सिद्धान्तबारे बुझ्न जनतालाई सजिलो बनाएको छ ।
मतदाताको मन इमानदारीताका साथ जित्न नसक्नेले पैसाले मत किन्न खोज्छन् । अहिले नेपालमा पनि मत किन्ने खराब परिपाटी ठूला दलका नेता/कार्यकर्ताहरूले गर्दैछन् । प्रति भोट १००० दिन्छु भनी गाउँ–घरमा एमाले, कँंग्रेस तथा माओवादीका कार्यकर्ताहरू आएका जनगुनासो छ । जनताको चेतनास्तर जाँच्ने आधार निर्वाचन हो । यहाँ पैसामा बिक्ने मतदाता पनि छन्, पार्टीका सिद्धान्त र व्यवहार बुझी मतदान गर्ने जनता पनि छन् । हाम्रो अमूल्य मत कुनै देशद्रोही, राष्ट्रघाती र भ्रष्ट व्यक्तिलाई नजाओस् भन्नको निम्ति मतदाताहरू सचेत भएर सही दृष्टिकोण बोकेको पार्टीलाई मतदान गर्न आवश्यक छ ।
कृतिका प्रजापति
पुुुुस्तक परिचय
Leave a Reply