निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
विभिन्न कालखण्डमा इतिहासबाट सिक्नुपर्ने हुन्छ । इतिहास कुनै पनि देशको हुनसक्छ । कहिलेकाहीं युवा साथीहरू र सरल जनताले हरेक समस्या सरलतापूर्वक समाधान हुने अनुमान गर्नु पनि स्वाभाविक हो । तर राजनैतिक दलहरूले जनताको सरलताबाट फाइदा उठाउनु राजनैतिक बेइमानी हुने गर्छ । निर्वाचन साँचो अर्थमा व्यापक राजनैतिक कक्षा सञ्चालन नै हो । हरेक राजनैतिक दलले आ–आफ्नो राजनैतिक दर्शन, वर्गीय आधार र एक आदर्श समाजको रुपरेखा जनताको अगाडि राख्छ । त्यस दीर्घकालीन उद्देश्यलाई आवधिक निर्वाचन र तोकिएको समय सीमाभित्र आफ्नो दलले सरकारको नेतृत्व गर्ने अवसरमा वा प्रतिपक्षमा बस्दा गर्ने गतिविधिबारे खुलस्त रुपले जनता अगाडि राखेर मन र मतलाई आर्जन गर्ने अभ्यास नै निर्वाचन हो ।
त्यस्तो गम्भीर विषयमा भोजभतेर गरेर, पैसा बाँडेर वा सामान बाँडेर मत लिने अभ्यास देश र जनताको निम्ति अहित हुने विषय हो । यसकारण निर्वाचन आचारसंहिताको बन्दोबस्त गरेको हुन्छ । समाजका हरेक स–साना काम कारबाहीमा पैसा, लोभलालच र उपहार दिएर काम गरेमा साधारण जनतामा स्थानीय चोक, टोल, पोखरी, विद्यालय, मन्दिर आदिको सफाइ गर्ने र श्रमदान गर्ने भावना समाप्त हुने छ र टोल र गाउँमा ठूल्ठूला अपराधको घटना घटेको खण्डमा पनि पैसा नदिई सरजमिनमा समेत टोलवासी उपस्थित नहुने प्रवृत्तिले ठाउँ पाउनेछ । यसकारण निर्वाचनमा भोजभतेर, पैसा बाँड्ने, सामान उपहार दिने, व्यक्तिगत आश्वासनहरू दिनु अपराध नै हुन्छ ।
पैसा लिएर मात्र मत दिने प्रवृत्तिले नेपाली जनताको हातबाट देश विदेशको हातमा पुग्ने खतरा छ । आज केही उम्मेद्वारले खेत बेचरै भए पनि वा ऋण लिएरै भए पनि आचारसंहिताको सीमा नाघेर ५–७ करोड खर्च गरेर चुनाव जितेको खण्डमा उसले अर्को निर्वाचनमा १०–१५ करोड खर्च गर्नुपर्नेछ । हरेक मतदातालाई १५–२० हजार रुपैयाँ खर्च हुनेछ । तेस्रो चुनावमा त्यो खर्च ५० करोड पुग्नेछ । विजयी उम्मेदवार ठेकेदार भएमा ऊ मन्त्री हुनेछ र आफ्ना मानिसलाई अरबौं रुपैयाँको ठेक्का दिनेछ । सडक, पुल र भवन निर्माण कमजोर हुनेछ र निर्माणबाट चोरेको पैसा नै मतदाताहरूलाई बाँड्ने छ । सरकारको बजेट घाटा पूरा गर्न दैनिक उपभोग्य सामान, सेवा, खानेपानी, बिजुली आदिमा कर वृद्धि गर्नेछ । यसरी मतदाताहरूले निर्वाचनमा उम्मेदवारबाट प्राप्त केही हजारको सट्टा धेरै हजार रुपैयाँ करमा वा मूल्यवृद्धिमा चुकाउनुपर्नेछ र भ्रष्टाचारबाट आफै पीडित हुनुपर्नेछ ।
अहिले तराईमा झण्डै आधा जनसंख्याले नयाँ नागरिकता प्राप्त गरेका छन् । त्यसमध्ये कति अरबपति होलान् ¤ तेस्रो आवधिक निर्वाचनमा ५० करोड र अरब अरब रुपैयाँ खर्च गरेर त्यस्ता कृत्रिम नागरिकहरू सत्तामा पुग्नेछन् । तिनीहरूको माया नेपाल र नेपाली जनतामा नहुनु स्वाभाविक हो । त्यस्ता नागरिकहरूको सरकार बनेको खण्डमा वा त्यस्ता व्यक्तिहरूको पार्टीले सरकारको नेतृत्व गरेको खण्डमा आजका शासकहरू शेरबहादुर देउवा, के.पी शर्मा ओली, प्रचण्ड आदि आदिले रक्तको आँसु बगाउनुपर्नेछ वा देश छोडेर भाग्नुपर्नेछ ।
जनताको देशभक्ति र जनताको सेवा गर्ने भावनालाई पैसाले किनबेच गर्ने प्रवृत्तिमा पतन गरेमा वा झुटा आश्वासन दिएर जनतालाई बारम्बार ठगेमा जनताले त्यस्ता ठग नेता र उम्मेदवारहरूलाई हराउन देशभक्तिको भावना र जनताको सेवा गर्ने राजनीतिमा नआएका चरित्रलाई नकारात्मक मत मात्रै गएको खण्डमा पनि देश रहने छैन र भुटान तथा सिक्किमको स्थिति नेपाल र नेपाली जनताले व्यहोर्नुपर्नेछ ।
Leave a Reply