भर्खरै :

निर्वाचन पनि एउटा राजनीतिक सङ्घर्ष

आगामी वैशाख १५ गते इलाम २ को प्रतिनिधिसभा र बझाङको प्रदेशसभा १ मा उपनिर्वाचन हुँदै छ । निर्वाचनको लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । हरेक निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्छ । तर, निर्वाचन स्वच्छ र शान्तिपूर्ण हुँदैन । निर्वाचनमा जित्नको निम्ति ठुला र शासक दलका नेताहरूले साम, दाम, दण्ड र भेदको नीति अपनाउँछन् । हरेक राजनीतिक दलले आ–आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ पु¥याएर जनताको मत लिनुपर्ने हो । ती दलका नेताहरू सिद्धान्त र विचार प्रचार नगरी पैसाको खोलो बगाउँछन्, भोज खुवाउँछन्, सामान बाँडफाँड गर्छन्, अनेक लोभलालच देखाउँछन् । सिद्धान्त र विचार जनतामाझ पु¥याएर, बुझाएर मत लिएको भए त्यो दलले प्राप्त गरेको मत सिद्धान्त र विचारको आधारमा लिएको हुन्छ । जसरी भए पनि जित्ने होडबाजीको राजनीति गरेर या मत लिएर जनताको समस्या समाधान हुने होइन ।
हरेक राजनीतिक दल एक न एक वर्ग आधार, राजनीतिक दर्शन र विचारको आधारमा स्थापना गरिएको छ । हरेक राजनीतिक दलको अल्पकालीन र दीर्घकालीन उद्देश्य हुन्छ । त्यो उद्देश्य पूरा गर्न इमानदारीपूर्वक स्वच्छ राजनीति गर्नुपर्छ । तर, नेपालका शासक राजनीतिक दलहरू आफ्नो सिद्धान्त र आदर्श छोडेर देशलाई दूरगामी असर पार्ने, जनतामाझ भ्रम फैलाउने, समाजमा आर्थिक, सामाजिक एवम् सांस्कृतिक अराजकता बढाउने कुकृत्यमा लाग्दै छन् । सत्तासीन दलका नेताहरू अपराधी, भ्रष्टाचारी र कामचोरहरूको पक्षपोषणमा लागिरहेको खबर पनि बेलाबखत सञ्चारमाध्यममा आइरहेको छ । जनताले मतदान व्यक्तिको मुख हेरेर होइन दलको सिद्धान्त र विचारको आधारमा गर्ने हो । देशघाती, देशद्रोही, विदेशी दलालको पक्ष दिने दलका उम्मेदवारलाई हामीले मतदान गर्नु ठीक हुँदैन । इमानदारीपूर्वक स्वच्छ राजनीति गर्ने दलका उम्मेदवार नै जनताका उम्मेदवार हुन् । त्यस्ता उम्मेदवारलाई हामीले मतदान गर्नुपर्छ ।
निर्वाचन पनि एउटा राजनीतिक सङ्घर्ष हो; त्यो वर्गीय सङ्घर्ष या वैचारिक लडाइँ हो । कुनै पनि मतदाता कुनै पनि दलको प्रलोभनमा पर्नु हुँदैन या प्रलोभनमा आफ्नो अमूल्य मत दिनु हुँदैन । हाम्रो हरेक मत जित्ने दललाई होइन देश र जनताकोे पक्षमा इमानदारीपूर्वक राजनीति गरिरहेको दलका उम्मेदवारलाई दिनुपर्छ । देश र बहुमत जनताको हितमा समर्पित र प्रतिबद्ध राजनीतिक दलका उम्मेदवारहरू जनताका उम्मेदवार हुन् । सामन्ती होस् या पुँजीवादी चुनाव सैद्धान्तिक तथा वैचारिक सङ्घर्षको रूपमा उपयोग गर्ने माध्यम हो । कम्युनिस्टविरोधी वा पुँजीवादी पार्टीहरूले चुनावलाई सत्तामा पुग्ने माध्यम बनाउँछन् । त्यसकारण, ती दलका नेताहरू जसरी भए पनि जित्ने दाउ रच्छन् । उनीहरू जनतालाई सैद्धान्तिक र वर्गीय राजनीतिबाट दीक्षित गर्दैनन् । तर, सच्चा कम्युनिस्टहरू चुनावी सभालाई राजनीतिक र सैद्धान्तिक कक्षाको रूपमा सञ्चालन गर्छन् । नेमकिपा हाल हुन गइरहेको उपनिर्वाचनलाई वैचारिक सङ्घर्षको रूपमा लिन्छ ।
नेमकिपाले चुनावलाई समाजवादी प्रचार अभियानकै रूपमा उपयोग गर्छ† उपयोग गरिरहेको हो । यस निर्वाचनमा पनि नेमकिपा देशघाती र जनविरोधी दलको विरोध गर्छ । स्वाधीन देशमा थिचोमिचो गर्ने, अतिक्रमण गर्ने, आक्रमण गर्ने दल र त्यसको पक्ष लाग्ने दलको नेमकिपा विरोध गर्छ । कम्युनिस्टहरू संसद्लाई क्रान्तिकारी दबुको रूपमा प्रयोग गर्छन्; संसद्लाई उपयोग गरेर समाजवादी विचारको प्रचार गर्छन्; विदेशी थिचोमिचो, भारतीय एकाधिकार पुँजीको विरोध गर्छन् । कम्युनिस्टहरू चुनावलाई पुँजीवादी सत्ता कब्जा गर्ने उद्देश्यले उपयोग गर्दैनन् । नेमकिपा चुनावबाट देशमा समाजवादी व्यवस्था स्थापना हुन्छ भन्नेमा विश्वास गर्दैन । अतः हाल हुन गइरहेको उपनिर्वाचनमा देशभक्त जनताले सिद्धान्त र विचारको आधारमा मतदान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *