भर्खरै :

नेकाको बहुदलीय प्रजातन्त्र र एमालेको जनताको बहुदलीय जनवाद उस्तै हो

नेकाको बहुदलीय प्रजातन्त्र र एमालेको जनताको बहुदलीय जनवाद उस्तै हो

काठमाडौँ, २५ वैशाख । सङ्घीय संसद् सचिवालयको मानव संशाधन विकास महाशाखा संसदीय शिक्षण शाखाको आयोजनामा सांसद – प्राज्ञ बहस कार्यक्रम सिंहदरबारमा सम्पन्न भयो ।
नेपाल खुला विश्वविद्यालयको मानविकीशास्त्रका डीन एवम् राजनीतिशास्त्रका प्राध्यापक खगेन्द्र प्रसाई (पीएचडी) ले समाजवादउन्मुख राज्य निर्माणको समस्या, चुनौती तथा अवसरहरूको विषयमा बोल्नुभयो ।
प्राध्यापक प्रसाईले आफू २०–२२ वर्षदेखि पुँजीवाद र समाजवादबारे अध्यापन गराउँदै आएको उल्लेख गर्दै नेपालको संविधानमा समाजवादउन्मुख समाज लेखिनुको अर्थ सांसदहरूलाई पुँजीवादी हुन छुट नभएको, पुँजीवादी व्यवस्था खराब भएको बारे स्पष्ट भएमात्र साम्यवादबारे बुझ्न सजिलो हुने, एक दुई जनाको आकाङ्क्षाले समाजवाद नआउने बताउनुभयो ।
कलकारखाना र संस्थानहरूमा हजारौँ कामदार एकै थलोमा काम गर्ने वातावरण बन्नु सामाजिकीकरण नै भएको तर नाफा केही व्यक्तिको बिचमा बाँडफाँट हुने पुँजीवाद नै भएको उल्लेख गर्दै प्राध्यापक प्रसाईले सन् १९३० को बेलायती भारतभन्दा अहिले भारतीय जनता पार्टीको मोदी सरकारमा असमानता बढेको बताउनुभयो ।
पुँजीवादमा नदीनाला प्रदूषण र प्रकृतिको दोहन हुने उल्लेख गर्दै प्राध्यापक प्रसाइले काठमाडौँ उपत्यकाका नदीहरू यसकारण प्रदूषित भएको स्पष्ट पार्नुभयो ।
“बजेट निर्माणको क्रममा नेपालले अर्थमन्त्रालयमा मुसाले तार काटेको र सीसीटीभीमा रेकर्ड नभएको सार्वजनिक भयो । यस्तो षड्यन्त्रमा कुन उद्योगी व्यापारीको हात रहेको भन्ने छानबिन गरिएन । अमेरिकामा पुँजीपतिवर्गले संसद्मा पुगेर चेक वितरण गर्छ । पुँजीपतिवर्गको पक्ष लिएका सांसदलाई अवधि सकिएपछि सल्लाहकारमा नियुक्ति गरिन्छ । अमेरिकी राष्ट्रपति ओबामासमेत अवकाशपछि पुँजीपतिवर्गको लागि भाषण दिएर शुल्क उठाउँदैछन् ।” प्राध्यापक प्रसाईले भन्नुभयो ।
कृषिलाई प्राथमिकतामा राखेर उत्पादन बढाउन जरुरी छ । चीन, भारत, जापानले यही गरेर नेपाल सरकारलाई कृषि उत्पादन बढाउने भन्दा पनि युवालाई विदेशी पठाएर जग्गा बाँझो राख्न लगायो । बैङ्कको ब्याज १५ प्रतिशत बनाएर उद्योगको विकास हुँदैन ।
घरजग्गा र गाडीमा लगानी गराउने होइन कृषिमा लगानी गराउनु जरुरी छ ।” प्राध्यापक प्रसाईले उल्लेख गर्नुभयो ।
“निजीकरण भनेकै भ्रष्टाचारलाई वैध बनाउने हो । कौडीको मूल्यमा सार्वजनिक संस्थान बिक्री गरिएको भ्रष्टाचार नै हो । पुँजीवाद र निजीकरणलाई बुझेपछि भ्रष्टाचार कसरी भइरहेको छ बुझ्न सजिलो हुनेछ । अमेरिकी बोइङ हवाईजहाज कम्पनीका जहाज उडिरहेको बेला ढोका खुल्यो । यसको छानबिन पूरा गरिएन । पुँजीपतिवर्ग र उनीहरूको बैङ्कले सरकारलाई गोजीमा राख्छ ।” प्राध्यापक प्रसाईले भन्नुभयो ।
“चीनमा प्राध्यापक र शिक्षकको पारिश्रमिक बढी छ । फिनल्यान्ड र जर्मनीमा विश्वविद्यालय शिक्षा निःशुल्क छ । दोस्रो विश्वयुद्धपछि संसारमा सरकारहरूले लगानी गरी अनुसन्धान गराएका थिए । अहिले यसको उपलब्धि केही पुँजीपतिवर्गको कब्जामा छ । अहिले चीनले सबैभन्दा बढी वैज्ञानिकहरूलाई अनुसन्धानमा लगाउँदै छ । नेपाल सरकारले सार्वजनिक विद्यालय र विश्वविद्यालयलाई गुणस्तरीय बनाउन सकेन ।” प्राध्यापक प्रसाईले भन्नुभयो ।
युरोपको पुँजीवादले हिंसाको सहारामा बजार कब्जा गरेको उल्लेख गर्दै प्राध्यापक प्रसाइले नेपालको वर्तमान आर्थिक सङ्कटलाई समाजवादउन्मुख ढङ्गले सम्बोधन गर्न नसकिएमा जर्मनी र इटालीमा जस्तै फासीवाद आउने खतरा भएको बताउनुभयो ।
नेपाल पुँजीवादी अर्थतन्त्रमा प्रवेश गरिरहेको उल्लेख गर्दै प्राध्यापक प्रसाईले पुँजीवादको सङ्कट संसारमा भएको र नेपालमा पनि भएको बताउनुभयो ।
तर, प्राध्यापक प्रसाईले मजदुरवर्गले पुँजीपतिवर्गले उठाएको हतियार प्रयोग गरी पुँजीपतिवर्गलाई समाप्त पार्ने र एउटा मजदुर वा कम्युनिस्ट पार्टी पुँजीवादी सरकारमा जान नहुने विषय राख्नु भएन ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भन्नुभयो, “नेपालमा नेकाका बीपीको ‘बहुदलीय प्रजातन्त्र’ र एमालेको ‘जनताको बहुदलीय जनवाद’ बिच कुनै भिन्नता नहुँदा समाजवादउन्मुख समाज निर्माण ढिलो भएको उल्लेख गर्दै बेलायतको श्रमिक पार्टीले सन् १९४५ को चुनावमा संसद्मा बहुमत प्राप्त गरे तर सरकारमा गएर समाजवादी व्यवस्था लागु गरेन, पुँजीवादी बाटोमा लाग्यो । नेपालमा शासक दलहरूको संयुक्त निर्वाचन मोर्चा र संयुक्त सरकारसमेत विस्तारवाद र साम्राज्यवादको निर्देशनमा भइरहेको छ । अमेरिकी कानुन र नीति पालना गर्नुभएको सर्तसहितको अनुदान लिन एमसीसी सम्झौता गरियो । मजदुर आन्दोलनभित्र देखापरेको पुँजीवादी विचारकै कारण नेपालमा समाजवादउन्मुख काम नभएको हो ।”
उपसभामुख इन्दिरा रानाले नेपालमा माछा मारेर खाने होइन माछापालन गरेर खाने शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरू रामप्रकाश चौधरी, अमनलाल चौधरी, दामोदर बैरागी पौडेलगायतले बोल्नुभएको छलफलमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले पुँजीवादले मानव जातिको समस्या समाधान नगर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *