भर्खरै :

माक्र्स जयन्तीको अवसरमा अध्ययन गोष्ठी

माक्र्स जयन्तीको अवसरमा अध्ययन गोष्ठी

कैलाली, २५ वैशाख । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा २०६ औँँ माक्र्सको जन्म जयन्तीको अवसरमा मङ्गलबार अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले कार्ल माक्र्स संसारका कामदारवर्गका महान् गुरु, राजनीतिज्ञ, समाजशास्त्री, अर्थशास्त्री र वैज्ञानिक भएको बताउनुभयो । माक्र्सवादी सिद्धान्तको विकास भएको कारणले गर्दा संसारका कामदारवर्गले मुक्ति र सुख पाएको उहाँले बताउनुभयो । पुँजीपतिहरूले निर्वाचनमा जित्ने र सर्वहारावर्गले सङ्घर्ष र आन्दोलनमार्फत जित्ने उहाँले बताउनुभयो ।
नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ विचारधारा भएकोले माक्र्सलाई सम्झिनुपरेको उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थामा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा र मनोरञ्जनको ग्यारेन्टी हुन्छ भन्नुभयो ।
नेमकिपा कैलालीका जिल्ला अध्यक्ष रमेशकुमार रावलले कार्लमाक्र्सद्वारा प्रतिपादित सिद्धान्तअनुसार वर्ग रहेसम्म वर्गसङ्घर्ष चलिरहने बताउनुभयो । उहाँले कामदारवर्गको मुक्ति समाजवादी राज्य व्यवस्थामा हुने प्रस्ट पार्दै कामदारवर्गको मुक्तिका लागि माक्र्सले जीवनभर सङ्घर्ष गर्नुभएको बताउनुभयो ।
नेक्रामहिलासङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले माक्र्सवादी सिद्धान्त संसारमा लागु गर्न उहाँको जीवन सङ्गिनी जेनी माक्र्सको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै वर्गीय मुक्तिले मात्र कामदारवर्गका महिलाको मुक्ति हुने बताउनुभयो ।
नेमकिपा कैलालीका सदस्य ज्योति बडुवालले माक्र्सवादी सिद्धान्तअनुसार कामदारवर्गको मुक्ति भएको हो भन्नुभयो ।
नेमकिपा कैलालीका सदस्य धनबहादुर थापा मगरले माक्र्सको जीवनी अध्ययनबाट माक्र्सले पाएको दुःख कष्ट र सङ्घर्षबाट उत्साह र उत्प्रेरणा मिलेको बताउनुभयो ।
नेक्राशिसङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाहीले माक्र्सले नै कामदारवर्गको राज्य व्यवस्था हुन्छ भनी प्रमाणित गर्नुभएको कुरा उल्लेख गर्नुभयो । माक्र्सवादी सिद्धान्त लागु गर्नु हामी सबैको कर्तव्य भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका सदस्य तारा तिरुवा, नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेमबहादुर सिजापति, हिक्मत भण्डारी र नेमकिपा कैलाली सचिव गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *