भर्खरै :

राष्ट्रिय पत्रकारिता दिवस र आस्थाको पत्रकारिता

मुलुुक अन्योल, अस्थिर र भागबन्डाको राजनीतिमा भुलिरहेको बेला आमसञ्चार माध्यम र सञ्चारकर्मीको भूमिका अझ बढेको छ । शासकहरू विदेशी शक्ति राष्ट्रको पछि लागिरहेको, पद र पैसाको निम्ति राजनीतिलाई सेवा होइन कमाउने धन्दाको विकास भइरहेको सन्दर्भमा राजनीति देश र जनताको सेवा गर्न हो भन्ने भावना जगाउन र गलत राजनीति र गलत कार्यको खबरदारी गर्न पत्रकारिता आवश्यक छ । तर, देशमा रहेका सबै पत्रिकाले आस्थाको भूमिका निर्वाह गरिरहेका छैनन् । वर्गीय समाजमा पत्रकारिता पनि वर्गीय हुन्छ त्यसै भनिएको होइन । व्यवसायिक पत्रिका नाफाको निम्ति चलाइएको हुन्छ । नाफाको निम्ति चलाउने पत्रिका या पत्रकारिताले देश र जनताको सेवा गर्नुपर्छ, शोषण अन्त्य गर्नुपर्छ भनी प्रचार गर्दैन । उनीहरू पत्रकारिता स्वतन्त्र हुन्छन् भनी राजनीतिको ख्याल गर्दैनन् ।
व्यवसायिक पत्रकारिताले देश रहे पनि नरहे पनि वास्ता गर्दैन । नेपाली भूमि मिचे पनि, नेपाली भूमि डुवानमा पारे पनि त्यसको विरोध गर्दैन या आफ्नो देशभक्त नागरिकको कर्तव्य निर्वाह गर्दैन । व्यवसायिक पत्रकारिताले उद्योगपति वा व्यापारीसँग रक्सी, जाँड, चुरोट, कोकाकोलाजस्ता पेयपदार्थ र अन्य वस्तुको विज्ञापन लिएर केहीलाई रोजगारी दिन्छ र नाफालाई प्राथमिकता दिन्छ । सारमा, व्यवसायिक प्रचारमाध्यमहरू नाफाको निम्ति चलाइएको हुन्छ । त्यहाँ देश जोगाउने, बचाउने र जनताको सेवा गर्ने कुरा हुँदैन । उत्तरदायी र जिम्मेवार पत्रकारिता नगर्ने केही सञ्चार माध्यम र पत्रकारहरू पत्रकारिता स्वतन्त्र पेसा हो; राजनीति गर्दैन भनी पन्छिन्छन् । स्वस्थ पत्रकारिताको विकासको निम्ति सञ्चार माध्यम र पत्रकारलाई जिम्मेवार बनाउनुपर्छ । राज्यले प्रेस स्वतन्त्रताको संवद्र्धन गर्नुपर्छ । पत्रकारिता पेसालाई राष्ट्र र समाज प्रति उत्तरदायी र जिम्मेवार बनाउनुपर्छ । आस्था पत्रकारिता देश र जनताप्रति समर्पित हुन्छ† यसले देशमाथि हुने थिचोमिचोको विरोध गर्नुपर्छ । देशमाथि हुने थिचोमिचो, आक्रमण र अतिक्रमणको विरोध हुन्छ भने त्यहाँ पत्रकारिता कसरी स्वतन्त्र हुन्छ ?
विचार र अभिव्यक्ति स्वतन्त्रता नागरिकहरूको आधारभूत अधिकार हो । यसको संरक्षण र संवद्र्धन गर्नुपर्छ । मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यता या मानव हक अधिकार, सिद्धान्तको सम्मान गरिनुपर्छ । अशक्त, अपाङ्ग, महिला, पिछडिएको वर्ग, क्षेत्र, अल्पसङ्ख्यकवर्गको उत्थान र विकासमा सहयोग पु¥याउनुपर्छ । बहुभाषिक, बहुधार्मिक र बहुजातीय मुलुक नेपालको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जातजाति वा सम्प्रदायहरूको बिचको सम्बन्धमा खलल पार्ने काम पत्रकारिताले गर्नु हुँदैन । सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पु¥याउने काममा पत्रकारिता फस्नु हुँदैन । आस्थाको पत्रकारिताले यस्तो कार्य गर्दैन या यस्ता खबरहरूलाई प्रोत्साहन गर्दैन । यसकारण, आस्थाको पत्रकारिता गरिएन भने देशमा जस्तो सङ्कट परे पनि वास्ता गर्दैन । समाजमा देखिएका विकृतिको अन्त्य गरेर आदर्शोन्मुख समाज गठनमा चासो राख्दैन । नाफाको निम्ति जे पनि प्रचार गर्ने, समाचार र लेख छाप्ने पत्रकारिताले देशमा न न्यायको निम्ति आवाज उठाउँछ न त समानताको कुरा उठाउँछ ।
नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा वैशाख २४ गते नेपालमा पहलो समाचारमूलक पत्रिका साप्ताहिकरूपमा गोरखापत्र प्रकासन सुरू भएको सन्दर्भलाई लिएर सरकारले २०७३ देखि नेपालमा राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । यो वर्ष ‘सूचनामा नागरिकको पहुँच र अधिकार, जवाफदेही पत्रकारिता सुरक्षित पत्रकार’ भन्ने नारा तय गरिएको छ । हो, राजनीतिक अधिकारबिना प्रेस स्वतन्त्रता सम्भव हुँदैन । राजनीतिक अधिकार पाउन पनि पत्रकारिताको महत्वपूर्ण देन हुन्छ । जनताको अवस्था बदल्न दलको मात्र होइन नेपाली पत्रकारिताको निम्ति सहयोग हुन्छ । पत्रिका कुनै दल विशेषको प्रचार नगरे पनि यी राजनीतिबाट अलग हुनसक्दैन । हो, पत्रकारिताले मिथ्या र भ्रामक सूचना प्रवाह गर्नुहुँदैन । देशविरोधी र जनविरोधी काम गर्ने सत्तासीन दल या अन्य दलले जे गरे पनि टुलुटुललु हेरेर बस्नु हुँदैन । त्यसबारे आम सञ्चार या पत्रकारले बोल्नुपर्छ, लेख्नुपर्छ । यस वर्षको नवौँ राष्ट्रिय पत्रकारिता दिवसले यही प्रेरणा या सन्देश छरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *