भर्खरै :

विश्वविद्यालयहरूमा अध्ययन, अनुसन्धान र प्राज्ञिक छलफल गरी नीति निर्माणमा सहयोग गर्नुपर्नेमा जोड

विश्वविद्यालयहरूमा अध्ययन, अनुसन्धान र प्राज्ञिक छलफल गरी नीति निर्माणमा सहयोग गर्नुपर्नेमा जोड

भक्तपुर, २ जेठ । भक्तपुर नगरपालिकाको आयोजना तथा त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति र कला केन्द्रीय विभागको सहकार्यमा गत वैशाख २५ गते सम्पन्न भक्तपुरको कला, संस्कृति र पर्यटन विषयक अन्तरक्रिया कार्यक्रमको बुधबार समीक्षा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नेपाली युवाहरूलाई स्वदेशमै अध्ययन अनुसन्धान र रोजगारी दिने विषयमा सरकारको ध्यान नजाँदा युवाहरू विदेश पलायन भइरहेको बताउनुभयो । भूगोल, इतिहास, कला, संस्कृति, राजनीतिशास्त्रजस्ता महत्वपूर्ण विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू न्यून भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले विश्वविद्यालयहरूमा अध्ययन अनुसन्धान र प्राज्ञिक छलफल गरी नीति निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाहरू विश्वकै सम्पत्ति भएको चर्चा गर्दै नगरपालिकाले कला, संस्कृति र सम्पदा पुनःनिर्माण तथा नयाँ पुस्तामा सीप हस्तान्तरण प्रक्रियालाई प्रोत्साहित गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले विद्यालय तहमा स्थानीय पाठ्यक्रममार्फत नयाँ पिँढीलाई भक्तपुरको इतिहास, संस्कृतिबारे पढाइरहेको तथा उच्च तहमा अध्ययनरत विद्यार्थीहरूलाई नगरपालिकाले छात्रवृत्ति र शैक्षिक ऋण प्रदान गरिरहेको जानकारी गराउनुभयो ।
त्रिवि नेपाली इतिहास, संस्कृति र कला केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले विश्वविद्यालयलाई समुदायसम्म पु¥याउने अभियानअन्तर्गत नगरपालिकासँग सहकार्य गरेर अध्ययन अनुसन्धान गराइरहेको बताउनुभयो । छोटो समयमा व्यवस्थित कार्यक्रम गरी उच्च तहका व्यक्तित्वहरूको उपस्थितिमा व्यापक सहभागितासहित कार्यक्रम भएकोमा नगरपालिकाप्रति उहाँले धन्यवादज्ञापन गर्नुभयो ।
उहाँले विश्वविद्यालयमा भक्तपुरको कला, संस्कृतिसँगै पर्यटन उद्योगबारे पनि पाठ्यक्रममा उल्लेख गरिएको प्रस्ट पार्दै यहाँका सांस्कृतिक पक्षलाई विश्वसामु चिनाउन विश्वविद्यालय र नगरपालिकाबिच सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरको कला संस्कृति र पर्यटनको विषयमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन त्रिविको तर्फबाट नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *