भर्खरै :

कोरा भक्तपुरको चौथो संस्करणको तयारी सुरु

कोरा भक्तपुरको चौथो संस्करणको तयारी सुरु

भक्तपुर, ८ जेठ । कोरा भक्तपुरको चौथो संस्करणको तयारी सुरु भएको आयोजक साइकल कनेक्ट भक्तपुरले जनाएको छ । यस वर्षको कोरा जुलाई २० तारिख (साउन ५ गते) मा हुने तय गर्दै आयोजकले फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेको हो ।
५० किमी, ७५ किमी र १०० किमीको रूटमा गरिँदै आएको कोरा साइकलिङ च्यालेन्जमा यस वर्ष २५ कि.मीको नयाँ रूट पनि समावेश हुनेछ । साइकल कनेक्ट भक्तपुरको विभिन्न कार्यक्रमका सहभागी तथा शुभचिन्तकहरूबाट प्राप्त सुझावको आधारमा सुरुवाती साइकल यात्रीहरूको सहजताको निम्ति २५ किमीको रूट थप गर्ने साथै ५० किमी र ७५ किमीको रूट परिमार्जन गर्दै भक्तपुरको थप भौगोलिक तथा सांस्कृतिक विविधतालाई समेट्ने निर्णय भएको आयोजकले जनाएको छ । करिब ६०० साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको गत वर्षको सफलतालाई हौसलाको रूपमा ग्रहण गर्दै यस वर्ष अझ व्यापक सहभागिताको लागि अहिलेदेखि नै तयारी सुरु गरेको साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले बताउनुभयो ।
कार्यक्रमको व्यापक प्रभावलाई जोड दिँदै आयोजक भन्छ, “भक्तपुर साइकलिङको लागि प्राइम लोकेसन हो । कोरा भक्तपुरको रूट नेपालभरिमा सबैभन्दा चुनौतीपूर्ण रूटमध्ये मानिन्छ । नेपालको सबैभन्दा सानो जिल्ला भए पनि भक्तपुरमा छोटो दुरीमा नै हामीले विभिन्न सांस्कृतिक तथा भौगोलिक विविधता देख्न पाउछौँ । यसले गर्दा कोरा भक्तपुरमा नेपाल भित्र र बाहिरबाट पनि उत्साहपूर्ण सहभागिता हँुदै आएको छ भन्ने हाम्रो बुझाइ हो ।”
काठमाडौँबाट २०११ मा सुरु भएको कोरा च्यालेन्ज, साइकल कनेक्ट भक्तपुरको आयोजनामा २०२१ देखि भक्तपुरमा सुरु गरिएको हो । गत वर्ष नेपालको १३ जिल्लामा एकसाथ कोरा च्यालेन्ज आयोजना गरिएको थियो । भक्तपुरमा कोरा च्यालेन्जमार्फत साइकल संस्कृतिको विकास गर्दै साहसिक साइकल पर्यटन तथा स्थानीय जनजीवनमा नियमित कसरतको महत्व उजागर गर्ने प्रयास हँुदै आएको छ । कोरा भक्तपुरको मुख्य उद्देश्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जानु रहेको छ ।
कोरा च्यालेन्ज आयोजना गर्नुको दीर्घकालीन अवधारणाबारे टिप्पणी गर्दै अध्यक्ष बाला भन्नुहुन्छ– “दीर्घकालीन रूपमा साइकललाई साइकलमात्र नभई सामाजिक तथा आर्थिक रूपमा पनि एक अभिन्न अङ्गको रूपमा स्थापित गर्न हामी तत्पर छौँ । गाडी केन्द्रित विकास मोडलभन्दा मानव केन्द्रित विकास मोडल ‘पैदल र पेडल मैत्री सहर’ को अवधारणाको निम्ति यो कार्यक्रम एक सुरुवाती कोसेढुङ्गाको रूपमा उभिने विश्वास हामीलाई छ ।”

One response to “कोरा भक्तपुरको चौथो संस्करणको तयारी सुरु”

  1. RAJ G says:

    kahile ho kora 2024 date

Leave a Reply

Your email address will not be published. Required fields are marked *