कुरीति र अन्यायको बारेमा चुप नलाग्ने हाम्रो आफ्नै परम्परा छ
- कार्तिक १, २०८३
व्यङ्ग्य
“म पुँजीवादी हुँ… ।”
आश्चर्य लाग्ने, सामाजिक देखिन अनेकथरी खोल ओढ्ने पुँजीपतिहरूको कुरा एकातिर र राज दाइ अर्कोतिर । पुँजीपतिहरू नै आफूलाई पुँजीवादी भन्न डराइरहेको बेला उनी पुँजीवादी हुनुमा गर्व गर्छन्, पुँजीवादको खुलेर प्रशंसा गर्छन् । राज दाइ ‘कटु सत्य’ बोल्ने मान्छे हुन् । उनी आफ्नो सत्यलाई चौबिस क्यारेट सही ठान्छन् ।
राज दाइ अध्ययनशील व्यक्ति हुन् । नपत्याए उनको अफिस गएर हेर्नुस् । हेर्नुस् त्यहाँ उनको पुस्तक राख्ने दराज । आजभोलि बजारमा छ्यापछ्याप्ती बिक्ने ‘हाउ टु…’ शीर्षक गरेका पुस्तकहरू भरिभराउ छन् त्यसमा । फुर्सद पायो कि ती पुस्तक उनी खुब स्वाद लिएर पढिहाल्छन् ।
राज दाइ आफूलाई ‘कृष्णभक्त’ भन्छन् । तर, ‘अरू कृष्णभक्त’ भन्दा नितान्त भिन्न ‘कृष्णभक्त’ । आफूलाई सामान्य भन्ने उनको बानी नै छैन । उनी ओशोका पनि ठूलै फ्यान हुन्; कम्तीमा मुखले त्यसै भन्छन् । सबै जोडजाड गरेर भन्दा राज दाइ आफूलाई आध्यात्मिक मान्छन्, ईश्वरमा लीन एक साधक ठान्छन् ।
यहाँनिर अर्को झट्का लाग्छ । राज दाइ आफ्ना बाआमालाई घृणा गर्छन् । उनीहरूलाई ‘पाखे’ भन्छन् । कारण गजबको छ – उनका बाआमा छन् काम नगरी बस्न नसक्ने । आमाले घरआँगनको करेसाबारीमा लसुन, प्याज रोपेकी छिन् । राज दाइ आफ्नो छोराको पास्नीका लागि बारी भत्काएर टेन्ट ठडाउने सोचमा छन् । सायद चाँडै बारीको प्याज, लसुन कतै मिल्काउँदै छन् ।
राज दाइ सेयर बजारका जल्दाबल्दा लगानीकर्ता हुन् । उनको विचारमा ‘सेयर बजार एकदमै सुन्दर छ… ।’ हालसालै एउटा गाडी किनेर फेसबुकमा फोटो राखेका छन् । सेयर बजारको ‘जादु’ ले उनी दङ्ग छन् । यो कुरा पढ्दै गर्दा राज दाइ पुँजीपति हुन् भनेर नझुक्किनुहोला नि ! उनी उदाउँदो मध्यम वर्गीय हुन् । तर उनको सपना छ पुँजीपति बन्ने । त्यसैले त उनी भन्दै हिँड्छन्, “म पुँजीवादी हुँ… ।”
आखिर पुँजीवादी बन्न पुँजीपति नै हुनुपर्छ भनेर कतै लेखेको छ र ?!
Leave a Reply