भर्खरै :

श्रम र कच्चा सामान निर्यात गरेर देश विकास नहुने

श्रम र कच्चा सामान निर्यात गरेर देश विकास नहुने

काठमाडौँ, १० जेठ । टोखाका अगुवा किसान कार्यकर्ताहरूले बिहीबार भक्तपुर नगरको भ्रमण गर्नुभयो । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नयाँ पुस्तालाई राजनैतिकरूपले सचेत बनाउन नसके देशको अस्तित्व नै समाप्त हुने खतरा हुनेतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा पृथ्वीनारायण शाहको आक्रमणपछि नेपालको विकासमा अवरोध पैदा भयो । शिक्षा प्राप्त गर्ने अवसरबाट जनता वञ्चित भए । बहुदलीय व्यवस्थाको पुनःस्थापना र गणतन्त्रको स्थापनायता पनि सरकारमा गएकाहरूले जनतालाई उत्पादन श्रमसँग जोडिएको गुणस्तरीय शिक्षा दिन सकेनन† जसोतसो शिक्षा पाएकाहरूलाई वैदेशिक रोजगारीमा पठाए । श्रम र कच्चा सामान विदेश पठाएर देशको विकास हुनसक्दैन । नेपालमा रोजगारी दिएर यहाँकै कच्चा सामान प्रयोग गरी उद्योगधन्दाको विकास र निर्यात बढाउन जरूरी छ ।”
सांसद सुवालले भन्नुभयो, “सरकारमा गएका पार्टी र मन्त्रीहरूले भ्रष्टाचार नियन्त्रण गर्न सकेनन् । आम सञ्चारको हरेक दिनको समाचारमा भ्रष्टाचारका समाचारहरू भरिएका छन् । भ्रष्टाचारीहरू एउटै जाति र भाषाका बढी भएको थप आश्चर्यको विषय हो । नेपालीलाई दुःख सिंहदरबारमा शासन गर्न गएका प्रधानमन्त्री र मन्त्रीहरूको असक्षमताको कारण भएको हो । ”
एउटा मजदुर वा कम्युनिस्ट पार्टी निर्वाचनबाट पुँजीवादी सरकारमा गएर देशमा मौलिक परिवर्तन र व्यापक जनताको हित नहुनेतर्फ नेमकिपा स्पष्ट रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सामन्तवादविरूद्ध पुँजीपतिवर्गले प्रयोग गरेको शान्तिपूर्ण र सशस्त्र दुवै उपायबाट पुँजीवादी सरकारलाई उखेलेपछि मात्र मजदुरवर्गको उन्मुक्ति हुनेछ ।”
सांसद सुवालले भन्नुभयो, “संसारका क्रान्तिकारीहरूको जीवनी अध्ययन गराएर नयाँ पुस्तालाई तयार गर्नु आवश्यक छ । नयाँ पुस्तालाई पढाउने योग्य र समर्पित शिक्षक बनाउनु जरूरी छ । घर बलियो बनाउन जग नै बलियो हुनुपर्दछ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार कला, संस्कृति र सम्पदा संरक्षणका साथै अस्पताल र कलेजहरू सञ्चालन गरी जनताको सेवा गर्दै आएको बताउनुभयो ।
देश र जनताको सेवा गर्नेबाहेक नेमकिपाकोे अरू कुनै स्वार्थ नभएकोले हरेक काम जनताको बिचमा गएर पारदर्शीपूर्वक गर्दै आएको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “राजनीतिक पार्टीहरूले बाचा गरेअनुसार काम नगर्नु, जनतालाई लोभ लालच, झूटा आश्वासन दिनु, डर त्रास देखाउनु, निर्वाचनमा पैसा बाँड्नु राजनीतिक संस्कारको आचरणविपरीत छ । सरकारमा गएका पार्टीहरूले भनपाले जस्तै शिक्षा स्वास्थ्यलगायतको माध्यमबाट सेवा गरे जनताले राहत महसुस गर्नेछन् ।”
कोभिडको समयमा भक्तपुर नगरपालिकालाई जनताले विश्वास गरी अक्सिजन प्लान्ट जडान गर्न सहयोग गरेको स्मरण गर्दै उहाँले भनपाले घरघरमा नर्सिङ सेवालगायतका स्वास्थ्य सेवाहरू नगरवासीलाई प्रदान गर्दै आएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले भक्तपुर नमुना नगरको रूपमा विकास हुन सक्नुमा नेमकिपाका जनप्रतिनिधिहरूको राजनैतिक इमानदारिता नै हो भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले अध्ययन भ्रमणबाट भक्तपुर नगरको कला, संस्कृति र सम्पदाका साथै नेमकिपाले गर्दै आएको कार्य र अभ्यासबारे जानकारी प्राप्त हुने अपेक्षा गर्नुभयो ।
उहाँले राम्रो, असल कुरा र सिद्धान्त सिकेर व्यवहारमा उतार्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा टोखा नगर समितिका अध्यक्ष शोभालाल श्रेष्ठ र जीपी लासिवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *