भर्खरै :

सम्झनामा बझाङ यात्रा

सम्झनामा बझाङ यात्रा

२०८१ वैशाख १५ गते हुने सुदूरपश्चिम प्रदेशसभाको उपनिर्वाचनका लागि बझाङ जाने अवसर पाउँदा अत्यन्त खुसी भएँ । जुम्ला, दैलेख, कालीकोट, भक्तपुर, सुर्खेत, काठमाडौँ, ललितपुर, कैलाली र कञ्चनपुरका साथीहरूको टोली वैशाख ७ गते बझाङको सदरमुकाम चैनपुर पुग्यौँ । हाम्रो लागि निर्वाचन एउटा अवसर पनि थियो– जनताबिच समाजवादी गणतन्त्र प्रचार अभियान सञ्चालन गर्ने र नेपाल मजदुर किसान पार्टीको उद्देश्य र कार्यक्रमबारे कामदार जनताका बिचमा पु¥याउने । यस अर्थमा हामी निकै उत्साहित थियौँ ।
हाम्रो उपस्थितिले बझाङमा एक प्रकारको तरङ्ग सृजना ग¥यो । सर्वसाधारण जनता हामी देखेर खुसी नै थिए तर शासक दलका कार्यकर्ताहरूलाई हाम्रो उपस्थिति मन परेको थिएन । नेपाल मजदुर किसान पार्टीलाई आलोचना गर्ने विषय नपाएपछि शासक दलका कतिपय उम्मेदवारहरू काठमाडौँमा घरजम गरी जिल्लामा उठेर निर्वाचित भएको जानकारी गरायौँ । उम्मेदवारको क्षेत्रभन्दा पनि पार्टीको सिद्धान्त महत्वपूर्ण हुने बतायौँ । उनीहरू बझाङवासीलाई उम्मेदवार नबनाएको कैलालीको मान्छेलाई उठाएको कुरा गर्थे । हामी सन्तुलित जवाफ फर्काउँथ्यौँ । “सुदूरपश्चिम प्रदेशसभामा बझाङवासी जनताको वास्तविक समस्या उठाउन र समाधानका लागि सम्बन्धित ठाउँमा पुग्न हाम्रो उम्मेदवार सक्षम हुनुहुनेछ । हाम्रो उम्मेदवार जितेमा बझाङवासी जनताकै बिचमा बस्नुहुन्छ, प्रदेश राजधानी र सङ्घीय राजधानीमा घर बनाएर उतै हराउनु हुन्न ।”
हामी बझाङका विकट गाउँहरूमा पनि पुग्यौँ। जहाँका जनताले ठूलो गाडीसमेत देखेका थिएनन् । छबिसपाथिभेरा गाउँपालिकाको बान्नेचौर भन्ने ठाउँसम्म यसअघि साना गाडीहरू मात्र पुगेका रहेछन् । हाम्रा गुरुजी युवा र जोशिलो हुनुहुन्थ्यो । उहाँले सरसरती बाटोको अवस्था बुझेर गाउँसम्म नै ठुलो गाडी लाने साहस देखाउनुभयो । ग्रामीण भेगका जनता अत्यन्त हर्षित र अचम्मित देखिन्थे । हामीले ‘मादल’ मा भोट माग्न थाल्यौँ ।
त्यसदिन पाथिभेरामा चैतली मेला लाग्ने भएकोले ठाउँ–ठाउँमा मानिसहरूको हुल भेटिएका थिए । भिड भएको ठाउँमा हामी कोणसभा गरिहाल्थ्यौँ र समाजवादको प्रचार गथ्र्यौँ । सबैले उत्सुकतापूर्वक हाम्रो कुरा सुन्थे । तर, कम्युनिस्टको खोल ओढेको नेकपा एमालेका कार्यकर्ताहरू त्रसित देखिन्थे । उनीहरू भन्थे, ‘‘भक्तपुरमा राज गरेको नेमकिपा यहाँ पनि पुगेछ ! हाम्रो जात्रा भाँड्न आए ।” वास्तवमा हामीले जात्रालाई उपयोग मात्र गरेका थियौँ । जनता जहाँ हुन्छ, त्यहाँ जनताको कुरा गर्नुपर्छ भन्ने मान्यता हो हाम्रो । एमालेका कतिपय कार्यकर्तालाई नेमकिपा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा स्पष्ट अडान भएको पार्टी हो भन्ने थाहा रहेछ ।
तलकोट गाउँपालिकामा चुनावी प्रचारमा पुग्दा त्यहाँका सोझासिधा जनता घरदैलोसम्म भोट माग्न आएकोमा खुसी हुँदै भन्थे, ‘‘अहिलेसम्म कोही पनि यसरी चुनावमा हाम्रो घरदैलो पुगेको छैन । तपाईंहरू टाढाबाट आउनुभयो; मिठो कुरा गर्नुभयो; गीत पनि गाउनुभयो । मादलको कुरा मन प¥यो ।’’
त्यहाँका जनताको मुख्य समस्या भनेको शिक्षा र स्वास्थ्य उपचारको अभाव रहेछ । खानेपानीको पनि चरम अभाव देखियो । बाटो त नाम मात्रको ! डोजर ‘ड्रात्र’ त ‘भगवान्’ जस्तै थिए† डोजरले भिरपाखा फोडेपछि बाटो बन्यो !


खप्तडछान्ना गाउँपालिकामा पुग्दा मानिसहरूको जमघट भइरहेको थियो । मिनु गिरी दाइको कुलघर भएको हुँदा उहाँका आफन्त र केही युवाले हामीलाई सहयोग गर्नुभयो । तीन ठाउँमा चुनावी प्रचारप्रसार र कोणसभा भयो । हाम्रो कुराले उहाँहरू खुसी हुनुभयो र आफैले पनि ‘मादल’ को प्रचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, तलकोट गापाको मेलबिसौना भन्ने गाउँमा पुग्दा हामीलाई स्थानीय दिदीबहिनीहरूले आत्मीय स्वागत गर्नुभयो । स्थानीय चामल र अल्लोको तरकारी पनि खुवाउनुभयो । वरपरका छिमेकीहरूलाई खबर पठाई भेला पनि राख्नुभयो । हामीलाई निकै सहज महसुस भयो । उहाँहरूको बिचमा हामीले नेपाल मजदुर किसान पार्टीको विषयमा विस्तृत जानकारी दिई मादलमा भोट माग्यौँ ।
बझाङका जनता अत्यन्त सरल र गरिब छन् । उनीहरूमा राजनैतिक चेतना छैन । रोजगारीका लागि भारतलगायतका विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । त्यसैले ‘पढेर के पो गर्ने हो र ?’ भन्ने भावना छ । चुनावको समयमा शासक दलका नेता–कार्यकर्ताहरूले एक छाक खाना, एक जोर लुगा र फोस्रा आश्वासन दिएर सहजै भोट किन्छन् । डर, त्रास र लोभमा त्यहाँका जनताले आप्mनो अमूल्य भोट साट्छन् । भन्नलाई त ‘सबैलाई हेरिसक्यौँ, अब तपार्इंहरूलाई हेर्छौँ भन्थे तर मत कसैको दबाब र प्रभावमा हालेको देखिन्छ । यसमा विचरा गरिब जनताको के दोष ? सधैँभरि अँध्यारोमा राख्ने शासक दलका नेता कार्यकर्ताहरू नै वास्तविक दोषी हुन् ।
यो पटक नेपाल मजदुर किसान पार्टीले बझाङमा पार्टीको बीउ छरेको छ । यसलाई बोटको रूपमा हुर्काउन र स्याहार सुसार गर्न बारम्बार हामी पुग्न आवश्यक छ । त्यसो भएमा समाजवादको अवश्य फल लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *