भर्खरै :

सत्तासीन दलका नेताहरूमा विश्वासको सङ्कट

सरकारको नेतृत्व गर्ने शासकहरूको जिम्मेवारी भनेको समाजवादउन्मुख राज्यको अवधारणाबमोजिम नीति तथा कार्यक्रम बनाई समुन्नत देश बनाउनु हो । सत्तासीन दलका नेताहरू निहित स्वार्थभन्दा माथि उठेर देश र जनताको विकास र सेवामा नजुटिकन अवसरवादी बने, संशोधनवादी भए, विश्वासघाती भए, देशविरोधी र जनविरोधी बने । सत्तासीन दलका नेता, मन्त्री र सांसदहरूको कार्यशैली, व्यवहार हेर्दा उनीहरूले आ–आफ्नो दायित्व या जिम्मेवारी भुलेका छन्, भुलेर कमाउधन्दामा लागेका छन् । देश जोगाउने र बनाउने भन्दा सरकारमा जान भागबन्डा गर्ने; भागबन्डामा लागेर शक्ति, सत्ताको दुरूपयोग गर्ने शासकहरूको दिनचर्याले राजनीतिमा विकृत देखिएको हो । सके सत्ता र शक्ति र नसके आर्थिक लाभ लिने, अपराधबाट जोगिने काममा लाग्दा नेपाल बेथितिहरूको जस्तो देश बनेको छ । शासक र ठुला दलका नेताहरूको राजनीतिको मूल्याङ्कन गर्दा उनीहरू सिद्धान्त, विचार र नीतिमा अडेका छैनन् भन्ने थाहा हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालमा हतियार उठाएर युद्ध गर्दाको हुङ्कार अहिले पनि घटेको छैन । आफू प्रम भएर अन्य ठुलो दललाई सहयोग गरेको उनले बारम्बार दोहो¥याइरहेका छन् । विगतमा एमाले र नेकाले निर्वाचनमा सहयोग नगरेका भए या गठबन्धन नगरेका भए माओवादीको स्थिति अझ दयनीय हुनेमा शङ्का छैन† अहिलेको जस्तो दम्भ गर्ने आँट हुनेछैन । नेका र एमालेले सघाएकै कारण माओवादीको हालको स्थितिमा पुगेको हो । जुन दलका काँधमा टेकेर आफू उक्ले, तिनै दललाई माओवादीले धोका दिए । गएको निर्वाचनमा नेकासँग गठबन्धन गरेर माओवादी तेस्रो दल भएको हो । त्यही दललाई माओवादीले धोका दियो† जसरी हिजो एमालेलाई धोका दिएको थियो । यसरी माओवादीले छिनछिनमा बचन र अडान छोड्यो या विश्वासघात ग¥यो । यस अर्थमा माओवादी अध्यक्ष अडान नभएका, सिद्धान्त र विचारलाई बन्धक राख्ने विश्वासघाती होइन कसरी भन्ने ?
विश्वासघाती र अवसरवादी प्रम दाहालले संसद्मा गर्जेर, अरू दललाई थर्काएर के उनी सच्चा र इमानदार बन्छन् ? के संसद्मा गर्जेर, अरू दलका नेताहरूलाई थर्काएर आफूले गरेको विश्वासघात मेटिएर जान्छ ? के आफूले गरेको दल र नेताहरूप्रतिको अविश्वास घट्छ ? कुनै दलको बहुमत प्राप्त नहुँदा मिलेर सरकार गठन गर्नु एउटा पाटो हो भने धोका दिनु या विश्वाासघात गर्नु अर्को पाटो हो । यसरी व्यक्तिनिहित सत्तामोह र भागबन्डाकै कारण दलहरूमा टुटफुट, विभाजन तथा गुटउपगुट देखिएको हो । यही कारण राजनीतिमा अस्थिरता भएको हो† प्रदेश र सङ्घमा पटक पटक सरकार हेरफेर भइरहेको हो । राजनीतिलाई जीवनपद्धति र संस्कारको रूपमा अघि नबढाउँदा यो समस्या देखिएको हो । शासकहरूको गैरजिम्मेवारीको कारण देशले दुर्दशा भोगिरहेको हो । सरकारको यस्तै कमजोरीको फाइदा उठाएर विदेशी शक्ति राष्ट्रहरूले आफू अनुकूलको सरकार टिकाउन र बनाउन आन्तरिक र बाहिरिया शक्तिको चलखेल बढेको हो । बाह्य शक्ति राष्ट्रहरूको चलखेलले नै देश अरूको उठबसमा चलिरहेको हो ।
शासकहरूमा देश र जनताको निम्ति इच्छाशक्तिको भावना कसरी कमजोर भयो ? मुलुकप्रतिको बफादारिता र इमानदारिता खोइ ? देश नेतृत्व गर्ने शासकहरूको काम बिगार्नेलाई सपार्ने हो; प्रोत्साहन दिएर खुसी पार्ने होइन; खुसी पार्न पार्टीमा भित्याउने होइन । शासकहरूले दलको उद्देश्य र विधान भुलेको हुँदा आपराधिक क्रियाकलाप र अनियमितता बढेको हो । शासकहरूको नियत नै सफा नभएपछि सरकारले गर्ने काम कारबाही कसरी सफा हुन्छ ? सरकारमा जान या सरकारको नेतृत्व गर्न जे पनि गर्न पाउने छुट सम्झनु, जे गरे पनि मान्य हुने ठान्नु, मुलुक र जनतालाई केन्द्रबिन्दु नठानी दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्नु सत्तासीन नेताहरूको कमजोरी हो या दुर्वल पक्ष हो ।
निर्वाचनताका जनतालाई प्रलोभनमा पारेर जित्ने र जितेर सरकारमा जाने दलका नेताहरूले प्रतिबद्धताअनुसार काम गर्ने कि सरकार बनाउने र गिराउने कसरतमा लाग्ने ? दलको स्वार्थको घेरा तोडेर शासकहरू देश र जनताको हितमा लाग्नुपर्दैन ? कमसेकम सरकारले देशको संविधान कार्यान्वयन गर्न समाजवादउन्मुख राज्यको अवधारणाअनुसार सरकारी नीति तथा कार्यक्रम र बजेट तयार गर्न पहल गर्नुपर्छ । गणतान्त्रिक सरकार बनेको दशक समय हुन लाग्दा पनि व्यवहारतः समाजवादउन्मुख राज्य सरकारको कमजोरी होइन ? सरकार आफ्नो दायित्वबाट पन्छिनु होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *