भर्खरै :

परिवर्तनको लागि कामदारवर्गको राजनीतिक पार्टीको नेतृत्वमा अपरिहार्य

परिवर्तनको लागि कामदारवर्गको राजनीतिक पार्टीको नेतृत्वमा अपरिहार्य

भक्तपुर, १६ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ, मध्यपुर नगर समितिको युवा भेला मङ्गलबार मध्यपुर थिमिमा सम्पन्न भयो ।
विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०६ औँ जन्म दिवसको सन्दर्भमा आयोजित युवा भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले माक्र्स र एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्रको गहन अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले माक्र्सले दर्शनको दरिद्रता भन्ने पुस्तकमा संसारको व्याख्यामात्र गरेर नपुग्ने बरु संसारको आमूल परिवर्तन गर्नु नै मुख्य उद्देश्य हुनुपर्ने लेखेको भन्दै परिवर्तनको निम्ति कामदारवर्गको राजनीतिक पार्टीको नेतृत्व अपरिहार्य भएको भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले कम्युनिस्ट नामधारी पार्टीको नेतृत्वमा बनेको सरकारले शिक्षा बजेट चालु आर्थिक वर्षको भन्दा कम प्रतिशत छुट्याएको उल्लेख गर्दै भन्नुभयो, “चालु आवमा ११.२६ प्रतिशत शिक्षा बजेट छ । आगामी आवको निम्ति १०.९ प्रतिशतमात्र छुट्याइएको छ ।” अन्तर्राष्ट्रिय मञ्चहरूमा २० प्रतिशत बजेट शिक्षाको निम्ति छुट्याउने प्रतिबद्धता व्यक्त गर्ने मन्त्रीहरूले कहिल्यै शिक्षालाई प्राथमिकतामा नराखेको भन्दै उहाँले शासकहरूको बदमासीलाई नङ्ग्याउनुपर्ने विचार राख्नुभयो । केस गोसाईले नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप निम्त्याउने शासक दलहरूलाई दण्डित नगरेसम्म नेपाली जनताको भलो नहुने तर्क गर्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ, केन्द्रीय समितिका अध्यक्ष मिनबहादुर बाटा, संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाश्रेष्ठ, मध्यपुर नगर समितिका उपाध्यक्ष वीरकृष्ण प्रजापति, मध्यपुर नपा, वडा नं ८ का वडाध्यक्ष रमेश थापाश्रेष्ठ, आयोजक समितिका राजु कैती, रुकेश कर्माचार्यलगायतले कार्ल माक्र्स र युवाको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो । भेलाले सुरेन्द्र थाश्रेष्ठको संयोेजकत्पमा २३ सदस्यीय सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *