भर्खरै :

गणेश माध्यमिक विद्यालयमा नव–आगन्तुक विद्यार्थीलाई स्वागत

गणेश माध्यमिक विद्यालयमा नव–आगन्तुक विद्यार्थीलाई स्वागत

भक्तपुर, १८ जेठ । गणेश माध्यमिक विद्यालय, भार्वाचोेले शैक्षिक सत्र २०८१ मा भर्ना भएका नव आगन्तुक विद्यार्थी तथा विद्यालयमा नवप्रवेशी शिक्षकहरूलाई शुक्रबार स्वागत गरेको छ ।
भक्तपुर नगरपालिका वडा नंं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर ज्ञान विज्ञानको केन्द्र बन्दै गएको चर्चा गर्दै भक्तपुरका सामुदायिक विद्यालयहरू देशकै लागि नमुना बनिरहेको बताउनुभयो ।
भक्तपुरका सामुदायिक विद्यालयहरूले शैक्षिक, सामाजिक, खेलकुदलगायतका अन्य पक्षहरूमा आएको सुधारसँगै शिक्षा क्षेत्रमा सरकारको लगानीको अपरिहार्यता बढेको बताउनुभयो ।
विद्यालयका संस्थापक सदस्य एवं विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्णबहादुर दुगुजूले विद्यालयको स्थापनाकालदेखि स्थानीय जनताबाट आर्थिक, भौतिक सहयोग प्राप्त भएको इतिहास स्मरण गर्दै विद्यालयको प्रगतिमा स्थानीय जनता, शिक्षक, कर्मचारी तथा अभिभावकहरूको आपसी सहकार्यको आवश्यकता रहने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले विद्यालयले कामदारवर्गका छोराछोरीहरूलाई उत्कृष्ट शिक्षा दिँदै आएको र अभिभावकले विद्यालयको कमीकमजोरी केलाउँदै महत्वपूर्ण सल्लाह सुझाव दिनुहुन अनुरोध गर्नुभयो ।
विव्यसका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शैक्षिक इन्चार्ज लक्ष्मीसुन्दर सुवालले स्वागत गर्नुभयो भने विद्यार्थीद्वय विनिशा सकिजु र विपना दर्लामीमगरले पनि बोल्नुभयो ।
औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूले विभिन्न प्रतिभा देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *