भर्खरै :

जोनाथन लिभिङस्टोन सीगल : जीवनलाई फरक ढङ्गले बाँच्न सिकाउने कृति

जोनाथन लिभिङस्टोन सीगल : जीवनलाई फरक ढङ्गले बाँच्न सिकाउने कृति

सन् १९७० मा रिचर्ड ब्याकले अद्भूत कथामा आधारित भएर छोटो उपन्यास तयार पारे ‘जोनाथन लिभिङस्टोन सीगल’ । यो कथा सीगलहरूको (समुद्री चरा) बारेमा छ । सीगलहरूको बथान जसको जीवनको प्रमुख लक्ष्य नै खाना थियो । बिहान डुङ्गाबाट दिएको माछा र पाउरोटीका टुक्राहरूको लागि तँछाडमछाड गर्दै एक अर्कासँग झैझगडा गर्ने सीगलहरूको बिच जोनाथन लिभिङस्टोन नामको सीगल तीव्रगतिमा उड्न सिक्नुलाई जीवनको लक्ष्य मानेर सो प्राप्तिको लागि टाढा एक्लै अभ्यास गरिरहन्थ्यो । तर, यही कुरा त्यो बथानको अन्य सीगललाई चित्त बुझेको थिएन वा भनौँ उनीहरूको बुझाइभन्दा टाढा थियो । जोनाथनलाई उड्ने क्रममा धेरै जिज्ञासा आउँछ, धेरै प्रयास गर्छ, आफ्नो उडानको गति नियन्त्रण गर्न नसक्नाले धेरै असफलता उसले सामना गर्छ, आफूमा उड्न नसक्ने क्षमता भएको भन्दै चिन्ताले ग्रसित हुन्छ, उड्न छोडेर सामान्य सीगलजस्तै जीवन बाँच्ने निर्णय गर्दछ । यस्तै द्वन्द्व अन्तद्र्वन्द्वका बिच उसलाई अन्तरदृष्टि हुन्छ । आफ्नो कमी कमजोरीलाई ताकतमा परिणत गरी तीव्रगतिमा उड्न सिक्छ । अन्तमा, उसले सीगलको संसारमा तीव्रताका सारा रेकर्ड तोड्न सक्षम हुन्छ ।
यही प्रयासले उसलाई सत्यको खोजी गर्ने साधकको रुपमा परिणत गराउँछ र सपना पूरा गर्दा गर्नुपर्ने कठिन प्रयासको बारेमा बुझाउँछ । विडम्बना ! उसले ठुलो उपलब्धि प्राप्त गरेलगत्तै ऊ बथानबाट निकालिन्छ र एक्लो पारिन्छ । उसले आफूले के प्राप्त गरे भनेर सम्झाउन खोज्दा पनि बथानले त्यो कुरा बुझ्दैन र उसले सजाय स्वरूप नितान्त एक्लो जीवन बिताउनुपर्ने हुन्छ । एक्लै बस्दा पनि उसले उड्ने कुरालाई निरन्तरता दिन्छ । यसै क्रममा ऊ एउटा छुट्टै संसारमा पुग्छ, जहाँ उसले आफू जस्तै उड्न सिपालु र उड्न सिक्न चाहना राख्ने सीगलहरू भेट्छ । उसले त्यहाँ साथी भेट्छ; गुरू भेट्छ र अन्तरमनसँग जोडिन सिकेर, अविश्वसनीय उड्ने सीपहरू प्राप्त गर्दछ । जोनाथन सीगलले आफ्नो जीवनको उद्देश्यअनुरूप जुन आफ्नो बथानलाई सिकाउनु थियो, फर्केर पुरानो ठाउँमा नै जान्छ, शिष्यहरू तयार गर्दछ जसले जोनाथनको ज्ञान र सीपलाई निरन्तरता दिन्छ ।
जोनाथन लिभिङस्टोनको कथा पढेपछि मलाई द मिथ अफ सिसिफसको सम्झना भयो । यस पात्रले एउटा ठुलो ढुङ्गाको गोलालाई उकालोमा लगेर टुप्पोमा पु¥याउनुपर्छ र क्रमशः टुप्पोबाट फेदसम्म, कुनै श्रापको कारण यो काम निरन्तर हरेक दिन उसले गरिरहनुपर्छ । सुन्दा अचम्म लाग्ला कति बोझिलो ! कति दिक्कलाग्दो ! तर, यो कुरालाई मानिसको जीवनमा लागु गरेर हेर्दा हामी पनि सिसिफसजस्तै एउटै काममा अल्झिरहेका छौँ । हाम्रा आधारभूत आवश्यकताहरूको परिपूर्तिमा समयले हामीलाई यसरी बाँधिदिएको छ कि जीवन एउटै सोचमा, एउटै चिन्तनमा, एउटै चक्रमा चलिरहेको छ । निरर्थक ! हामीले जीवनको उद्देश्य नै बिर्सिरहेका हुन्छौँ । अरू जुन पथमा छ; समाजले जुन पद्धति निर्माण ग¥यो; अभिभावकले जुन कुरा सही सोच्यो त्यही हामीले अनुसरण गर्दै जीवनमा अगाडि बढ्नुपर्ने मान्यताअनुरूप व्यवहार देखाउँछौँ । एक अर्थमा हेर्दा धेरै मानिस जीवनलाई निराशामा नै बिताइरहेको जस्तो लाग्छ । यही निराशाबिच जोनाथनको कथाले जीवनप्रति नयाँ आशा दिन्छ; नयाँ दृष्टिकोण दिन्छ । आफूलाई चिन्दै जीवनको लक्ष्य निर्धारण गरेर, कुनै सफलताको आशा नराखी निरन्तर सङ्घर्ष गर्नु जस्तो स्वतन्त्रता अरू कुनै कुरामा छैन । हरेक वर्ग र पेसालाई उपयुक्त यो पुस्तकले हामीलाई सिकाउँछ– सोको पहिचान गर्न, जीवनमा उच्चतम उद्देश्य राख्न, सङ्घर्षको बिच पनि खुसी हुन, असफलतामा दृढ हुन, आफ्नो सपनाप्रति आत्मविश्वासी बन्न, निरन्तररूपमा आफूलाई सुधार्दै जान, जीवनभर सिकिरहन र लक्ष्य पछ्याउने क्रममा जस्तोसुकै परिस्थिति स्वीकार्न, यसको लागि चाहे एक्लै लड्न परोस् । पुस्तकमा भनिएको छ, “एकमात्र साँचो कानुन भनेको स्वतन्त्रतामा पुग्ने कानुन हो । “जोनाथनले भने, “अरू कुनै छैन ।”
जोनाथन लिभिङस्टोन फरक जीवन बाँच्न सिकाउने कथा हो, सपना देख्न सिकाउने कथा हो र देखेको सपनालाई जस्तोसुकै मूल्य चुकाएर पूरा गर्न सक्नुपर्छ भनेर आँट प्रदान गर्ने कथा हो ।

आशिक सिंह ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *