भर्खरै :

नेमकिपा कीर्तिपुर नगर समितिद्वारा कीर्तिपुर नगरपालिकाको ध्यानाकर्षण

नेमकिपा कीर्तिपुर नगर समितिद्वारा कीर्तिपुर नगरपालिकाको ध्यानाकर्षण

काठमाडौँ, २५ जेठ । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिले कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई नगरको विकास सम्बन्धमा सुझावसहित ध्यानाकर्षण पत्र शुक्रबार बुझायो ।
नेमकिपा कीर्तिपुर नगर इन्चार्ज नारायण महर्जनले हस्ताक्षर गरी बुझाएको उक्त पत्रमा नगरपालिकाको दुईवर्षे गतिविधिको मूल्याङ्कनसहित शिक्षा, स्वास्थ्य, सरसफाइ, सांस्कृतिक सम्पदा संरक्षण र संवद्र्धन, खानेपानी, खेलकुद, बाटोघाटो, ढल निर्माण, युवा रोजगार, कृषि क्षेत्र, सहकारी पीडितको सवालमा गर्नुपर्ने कामबारे उल्लेख थियो ।
नगरपालिका आफैले विद्यालय÷कलेज स्थापना गरी सस्तोमा गुणस्तरीय शिक्षा दिन पहल गर्नुपर्ने, नगरपालिका आफैले अस्पताल सञ्चालन गरी कम शुल्कमा उपचारको व्यवस्था गर्नुपर्ने, फोहोर व्यवस्थापन निजी कम्पनीलाई दिन नहुने, सडक निर्माण गर्दा किसानको जग्गाको लगत कट्टा गर्नुपर्ने, मुआब्जा उचित दरले दिनुपर्ने र बाटोको मापदण्ड केन्द्रबिन्दुबाट बराबर लागु गर्नुपर्ने, पाँगाको दहन पोखरी व्यक्तिको नाममा दर्ता गराएको खारेज गर्न नगरपालिकाले पहल गर्नुपर्ने, पर्ती र सार्वजनिक पोखरीको लगत राख्नुपर्ने, खानेपानीको स्रोत पहिचान गरी संरक्षण र भण्डारण गर्नुपर्नेलगायतको माग पत्रमा उल्लेख छ ।
पत्रमा किसानको समस्या र सहकारी पीडितको समस्या समाधान गर्न नगरपालिकाले पहल गर्नुपर्ने उल्लेख छ ।
पत्र बुझ्ने क्रममा नगर प्रमुख नकर्मीले पत्रबारे नगरपालिकाले ध्यान दिने र यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा मागलाई समावेश गरी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ध्यानाकर्षणपत्र बुझाउने प्रतिनिधिमण्डलमा प्रशान्त महर्जनलगायत पार्टी सदस्यहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *