भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत ८६ जना विद्यार्थीहरूलाई रु. ५४ लाख ७६ हजार रकम बराबरको छात्रवृत्ति प्रदान

ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत ८६ जना विद्यार्थीहरूलाई रु. ५४ लाख ७६ हजार रकम बराबरको छात्रवृत्ति प्रदान

भक्तपुर, २५ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा प्रवेश परीक्षा उत्कृष्ट र गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार कलेजको सभाहलमा सम्पन्न भयो ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कलेजमा अध्ययनरत ८६ जना विद्यार्थीहरूलाई रु. ५४ लाख ७६ हजार रकम बराबरको छात्रवृत्ति प्रदान गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका शैक्षिक ऋण प्रदान गरी गरिब परिवारलाई उच्च शिक्षाको व्यवस्था गर्ने देशकै पहिलो नगरपालिका भएको बताउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकीजस्ता विभिन्न विषयहरूमा स्नातकोत्तरसम्मको शिक्षा प्रदान गरिरहेको र ख्वप विश्वविद्यालयको स्थापनाको लागि निरन्तर पहल भइरहेको अवगत गराउनुभयो ।
कुनै पनि देशको प्राविधिक क्षेत्र राम्रो भएमा त्यहाँको विकास निर्माणको काम पनि व्यवस्थित ढङ्गले अगाडि बढ्ने बताउँदै भक्तपुर नपाले प्राविधिक शिक्षामा पनि जोड दिँदै विभिन्न कार्यक्रमहरू थप्दै लगिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा पर्याप्त छात्रवृत्तिको व्यवस्था गर्दै आएको जानकारी दिँदै प्रमुख प्रजापतिले देशको लागि आवश्यक विभिन्न विषयका जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यले भूगोल, इतिहास, संस्कृति, नेपालभाषा, अर्थशास्त्र, दर्शनशास्त्रजस्ता थुप्रै विषयमा जुनसुकै कलेज तथा विश्वविद्यालयमा अध्ययन गरे पनि विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाद्वारा सञ्चालित कलेज स्थापनाको इतिहास, उद्देश्यमाथि प्रस्ट पार्दै छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरूले समाज र देशको लागि समर्पित भावले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीहरूलाई प्रदान गरिने छात्रवृत्तिलाई सुविधाको रूपमा नलिई उच्च शिक्षा हासिल गर्न कलेजको तर्फबाट दिएको सहयोगको रूपमा ग्रहण गर्नुपर्ने बताउँदै उहाँले कलेजको पृष्ठभूमिबारे अभिभावक र विद्यार्थीहरूलाई सूचित गर्न अभिभावकसहित छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषयको महत्वमाथि प्रकाश पार्दै यी विषयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई प्राथमिकताका साथ छात्रवृत्ति प्रदान गरी प्रोत्साहन गरिरहेको बताउँदै कलेजले प्रदान गर्ने छात्रवृत्ति आर्थिक कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुने विद्यार्थीहरूलाई सुनौलो अवसर हो भन्नुभयो ।
उक्त कार्यक्रममा कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ र लेखा शाखाका प्रमुख काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *