भर्खरै :

ख्वप विश्वविद्यालय नयाँ ढङ्गको विश्वविद्यालय हुने

ख्वप विश्वविद्यालय नयाँ ढङ्गको विश्वविद्यालय हुने

भक्तपुर, २५ जेठ । विश्वविद्यालय अनुदान आयोगको सहयोग र ख्वप कलेजको आयोजनामा जेठ २२ देखि २५ गतेसम्म भएको ‘अ वर्क सप अन आर–स्टुडियो पोग्राम’ को समापन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
ख्वप कलेज सञ्चालक समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले अनुसन्धानलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै अनुसन्धान व्यवस्थित भए अनुसन्धानको निचोड वैज्ञानिक हुने धारणा राख्नुभयो ।
ख्वप विश्वविद्यालयको प्रगतिबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालयको विधेयक शिक्षा मन्त्रालयबाट पारित भई अर्थमन्त्रालयमा पुगेको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने यो विश्वविद्यालय नयाँ ढङ्गले परिकल्पना गरिएको विश्वविद्यालय हो । यस विश्वविद्यालय सञ्चालनमा नेपाल सरकारलाई थप व्यतर पर्ने छैन ।”
स्थानीय जनतासँग उत्तरदायित्व बोध हुनेगरी कलेजहरूले कार्यक्रम एवं अनुसन्धानमूलक गतिविधिहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै वडा अध्यक्ष ज्याख्वले विद्यार्थी तथा शिक्षकहरूले गरेको अनुसन्धानबाट प्राप्त निचोडलाई तथ्याङ्कसहित जनताले बुझ्ने भाषामा रिपोर्ट प्रकाशित गर्न सके समाजको लागि योगदान हुने बताउनुभयो ।
विश्वविद्यालयका प्राध्यापकहरूले ‘थिङ्क ट्याङ्क’ को रूपमा देशलाई सेवा गरिरहने भएकोले हाम्रा शिक्षकहरूले पनि त्यो सोच राखी अध्ययन अनुसन्धानलाई जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले कलेजले तीन पटक राष्ट्रिय सम्मेलन गरिसकेको र अब अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारीमो रहेको जानकारी दिनुभयो ।
स्रोतव्यक्ति डा. शङ्करकुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञानले समुदायलाई सहयोग गर्न सकेमात्र तालिमको उपलब्धि हासिल हुने धारणा राख्नुभयो ।
कार्यक्रम संयोजक रूपक खड्का र प्रशिक्षार्थीको तर्फबाट सागर गोसाईले पनि बोल्नुभएको कार्यक्रममा अतिथि ज्याख्वले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *