भर्खरै :

अलेक्सान्दर पुश्किनको २२५ औँ जन्म जयन्ती तथा रूसी भाषा दिवस मनाइयो

अलेक्सान्दर पुश्किनको २२५ औँ जन्म जयन्ती तथा रूसी भाषा दिवस मनाइयो

काठमाडौँ, २५ जेठ । नेपाल–रुस साहित्य समाज र रुसी भवन काठमाडौँको आयोजनामा विश्वविख्यात रुसी कवि, नाटककार र उपन्यासकार अलेक्सान्दर पुश्किनको २२५ औँ जयन्ती जून ६ का दिन आयोजना गरियो । उक्त दिनलाई रूसी भाषा दिवसको रूपमा पनि मनाइन्छ ।
कार्यक्रमको सुरु नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माद्वारा रुसी सांस्कृतिक केन्द्रको परिसरमा अवस्थित पुश्किनको सालिकमा माल्यार्पणबाट भयो । त्यसपछि पुश्किनको कर्मथलोको डकुमेन्ट्री प्रदर्शन गरियो ।
नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा. डा. जंगब चौहानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मित्रकुञ्जका सचिव ई. रामविन्दु श्रेष्ठले गर्नुभएको थियो । अतिथिहरूको स्वागत गर्दै रुसी भवनका सहनिर्देशक अनुश भान्यानले प्रत्येक मान्छेभित्र आ–आफ्नै पुश्किन छन् भन्नुभयो ।
रामबिन्दु श्रेष्ठले पुश्किन आफ्नो सृजनामार्फत अजर अमर रहेका, सोभियत कालमा रुसी भाषामा उच्च शिक्षा अध्ययन गरेका पाँच महादेशका विद्यार्थीहरूको लागि आजको दिन विशेष रहेको र हामी सात समुन्द्रपारिबाट गएकाहरूलाई रुसी भाषा शिक्षिकाहरूले दर्शाएको प्रेम अतुल्य छ भन्नुभयो ।
कार्यक्रमको प्रमुख सत्र ‘पुश्किन काव्यिक साँझ’ को सञ्चालन गर्दै अध्यक्ष जंगब चौहानले यतिका शताब्दी बितिगए पनि पुश्किनका कविताहरू पुनः सम्झना आइरहन्छ, उनका कालजयी कृति र तिनका सौन्दर्य सर्वव्यापी छ भन्नुभयो । उहाँले रुसका अत्यन्त सम्भ्रान्तका छोराछोरी पढ्ने शिक्षालयभित्रबाटै जारशाहीको निरङ्कुशताविरुद्ध बागीहरू जमात जन्मेको र पुश्किनका धेरै कविता ती डिसेम्बर विद्रोहीहरूप्रति समर्पित रहेको बताउनुभयो ।
काव्यिक साँझमा रुसी तथा नेपाली स्रस्टाहरूले जंगब चौहानद्वारा अनुदित पुश्किनका आठ कालजयी कविताहरू वाचन गर्नुभयो । जसमा सह निर्देशक अनुश र जंगब चौहानले ‘पुश्चिनलाई’ रुसी र नेपालीमा, प्रा. डा. अशोक थापाले ‘साइबेरियाको गर्भगृहमा’ र ‘माया गरे तिमीलाई’, नेपाली कला साहित्य डट कमकी अध्यक्ष मोमिलाले ‘चादात्लाई’ र ‘हिउँदको साँझ’, कलाकार निशा शर्माले शोक गीत ‘एलेगिया’ र नेरुसास उपाध्यक्ष ई. विष्णु व. सिंहले ‘नाममा के छ’, सुषमा खत्री रञ्जितले ‘जर्जियाको पहाडमाथि’, रिटायर्ड कर्णेल सन्जय श्रेष्ठले ‘म ती जादुमय दिनहरू सम्झन्छु’ नेपालीमा पढेर सुनाउनुभयो ।
वाचनको क्रममा त्रि.वि. केन्द्रीय नेपाली विभागका डा. अशोक थापाले आफूले विश्वविद्यालयमा रुसी लेखकहरूबारे अध्यापन गराउने गरेको बताउनुभयो । कवयित्री मोमिलाले क्रान्तिकारी कवितालाई पनि प्रेमको शैलीमा अभिव्यक्त गर्ने पुश्किन शैली विशिष्ट छ भन्नुभयो । कुलपति निशा शर्माले रुसीहरूले पुश्किनका कविताहरूलाई गीत, सङ्गीत र भिडियोमा ढालेर संसारभर फैलाएझैँ हामीले पनि नेपाली स्रष्टा देवकोटा, समका आदि रचनाहरूको रचनामा किन गीत नभर्ने भन्नुभयो ।
कार्यक्रममा रुसी सांस्कृतिक केन्द्रका भाषा शिक्षक सुशील सिग्देलले रुसी भाषाको विशेषता, प्रचलित रोचक तथ्यहरू र त्यसको विश्वव्यापी महत्व प्रस्तुत गर्नुभयो । नेरुसासका महासचिव ई. चन्द्रकान्त आचार्यले सबै सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापनको उद्घोष गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *