भर्खरै :

मध्यपुरमा ‘वः महोत्सव’ सम्पन्न

मध्यपुरमा ‘वः महोत्सव’ सम्पन्न

भक्तपुर, २६ जेठ (रासस) । मध्यपुर नगदेशमा शनिबार ‘वः महोत्सव’ सम्पन्न भएको छ । नेवारी खानाका परिकार प्रवद्र्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिको आयोजना र मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा आयोजित वः महोत्सव तथा ग्रीन भेजिटेबल एक्स्पो–२०२४ मा उपत्यकाका ख्यातिप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा महिला समूहलगायतका स्टल रहेका समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिनुभयो ।
मध्यपुर थिमिको मध्तग अर्थात् वडा नं ७ नगदेशको प्राङ्गणमा महोत्सवको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले महोत्सवमार्फत मध्यपुरको मात्र नभई भक्तपुरकै पर्यटन प्रवद्र्धन भएको बताउनुभयो ।
महोत्सव अवलोकनपछि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का उपाध्यक्ष सुमन पाण्डेले बन्दीपुरको पर्यटनको शैलीमा मध्यपुर थिमिको पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभयो । महोत्सवमा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरण गरिएको थियो ।
महोत्सवमा वःका विभिन्न परिकार राखिएका थिए । अध्यक्ष प्रजापतिका अनुसार नेवार समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी–देवतालाई चढाउन वःको परिवारको प्रयोग गरिन्छ । महोत्सवमा चटामरी, योमरी, गाजरको रक्सी, चुकन्दरको रक्सी र चिया, जुजु धौलगायत नेवारी खानाका परिकारहरू राखिएका थिए ।
मयुर नाच, रोपाइँ जात्रा, सात कालिको नाच, कुमारी नाचलगायत स्थानीय सांस्कृतिक नृत्यहरूसमेत सो अवसरमा देखाइएको महोत्सव संयोजक विक्रम बाडेले बताउनुभयो । मध्यपुर थिमिमा गत वर्ष पनि वः महोत्सव आयोजना गरिएको थियो ।
मेलाका लागि नगरपालिकाले रू. ६ लाख सहयोग गरेको समितिले जनाएको छ । व्यवसायीहरूले स्वस्फूर्त रूपमा रू. दुई लाख सहयोग गरी कुल रू. आठ लाख लागतमा महोत्सव आयोजना गरिएको बाडेले जानकारी दिनुभयो ।
केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसु वः, भुति वः, तरकारी वः, ला वः/लापी वः, खेँ वः ख्वल्चा वः, भु वः/तःपा वः, सू वः/बारा वः का नामले पनि चिनिन्छ । बारा वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ । कतिपय वः खानाका परिकारका रूपमा लिइँदैन ।
लिच्छवी र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिन्थ्यो । मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के–कति महत्वबारे पनि जानकारी दिइएको थियो । वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरूले कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।
मेलाले मध्यपुर थिमिको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेवार समुदायको विशेष चाड सिथिनखःको अवसरमा आयोजना हुन लागेको मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई टावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकारसमेत प्रस्तुत गरिएको छ ।
मध्यपुरमा विभिन्न पर्यटकीय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौँ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देश विदेशमा पु¥याई पर्यटकलाई आकर्षित गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ ।
सिथिनखःबाट मध्यपुर थिमिका जनताबाट सेवा प्रदान गरी मध्यपुरवासीले गर्ने सम्मान, सत्कार र संस्कारसमेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकलाई तथा आन्तरिक पर्यटकलाई देखाउन मेला आयोजना गरिएको समितिको भनाइ छ । वः खाने प्रचलन मल्लकालबाट सुरू भएको मान्यता छ । भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका व्यञ्जनमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन छ । माय वः, मुं वः, मुसु वः, कःसु वः, भुति वः, मुस्या वः, चिचिन्दा वःलगायतका वःहरू तलेजुलाई चढाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *