नेमकिपा इनाचो चोर्चा–७ द्वारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम
- आश्विन २९, २०८३
भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिकाले विश्व सम्पदा स्थल लायकु दरबार भक्तपुरमा गाडी प्रवेश निषेध गरेको धेरै वर्ष भयो । त्यस्तै अर्को सम्पदा स्थल टौमढीमा पनि गाडी प्रवेश निषेध गरिएको थियो । बिहान र बेलुका मोटरसाइकल मात्रै त्यहाँ आवतजावत हुन्छ । टौमढी चोकमा पार्किङ निषेध गरिएको छ । विश्वमै नाउँ चलेको र नेपालको अग्लो ङातापोल्हँ मन्दिर रहेको टौमढी अर्को विश्व सम्पदामा सूचिकृत सम्पदा स्थल हो । यसरी विश्व सम्पदा स्थलमा गरिएको गाडी प्रवेश निषेध सकारात्मक कदम हो । यसलाई अझै व्यवस्थित गर्नुपर्ने कुरा आइरहेको छ ।
यसै सन्दर्भमा काठमाडौँ महानगरपालिका वडा नं. ५ मा पर्ने हाडी गाउँको करिब ८०० मिटर सडकमा २०८० असोज ५ देखि प्रत्येक शनिबार दिउँसो ३ बजेदेखि ७ बजेसम्म सवारी साधन निषेध गरिएको छ । उक्त सवारी साधन निषेधको पनि विभिन्न सञ्चारमाध्यममा सकारात्मक टिप्पणी आइरहेको छ ।
सवारी साधन निषेध गरिएको सो स्थानमा गाडी निषेध अवधिभर विना कुनै डर बालबालिकाहरू सडकमै साइकल चलाउने, अन्य विभिन्न खेल खेल्ने र नाचगान गर्ने गरिरहेको पाइन्छ । यस क्षेत्रमा अहिले बालबालिका सडकमै निर्धक्क खेलिरहेका हुन्छन् । बालबालिकाहरू आमा–बुबा, बाजे–बज्यैसँगै खेलिरहेको र खेलाइरहेको पाइन्छ । वृद्ध–वृद्धाहरू पनि आरामसँग खुला ठाउँ खोज्दै सडकमा निस्कन्छन् र कुराकानी गरेर आरामपूर्वक बस्छन् । शनिबार दिउँसो हाडी गाउँ बालबालिकाहरू खेल्ने, रमाउने थलो बनेको छ भने वृद्ध–वृद्धाहरूको डुल्ने, आराम गर्ने थलो बनेको छ ।
खुला आवतजावत भइरहने हुँदा सुनसान पनि हुँदैन । आवतजावत बढी हुने ठाउँमा व्यापार पनि चलेको हुन्छ । सवारी साधन निषेध भएपछि व्यापार पनि तुलनात्मकरूपमा बढी भएको कारण व्यवसायीहरू खुसी भएका छन् । सडकमा खेल्न र डुल्न निस्केकाहरूलाई ध्यानमा राखेर व्यापार व्यवसाय भइरहेको देखिन्छ ।
हाडी गाउँमा गरिएको यो अभ्यास नौलो हो । यो परीक्षणको निम्ति उपयोग गरिरहेको हो । खुला ठाउँ र खेल मैदान अभाव भएको ठाउँमा भएको सो अभ्यासले जनतामा सकारात्मक सन्देश छरेको छ । उक्त स्थान हरेक शनिबार दिउँसो र साँझपख मेलाजस्तै लागेको हुन्छ । साँझपख यस्तै मेला भक्तपुरको सम्पदा स्थल दरबार क्षेत्र र टौमढी क्षेत्रमा पनि भइरहेको छ । हरेक दिन उक्त स्थानमा चाडपर्वजस्तै सानादेखि वृद्धासम्मका मानिसहरू आउँछन्, बस्छन् र रमाइलो गर्छन् ।
शनिबार ३ बजेपछि सवारी साधन निषेध भए पनि हाडी गाउँमा सडक व्यापारको लागि खुला गरिएको छ । यसको कारण तरकारी बेच्नेदेखि खाजा पसल चलाउनेहरूले पनि आम्दानी गर्ने मौका पाएका छन् ।
हाडी गाउँको सो क्षेत्रमा सवारी साधन निषेध गर्नुअघि उक्त क्षेत्रमा सवारी साधन कति गुडेको थियो भन्नेबारे अध्ययन गरिएको थियो । वडा कार्यालयले सो निषेधित क्षेत्रको बेला वैकल्पिक बाटोको व्यवस्था गरेको थियो । उक्त स्थानलाई सम्पदा पैदलमार्गको रूपमा विकास गर्ने वडाको लक्ष्य रहेको बताइएको छ । सम्पदा स्थलमा परम्परागत शैलीमा घर बनाउँदा महानगरले कर छुट र अनुदान दिने व्यवस्था गरेको पनि बुझिएको छ ।
भक्तपुर नगरपालिकाले थालेको उक्त कदमलाई अरू नपा र वडाहरुले पनि अनुकरण गर्न थालेका छन् । यो सकारात्मक पक्ष हो । यसरी नै भनपाले मौलिक सम्पदा जोगाउन या मौलिक स्वरुपको घर कायम राख्न आर्थिक सहयोग गरिरहेको छ । त्यस्तै काम अरु नपाले गरिरहेको छ । तर, हरेक काम गर्दा मूल्याङ्कन आवश्यक छ । सकारात्मक र कमजोरी पक्ष केलाउनुपर्छ । त्यसो गर्दा काम सफल हुन्छ र जनताको विश्वास बढ्छ । यसकारण भनपाले चालेको कदमको स्वागत गर्नुपर्छ । सवारी साधन निषेध कसैलाई दुःख दिन होइन विश्वकै सम्पदा जोगाउन गरिएको हो† अन्य सम्पदाहरू संरक्षण गर्न गरिएको हो । त्यस्तो काममा जनताको साथ र सहयोग आवश्यक छ ।
Leave a Reply