भर्खरै :

शिक्षकको गुणस्तर र इमानदारिताले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने

शिक्षकको गुणस्तर र इमानदारिताले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने

भक्तपुर, ३० असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया दशमीको पावन अवसरमा विभिन्न जिल्लामा कार्यरत भक्तपुरका शिक्षकहरूबिच बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले शिक्षकहरू अध्ययनशील, इमानदार र कर्तव्यनिष्ठ हुनुपर्ने बताउँदै सामाजिक विकृति, विसङ्गति तथा राजनीतिक बेथितिविरुद्ध आवाज उठाउन विद्यार्थीहरूलाई प्रेरित गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षकहरूले सामाजिक सञ्जालको सही सदुपयोग गर्न सिकाउनुका साथै विद्यार्थीमा आफ्नै बौद्धिक क्षमताप्रति आत्मविश्वास जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षकको गुणस्तर र इमानदारिताले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता र वैदेशिक हस्तक्षेपका कारण देशको विकासमा चुनौती थपिएको उल्लेख गर्दै शिक्षकहरू देशका बौद्धिक वर्ग भएकाले आ–आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, केन्द्रीय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले दसैँ–तिहारजस्ता सांस्कृतिक पर्वलाई रचनात्मक गतिविधिसहित मनाउनुपर्ने तथा शिक्षक सरुवालाई विद्यालयको आवश्यकताका आधारमा व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधानअनुसार कक्षा १२ सम्मको शिक्षासम्बन्धी अधिकार स्थानीय तहमा रहेकाले सरकारले सोहीअनुरूप आवश्यक ऐन–नियम लागू गर्नुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले शिक्षक सरुवाका व्यावहारिक चुनौतीबारे चर्चा गर्दै शिक्षकहरू जुनसुकै जिल्लामा कार्यरत भए पनि निष्ठा, कर्मठता र इमानदारीका साथ काम गर्नुपर्ने बताउनुभयो भने गणेश माध्यमिक विद्यालय, भार्वाचोका प्रधानाध्यापक लक्ष्मीसुन्दर सुवालले विद्यालयका शिक्षक तथा कर्मचारीका शिक्षा ऐन नियमावलीबारे प्रकाश पार्नुभयो ।
सम्पर्क समितिका संयोजक गोपालसुन्दर गोसाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रम समितिका सदस्य सर्जु फसिकवालगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *