भर्खरै :

पुँजीवाद सारा जनताको सम्पत्ति निजीकरण गर्ने व्यवस्था

पुँजीवाद सारा जनताको सम्पत्ति निजीकरण गर्ने व्यवस्था

काठमाडौँ, ७ असार । ‘जनकपुरको ९ हजार ८ सय ४३ बिघा सार्वजनिक जग्गा हिनामिना’ र ‘विगतका छानबिनले नतिजा नदिएपछि पुनः छानबिन गर्दै गृहमन्त्रालय’ (नयाँ पत्रिका, ६ असार, २०८१) ।
‘सार्वजनिक जग्गा मिचेर व्यक्तिले बनाएको होटल’ तस्बिरको एक क्याप्सन !
चीनमा उत्पादन भई नेपालमा बिक्री वितरण हुँदै आएको बीवाइडी विद्युतीय गाडी नेपालमा अहिले अत्यधिक बिक्री भइरहेकोमा नेपालको आधिकारिक बिक्रेता साइमक्स इङ्क प्रणालीमाथि राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले ‘बीवाइडीले करोडौँ राजस्व छलेको आशङ्का’ मा छानबिनको लागि ‘कागजात’ मागेको बताएका छन् (नेपाल समाचारपत्र, ५ असार २०८१) ।
उत्पादनका साधन–घरखेत–व्यापार–यातायातका सबै सेवा वा अन्य निजी सेवा वा उद्योग आदिमा व्यक्तिगत सम्पत्ति हुने व्यवस्था नै पुँजीवादी व्यवस्था हो । आफ्नो व्यक्तिगत कम्पनीको नाफा र सार्वजनिक सम्पत्तिलाई निजी सम्पत्ति बढाउन सबै नैतिकता च्याखामा राखेर कानुनलाई छल्ने र जालीफटाइँ गर्ने गरिन्छ । यस्ता चल र अचल सम्पत्तिमा निजी स्वामित्वको बन्दोबस्तलाई सार्वजनिक सम्पत्ति गर्ने समाजवाद र साम्यवादी व्यवस्था नआएसम्म व्यक्तिमा आर्थिक लाभको निम्ति कर छली, चोरी डकैती र हत्या हिंसा भइरहनेछ ।
नेपाल समाचारपत्रको अर्को समाचार छ, ‘६३५ निजामती कर्मचारीले किन छोडे जागिर ?’ ‘१ हजार ८ सय १२ निजामती कर्मचारी सेवाबाट बाहिरिए, थप २५०० बाहिरिँदै’ समाचारका शीर्षक हुन् । माथिल्ला कर्मचारीहरू पढेलेखेका, माथिल्ला जातका अधिकांश एउटै जात र एउटै क्षेत्रका पनि बढी छन् । एउटै परिवारका पनि धेरै सदस्य ठुलठुला पदमा छन् । तिनीहरूको जीवनको उद्देश्य देश र जनताको सेवा गर्नुभन्दा आफ्नो सुखी जीवन बिताउनु हो । नेपालमा विदेशी पुँजीको प्रभाव बढ्दै गर्दा बढी आर्थिक हित सरकारको नोकरीमा भन्दा विदेशी कम्पनीमा बढी हुने भएकोले ती कर्मचारी विदेशी कम्पनीको एजेन्ट वा विदेश पलायन हुने मानसिकतामा छन् । माथिल्ला कर्मचारी र नेताहरूका छोराछोरीहरू विदेशमा गइसकेका हुन्छन् र केहीले पीआर भनी विदेशमै बस्ने नागरिकता पाइसकेका हुन्छन् ।
नेपालको शासनमा जाने राजनैतिक दलहरू पनि पुँजीवादलाई नै समर्थन गर्ने हुँदा ती दल, नेता एवं कार्यकर्ताहरू पनि सार्वजनिक सम्पत्ति आफ्नो नाममा गर्छन् । दाङको ‘संस्कृत विश्वविद्यालय’ को ‘१ हजार ३ सय २६ बिगाहमा दलको रजाइँ’ शीर्षकको समाचारमा भनिएको छ, माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, एमाले निकटहरू सुकुमवासी बनेर बसेका छन् (नागरिक, ५ असार, २०८१) ।
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै ठगी गर्ने गिरोह पक्राउ परेको बताइएको छ र पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्दै आएका ३१ वर्षीय राजु सुनुवार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४६ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् । समाचारको शीर्षक हो, ‘अभियन्ता बनेर ठगी गर्ने समूह पक्राउ’ (अन्नपूर्ण, ५ असार, २०८१) ।
पुँजीवादी समाजको सबभन्दा निकृष्ट उदाहरण हो, ‘मुटु सिउने धागोमा पनि कमिसन धन्दा’ (नागरिक, ६ असार, २०८१) । तर, केही अस्पतालहरूमा स्वयम्सेवक र कर्मचारीहरू शासक दलकै कार्यकर्ताहरू छन् । तिनीहरू नै यस कार्यमा सक्रिय छन् ।
भ्रष्टाचार पुँजीवादको छायाँ हो, पुँजीवाद समाप्त नभएसम्म भ्रष्टाचार पूर्णरूपले समाप्त हुने छैन । पोखराको फेवातालको मुहान क्षेत्रमा बनेका सिल्टेसन ड्याम प्रालिले दुई वर्षदेखि राजस्व छली गर्दै थियो । समाचारको शीर्षक छ, ‘राजस्व छली गर्दै फेवा सिल्टेसन ड्याम’, ‘साढे दुई करोडभन्दा बढी राजस्व असुल हुनुपर्ने’ (नेपाल समाचार पत्र, ६ असार, २०८१) ।
एउटा यस्तो नगरपालिका जहाँ एउटा बर्थिङ सेन्टर छैन । ‘धनुषाको कमला नगरपालिकाको करिब ८० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउन बाध्य छन्’ (अन्नपूर्ण, ६ असार, २०८१) ।
‘सहकारी पीडितका समस्या विकराल बन्दै’, सरकार मूकदर्शक बनेको निक्षेपकर्ताको गुनासो’ (राजधानी, ६ असार, २०८१) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *