भर्खरै :

भक्तपुर नपाको १६ औँ नगरसभा सम्पन्न

भक्तपुर नपाको १६ औँ नगरसभा सम्पन्न

भक्तपुर, ३१ असार । २०८१ असार ७ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको सो¥हौँ नगरसभा असार ३१ गते सोमबार सम्पन्न भयो ।
नगरसभाका सभाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभाको सोमबारको बैठकले भक्तपुर नपाको लेखा समितिको प्रतिवेदन २०८१ र न्यायिक समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गर्यो । त्यस्तैै भक्तपुर नपाको वार्षिक खरिद योजना, तलबी प्रतिवेदनलगायत विविध प्रस्तावहरू सभाबाट पारित भयो ।
सभामा सभाध्यक्ष प्रजापतिले भक्तपुर नपाको आ.व. २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम र महत्वपूर्ण प्रतिवेदन पारित गरेकोमा सम्पूर्ण नगर सभासद्हरूमा धन्यवादज्ञापन गर्नुभयो ।
देशको वर्तमान राजनीति घटनाक्रमबारे प्रस्ट पार्दै उहाँले नेपाल दुईदलीय तानाशाहतर्फ अगाडि बढिरहेको बताउँदै पटकपटक सरकार परिवर्तनले देश अस्थिरतातर्फ धकेलिँदै गएको र यसले दीर्घकालीन असर पुग्नेतर्फ सचेत हुन जरुरी रहेको बताउनुभयो ।
रेमिट्यान्सको भरमा अर्थतन्त्र सञ्चालन भएसम्म देश विकासले गति लिन नसक्ने बताउँदै उहाँले देशमा भइरहेको गतिविधिबारे न्यायप्रेमी जनता सचेत हुन आवश्यक भएको बताउनुभयो ।
संविधान संशोधन कुनै एक–दुईवटा दलको चाहनाले हुन नहुने बताउँदै उहाँले सबैको सहमति र छलफलबाट मात्र नेपालको संविधान संशोधन हुनु आवश्यक भएको बताउनुभयो ।
उक्त सभामा युवा तथा खेलकुद समिति, वातावरण तथा पर्यटन समिति, शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति, आर्थिक तथा लेखा समिति, निर्माण समिति, सहकारी अनुगमन समिति, महिला, बालबालिका तथा समाज कल्याण समिति, बजार अनुगमन समिति, योजना तथा कार्यक्रम अनुगमन तथा सुपरिवेक्षण समिति, कृषि समिति र न्यायिक समितिको प्रतिवेदन सम्बन्धित समितिका संयोजक तथा सदस्यहरूले प्रस्तुत गरेका थिए ।
सभामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको १६ औँ नगरसभाको सङ्क्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *