भर्खरै :

जनतालाई ढाँट्ने काम नगरियोस्

राजनीतिक स्थिरता कुनै शासक नेता या मन्त्रीले भाषण गरेर र दलबिच सहमतिमा हस्ताक्षर गरेर मात्र हुने होइन । राजनीतिक अस्थिरताको कारक ठुला दलका नेताहरूले भनेझैँ साना दलहरू पनि होइनन् । आफ्नो गल्ती या कमजोरी छोपेर अरू दलमाथि दोष थोपर्नु महागल्ती हो । यस्तो गल्ती ठुला दलका नेताहरूले बारम्बार दोहो¥याइरहेका छन् । सरकारको कार्यकाल अन्त्य नहुँदै समर्थन फिर्ता लिएर पुरानो सरकार ढाली नयाँ सरकार गठन गर्ने दलमा नेका, एमाले र माओवादी नै भएको कुरा घामझैँ छर्लङ्ग छ । सबैसामु स्पष्ट भएको कुरालाई ठुला दलका नेताहरू आफ्नो राजनीतिक उचाइ झारेर, इज्जत र आस्थामा चोट पर्ने गरी किन झूट बोल्छन् ? निर्वाचित भएपछि सरकारमा जान्नैपर्ने सके प्रधानमन्त्री नै ताक्ने र नसके मन्त्री हुन्नैपर्ने मानसिकता दलका नेताहरूमा कसरी रह्यो ? कुनै एक दलको बहुमत पुग्न नसकेको स्थितिमा संसद्को ठुलो दललाई सरकार गठन गर्न अवसर दिनु संसदीय प्रजातन्त्रको मान्यता हो । ठुलो दलले सरकार नबनाएमा या सहमतिमा अरू दलको नेतृत्वमा सरकार बन्ने या बनाउने हो । राजनीतिक स्थिरताको निम्ति बनाइएको भनिएको नेतृत्वमा बनेको सरकार आफै अस्थिर छ । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओली केपीले भनेका थिए, मेरो नेतृत्वमा दुई वर्ष सरकार चल्नेछ र त्यसपछि नेकाका सभापति शेरबहादुर देउवाको नेतृत्व हुनेछ । ओलीपछि देउवा प्रम हुनु भनेको के अस्थिरताको सङ्केत होइन ? जनतालाई ढाँट्ने काम नेका र एमालेका नेताहरूले गरिरहेका छन् । यो राम्रो लक्षण होइन ।
तैपनि नेका र एमालेका नेताहरू राजनीतिक स्थिरताका निम्ति नेका सम्मिलित एमालेको नेतृत्वमा सरकार बनेको बताउँछन् । बिनायोजना, बिनापूर्वाधार, बिनाउद्देश्य आर्थिक समृद्धको कुरा पनि बखान मात्रै हुन्छ । प्रधानमन्त्री बन्ने लालसाले बनेको नयाँ सरकार हाल पारित भएको बजेटकै आधारमा चल्नुपर्ने हुन्छ । नेताहरूले कुनै कार्यक्रममा बजेट भाषण गरेर देश समृद्ध हुने होइन । देशमा देखिएको आर्थिक सङ्कट सुधार्ने कुरा पनि यो सरकारले गरेको छ । आर्थिक सङ्कट सुधार्ने काममा कसले बाधा हालेको छ ? देशमा भइरहेको भ्रष्टाचार, अनियमितता र कमिसन रोक्ने काममा कसले बाधा पु¥याएको छ ¤ पटकपटक सरकारको नेतृत्व गर्ने दलका नेताहरू भ्रष्टाचारको विरोध गर्छन् । उनीहरू भ्रष्टाचार भइरहेको स्वीकार्छन् । तर, भ्रष्टाचार किन अन्त्य हुँदैन ? भ्रष्टाचार गर्ने अभियान किन चलाइँदैन ? भ्रष्टाचारीहरूलाई कडाभन्दा कडा कारबाही गर्ने काम उनीहरू किन गर्दैनन् ? शासक दलका नेता, मन्त्री, सांसदहरू भ्रष्टाचारका पोषक भएनन् भने पनि भ्रष्टाचार धेरै घट्छ । देशको विकास छिट्टै हुन्छ, विकास गाउँ–गाउँमा पुग्छ, जनताले काम पाउँछन् । अनि पो जनताको जीवनस्तर उठ्छ; विकास पनि अघि बढ्छ र देश समृद्ध हुन्छ । लेखक रेवतीप्रसाद भुसालले त भूमाफिया, दलाल, बिचौलिया, सुन तस्करका लागि नयाँ सरकार बनेको बताउँछन् ।
फेरि यो सरकार सिद्धान्त र विचार मिलेर बनेको होइन । नेका कम्युनिस्टविरोधी पार्टी हो; यसमा कसैलाई शङ्का छैन । नेकाले कम्युनिस्ट पार्टीलाई उठाउँदैन, बलियो बनाउँदैन । कम्युनिस्ट पार्टी बलियो हुन्छ† कम्युनिस्ट पार्टीले सधैँ राज गर्छन् भनेर पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने नेकाले कम्युनिस्ट पार्टीलाई कमजोर बनाउँछ, कमजोर बनाउन कम्युनिस्ट पार्टीलाई उपयोग गर्छ । नेकाले गरिरहेको यही हो । आफूलाई कम्युनिस्ट भनिने एमाले भाइकाङ्ग्रेस भएर सत्तामा बसिरहने ? प्रधानमन्त्री पद पाएपछि कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन कमजोर भए पनि हुन्छ ? कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारभन्दा के प्रम पद ठुलो छ ? के नेकासँग मिलेर एमाले माक्र्सवाद र लेनिनवाद दलको मार्गनिर्देशकअनुसार राजनीति हुन्छ ? तिनै दलका नेताहरू सरकार बाहिर रहँदा नेकाले एमालेलाई, एमालेले नेकालाई, माओवादीले एमालेलाई एमालेले माओवादीको कडा विरोध गर्छन् । विरोधको अभिव्यक्ति सुन्दा ती दलहरू कहिले मिल्दैनन् भन्ने बोध हुन्छ । तर, तिनै दलका नेताहरू कहिले निर्वाचनमा मिल्छन् त कहिले सरकार गठन गर्न मिल्छन् । आखिर एउटै कारण हो, सरकारको नेतृत्व गर्नु या सरकारमा सामेल हुनु । सत्तासीन दलका नेताहरूले यो कुरालाई नमाने पनि यथार्थ त्यही हो । यो आरोप होइन व्यवहार र समयले देखाएको हो । चराको धोती हँुदैन, नकचरोको इज्जत हुँदैन भन्ने भनाइ नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *