भर्खरै :

शिक्षकहरूमाझ भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम

शिक्षकहरूमाझ भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम

भक्तपुर, १० भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा पञ्चायती राज्यस्तरबाट रचित भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय समिति सदस्य एवम् वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले भन्नुभयो, “मानिस अत्यन्त स्वार्थी र महत्वाकाङ्क्षी भएमा र आफ्नो पृष्ठभूमि बिर्सेमा पतनको बाटोमा लाग्छ । पञ्चायती व्यवस्थाले एक पूर्वरापसलाई फसाई नेमकिपालाई समाप्त गर्न षड्यन्त्र ग¥यो । उक्त व्यक्तिले आफूमात्र समाप्त नभई नेमकिपाका नेता तथा कार्यकर्ताहरूलगायत भक्तपुरवासी सबैलाई दुःख दियो । पार्टी कार्यकर्ताहरू यस्ता घटना सुनेर बुझेर आफूलाई ऊर्जाशील बनाउनुपर्छ ।”
उहाँले भन्नुभयो, “भक्तपुर काण्डले महिलाहरूको साङ्गठनिक गतिविधिलाई विकास ग¥यो । मानव अधिकारवादी, पत्रकार, कानुन व्यवसायी, बुद्धिजीवीलगायत सचेत नागरिकहरूलाई एकजुट बनायो र परिणामस्वरूप पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन भई सफल भयो । बहुदलीय व्यवस्था प्रजातन्त्रको पुनः स्थापना भयो । नेमकिपाविरुद्ध २०३५, २०४१–२०४२, २०४५ सालमा मात्र होइन, २०५५–५६ सालमा पनि दमन गरेको इतिहास छ । विद्यालय, प्रअ, शिक्षकहरूलगायत सबै क्षेत्रमाथि दमन गरेको छ । त्यसैले पुराना कार्यकर्ताहरू अवलोकन कर्ताको रूपमा मात्र नबसी नयाँ पुस्ताका कार्यकर्ताहरूलाई प्रेरित गर्नुपर्छ ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले भन्नुभयो, “मानिसहरूमा रगतको नाता सम्बन्धभन्दा विचार र सिद्धान्तको सम्बन्ध बलियो हुन्छ । नेतृत्वमा बस्नेहरू अरुको अगाडि झुक्नुहुँदैन, आफ्नो क्षमताले भ्याएसम्म सक्रिय भई आफ्ना मातहतका साथीहरूलाई क्रियाशील बनाउनुपर्छ । भक्तपुर काण्डले नेमकिपा र कार्यकर्ताहरूलाई अझ सचेत र सङ्घर्षशील बनाएको छ ।”
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर काण्डबाट पीडित तत्कालीन भनपा वडा नं. ७ का वडाध्यक्ष श्रीकृष्ण किसी र वागीश्वरी माविका शिक्षक विश्वराम प्रजापतिले प्रहरी हिरासत र जेलमा भोग्नुपरेका यातना तथा जेल जीवनलाई शैक्षिक उपलब्धि हासिल गर्ने थलोको रूपमा लिएको बाताउनुभयो ।
उक्त कार्यक्रममा विद्यार्थी निकेतन माविका शिक्षक रूपकेशरी उलकले भक्तपुर काण्डबारे ‘अविचलित आमाहरू’ शीर्षकको कविता वाचन गर्नुभयो भने कार्यक्रममा शिक्षकद्वय राजन लाखाजु र धनश्याम खड्काले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *