भर्खरै :

भित्रभित्रै तिनीहरू नेमकिपाको विरोधमा अनेक षड्यन्त्र गर्दै थिए

भित्रभित्रै तिनीहरू नेमकिपाको विरोधमा अनेक षड्यन्त्र गर्दै थिए

नेपाल मजदुर किसान पार्टी (तत्कालीन सङ्गठन) ले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर पनि जनताको सेवा गर्ने नीतिलाई व्यवहारमा लागु गर्न तत्कालीन नगर पञ्चायत, जिल्ला पञ्चायत र राष्ट्रिय पञ्चायतसमेतलाई उपयोग गर्दै आएको थियो । नेमकिपाका उम्मेदवार जित्नु पञ्चहरूको लागि असह्य भयो । चुनाव जितेर नगरपालिकामा पुगेका हाम्रा साथीहरूले व्यक्तिगत हितको लागि काम गर्नुभएन । उहाँहरूले इमानदारीपूर्वक जनताको सेवा गर्नुभयो र एउटा उदाहरणीय नगरपालिका बनाउन प्रयास गर्नुभयो ।
दोस्रो पटकको राष्ट्रिय पञ्चायतको सदस्यमा नेमकिपाको तर्फबाट गोविन्द दुवाल निर्वाचित हुनुभयो । त्यसबेला राष्ट्रिय पञ्चायतका सदस्यहरूलाई लाखौँ मूल्य पर्ने गाडी भन्सार सुविधामा दिने निर्णय गरियो । तर, उहाँले पार्टी निर्देशनअनुसार त्यो सुविधाको गाडी लिनुभएन र पेन्सन लिने कुराको राष्ट्रिय पञ्चायतमै विरोध गर्नुभयो । तत्कालीन पञ्चहरूको लागि त्यो एक नैतिक हाँक थियो ।
नगर पञ्चायतमा निर्वाचित हाम्रा साथीहरू तत्कालीन पञ्चहरूभन्दा पृथकरूपमा प्रस्तुत हुनुभयो । सरकारले कक्षा ५ सम्म निःशुल्क शिक्षाको बन्दोबस्त गरेको थियो । नगरपालिकाको आर्थिक क्षमताअनुसार जनतालाई थप सुविधा दिने मनसायले कक्षा ७ सम्म निःशुल्क गरियो । ‘पञ्चायत’ पत्रिकामा कार्ल माक्र्स, स्तालिन, लेनिन र माओ त्सेतुङका फोटोहरू छापिए । उहाँहरूको जीवनी छापिए । त्यस पत्रिकाका हरेक अङ्क देशभरका ३६ वटै नगर पञ्चायतमा पु¥याइयो । राजनैतिक पार्टी खोल्नसमेत प्रतिबन्धित अवस्थामा स्तालिन र माओ त्सेतुङजस्ता अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेताहरूको फोटो र जीवनी प्रकाशित हुनु कम खुसीको कुरा थिएन ।
भक्तपुर नगरपञ्चायत नेपालभरमा शतप्रतिशत बहुदलवादीहरूको नियन्त्रणमा रहेको नगरपञ्चायत थियो । नगरपञ्चायतको १७ वडामध्ये ११ र १६ वडाबाहेक प्रधानपञ्च र उपप्रधानपञ्चलगायत अन्य सबै वडाहरूमा नेमकिपाका उम्मेदवारहरू निर्वाचित भएका थिए । ११ वडा र १६ वडामा नेका समर्थित उम्मेदवारहरू विजयी भएका थिए । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पनि जनताको सेवा गर्ने हाम्रो पार्टीको नीति पञ्चहरूको लागि सह्य भएन । अन्य वामपन्थी पार्टीहरूले पनि निर्वाचनलाई उपयोग गर्ने कुरा पञ्चहरूको लागि अमान्य थियो । त्यसकारण, तिनीहरू नेमकिपालाई जरैदेखि उखेल्न चाहन्थे । त्यसको निमित्त भित्रभित्रै तिनीहरूले नेमकिपाको विरोधमा अनेक षड्यन्त्र गर्दै थिए । भदौ ९ गतेको काण्ड नभए पनि अर्को काण्डमा फसाउने तिनीहरूले योजना बनाएको कुरा हामीलाई पछि थाहा भयो । नेकपा (माले), (हालको एमाले) ले २०३८ सालको आमनिर्वाचन र २०३९ सालको स्थानीय निर्वाचन बहिष्कार गरी पञ्चहरूलाई जिताउन ठुलो सहयोग गरेको थियो । नेमकिपाले पञ्चहरूलाई सजिलै जिताउने एमालेको बहिष्कार नीतिको सैद्धान्तिक टाटपल्टाइलाई उदाङ्गो पा¥यो । अन्ततः एमालेले पनि नेमकिपाले लिएको नीति नै अनुसरण ग¥यो र २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावमा भाग लियो । नेमकिपा सानो पार्टी भए तापनि त्यसको कारण अन्य वामपन्थी पार्टीहरू पनि निर्वाचनमा आउन थालेको हुँदा पञ्चहरू नेमकिपादेखि भित्रभित्र निकै चिढिएका थिए ।
नेमकिपाका कार्यकर्ताहरू जेललाई राजनैतिक कार्यकर्ताको घर सम्झन्थे । कुनै पनि बेला जेल जान तिनीहरू तयार भएर बस्थे । राजनैतिक कार्यकर्ताहरू जेल जानुपर्ने, प्रवासमा जानुपर्ने र भूमिगत हुनुपर्ने कुराबारे कार्यकर्ताले मात्र थाहा भएर हुँदैन, कार्यकर्ताका परिवारलाई पनि थाहा हुनुपर्छ भन्ने कुरा २०४५ साल भदौ ९ गतेको काण्डले हामीलाई बोध गरायो । यो कुरा आजका नयाँ पुस्ताका साथीहरूलाई पनि थाहा हुनु आवश्यक छ । त्यसले पछि दुःखको अनुभव हुने गर्दैन । यो हाम्रो आफ्नै अनुभव हो ।
भदौ ९ गतेको राति नै गिरफ्तार गरिएको हुँदा त्यसपछि बाहिर के कस्ता घटनाहरू भए त्यसबारे थाहा हुने कुरा भएन । हिरासतको यातना विवरण अरू साथीहरूले वर्णन गरेको भन्दा खासै फरक नभएको हुँदा म यहाँ उल्लेख गर्न आवश्यक देख्दिनँ । पक्राउ परेपछिका दिनहरूमा भएका र जेलभित्र भएका संस्मरणयोग्य कुराहरू यहाँहरूसमक्ष राख्ने कोसिस गर्छु ।
सरजमिनको दिनको घटना मलाई अझै झल्झली सम्झना छ । त्यो शनिबारको दिन थियो । बिहान करिब ९ बजेतिर सरजमिन गर्न लाने कुराको जानकारी प्रहरीहरूले दिए । हामी तयार भयौँ । एउटै भवनमा बस्दा पनि करिब एक महिनासम्म नजिक बस्न नपाएका हामी साथीहरूसँगै बस्न पाउने हुँदा खुसी थियौँ । अध्यक्ष रोहितले त्यहाँका एस.पी. सँग शनिबार सरजमिन गर्ने कुराको विरोध गर्नुभयो । उहाँले भन्नुभयो, “सरजमिन भनेको आकाश, पाताल र धर्ती सबैले देख्ने गरी हुनुपर्छ र बिदाको दिन सरजमिन गर्नु कानुनविपरीत छ ।” उहाँको चर्को आवाजले हनुमानढोका हिरासत नै थर्किएको थियो । एक तला माथिबाट एसपीले ‘को हो कराएको’ भनेर बार्दलीबाट प्रश्न ग¥यो । त्यसबाहेक केही भन्न सकेन । अध्यक्ष रोहितको जोसिलो आवाजदेखि प्रहरीहरू पनि भित्रभित्र डराइरहेको कुरा उनीहरूको व्यवहारबाट थाहा हुन्थ्यो । यद्यपि, राज्यशक्ति नै दबाउने पक्षमा लागेपछि व्यक्तिको कुनै सीप चल्ने कुरा भएन । सोही दिन सरजमिन गरियो ।
सरजमिनको क्रममा गाडीमा अध्यक्ष रोहितले हामी सबैसँग एक एक गरेर उमेर र अध्ययन सोध्नुभयो । सबैले आ–आफ्नो उमेर र शिक्षा बताए । उहाँले जेल परेका सबै एम.ए. पास गरेर मात्र छुट्ने कुरा गर्नुभयो । हामीलाई आश्चर्य लाग्यो† भर्खर २०/२५ दिन जति भयो पक्राउ परेको तर उहाँले किन एम.ए. पास गरेर मात्र छुट्ने कुरा गर्नुभएको होला भनेर । उहाँले भन्नुभयो, “२०१७ सालमा नेपाली काङ्ग्रेसका धेरै नेता र कार्यकर्ताहरू जेलमा परेका थिए । ती नेता र कार्यकर्ताहरू सबैजसो एम.ए. पास गरेर मात्रै जेलबाट छुटे । हामी सबै भोलिको समाजको नेतृत्व गर्ने नयाँ पुस्ता तयार भएर जानुपर्छ ।”
उहाँले भन्दै जानुभयो, “इमानदारहरूलाई जेलमा राख्ने पञ्चायती व्यवस्था अब धेरै दिन टिक्दैन । हामी बहुदल आएपछि मात्रै घर जान पाउनेछौँ । अब बहुदलकै लागि लड्न आवश्यक भएको छ ।” उहाँकै कुराबाट कतिले छिट्टै छुट्ने आशा त्यतिबेलै त्यागिसकेका थिए ।
सरजमिन स्थलमा प्रहरीहरूले गाडीबाट हामी कसैलाई बाहिर निकालेनन् । त्यसको विरोधमा अध्यक्ष रोहितले नै पहिले आवाज उठाउनुभयो । ‘जाली मुद्दा खारेज गर’ को पहिलो नारा उहाँले नै लगाउनुभयो । प्रहरी भ्यानभित्र हतकडी लगाइएका व्यक्तिहरूले नारा लगाउनु चानचुने कुरा थिएन । उहाँमा विद्रोही भावना त्यसबेला प्रस्टरूपमा देखिएको थियो । हामी सबैले त्यस नारामा साथ दियौँ । बाहिर हुलमा बसिरहेकाहरूले त्यो नारा सुन्न सकून् भनेर चर्को स्वरमा नारा लगायौँ । बाहिर जुलुस नगरुञ्जेल हामीले नारा लगाइरह्यौँ । पछि बाहिर नारा गुञ्जिन थाल्यो अनि हामी चुप लाग्याँै ।
करिब एक महिना हिरासतमा राखियो । त्यसपछि अदालतमा उपस्थित गराइयो र अदालतको आदेशअनुसार हामी भद्रगोल जेल चलान गरियौँ । भद्रगोल जेलमा हाम्रा १÷२ जना साथीहरू मात्रै पहिला पुगेका थिए । त्यहाँ हामीलाई केही बन्दीहरूले नराम्रो दृष्टिले हेर्ने गर्थे । एकदिनको कुरा हो, जगत गौचनले हामीलाई ‘ज्यानमारा’ भनेर गाली ग¥यो । हामीले ‘तँै ज्यानमारा’ भनेर तत्काल जवाफ दियौँ । ऊ रिसाहा स्वभावको थियो । भैँसीको जत्रो आँखा पारी झन्डै कुट्न लागेको थियो । उल्टै ‘पद्म ठकुराठीलाई हत्या गर्न खोज्ने अपराधी’ भनेर जस्तालाई तस्तै जवाफ दियौँ । ऊसँग हाम्रो परिचय थिएन । हामीले त्यस्तो जवाफ दिने कुरा उसले सायदै सोचेको होला । हाम्रो जवाफबाट उसले आफ्नो ठुलो अपमान भएको सम्झ्यो । हुन पनि ऊ जेलमा परेदेखि त्यस्तो अपमान कहिल्यै सहनुपरेको थिएन होला । धेरै बन्दीहरू आएर दुवै पक्षलाई घेरा हाले तर गौचनले कुट्ने प्रयास गर्दै थियो । हामी त्योसँग मुखामुख गरेको देखेर अरू बन्दीहरू आश्चर्यचकित भए । कोही कोही आएर हामीलाई सम्झाउन थाले, “त्यो राजाको मान्छे हो, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी हो; ऊसँग मखामुख गर्नुहुँदैन” आदि । हामीले भन्यौ, “हामी पनि जनप्रतिनिधि हौँ, हामी राजनैतिक कार्यकर्ता हौँ र हामी यो व्यवस्था पल्टाउन हिँडेका हौँ ।” त्यसपछि उनीहरू चुप लागे र विवाद टुङ्गियो । त्यसबेलादेखि उसले हामीलाई कहिल्यै नराम्रो व्यवहार गरेन । बिस्तारै हामी राजनैतिक कार्यकर्ता भएको कुरा बन्दीहरूले थाहा पाए ।
एकदिनको कुरा हो । कैदीहरूलाई कुहेको चामल वितरण गरियो । हामीबिच पालैपालो चामल लिने र खाना पकाउने व्यवस्था थियो । कार्य विभाजनले गर्दा हामीलाई काम गर्न त्यति गा¥हो अनुभव भएन । हरेक दिन निश्चित परिमाणमा चामल केलाउनुपर्ने हाम्रो आ–आफ्नो जिम्मेवारी थियो । त्यस दिन साथीहरू चामल नलिई फर्कनुभयो र कुहेको चामल वितरण गरेको जानकारी दिनुभयो । हाम्रा साथीहरू तुरुन्तै एक ठाउँमा जम्मा भयौँ । हामीसँग चामल जगेडा पनि थियो ।
तीन चार जना साथीहरू गएर चामलको थुप्रोलाई घ¥ेर्याैँ र हामीले चामल नलिने घोषणा ग¥यौँ । ‘बन्दीहरू पशु होइनौँ, कुहेको चामल खाँदैनौँ, ठेकेदारलाई बन्दीहरूसामु उभ्याउनुपर्छ’ भनेर हामी ठुलठुलो स्वरले कराउन थाल्यौँ । नाइके–भाइनाइकेहरू तुरुन्त त्यहाँ जम्मा भए । कुहेको चामलको डल्ला हाम्रा साथीहरूको हात हातमा थियो । हाम्रो समूह ठुलो भएकोले हामीलाई कुनै डर त्रास थिएन । चौकीदारहरू हामीलाई जसरी पनि मनाउन खूब कोसिस गर्दै थिए† हामी चुप लाग्ने कुरै थिएन । हामी अझ चर्को चर्को स्वरले कराउन थाल्यौँ । त्यो देखेर पहिले चामल लिइसकेका बन्दीहरूले पनि बिस्तारै फिर्ता ल्याए । प्रशासनमा ठुलो खैलाबैला मच्चियो । तुरुन्त त्यो कुहेको चामल फिर्ता गरियो र राम्रो चामल वितरण गरियो । हाम्रो त्यो चामल बहिष्कारको आन्दोलन सफल भयो । हामी त खुसी नै भयौँ; अन्य बन्दीहरूले समेत हामीलाई राजनैतिक कार्यकर्ताहरूको रूपमा सम्मान गर्न थाले । हामी त्यो जेलमा बस्दाको यो पहिलो आन्दोलन थियो ।
२०४६ साल फागुन ८ गते भक्तपुरमा गोली चलेको खबर पायौँ । साँझ ४ बजेतिर गोल्मढीका दुई जना साथीहरू आउनुभयो । उहाँहरूले पञ्चहरूको निर्देशनमा गोली चलाएको† राजकुमार सुवाल, निर्मल शाक्य र कृष्णराम दुवाललगायत साथीहरू सहिद भएको तथा अन्य धेरै घाइते भएको कुरा बताउनुभयो । ती साथीहरूका आँखा आँसुले भिजेका थिए । हामीमा पञ्चायती व्यवस्थाप्रतिको घृणाले सीमा नाघ्यो । हामी अत्यन्त दुःखी भयौँ । आफूलाई नियन्त्रणमा राख्न सकेनौँ । हामी आफू जेलभित्र बसिरहेका छौँ भन्ने बिस्यौँ । पञ्चायती व्यवस्थाको विरोधमा चौतारामा गएर भाषण गर्न थाल्यौँ । सबै बन्दीहरू हाम्रो कुरा सुन्न झुम्मिए । भीमप्रसाद गौचन एकैचोटि चिच्याउन थाल्यो, “देशद्रोहीहरूलाई गोली ठोक्नुपर्छ† शासन सत्ता २÷४ जना नमारी टिक्दैन ।” हामीले त्यसको प्रतिवाद ग¥यौँ । ठुलो वादविवाद भयो । त्यो दिनदेखि ऊसँग हाम्रो बोलचाल बन्द भयो ।
चैत २६ गते राति बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा भयो । चैत २७ गते बिहान भीमप्रसाद गौचनले हामीलाई बधाई दियो । तिनीहरू जेलमै सड्ने भयो भनेर चिन्तित देखिन्थे । तर, बहुदलीय व्यवस्था पुनःस्थापना भएको १ वर्ष नबित्दै उनीहरू जेलबाट छुटे । यसरी दलीय व्यवस्थाको विरोध गर्ने भ्रष्ट र अपराधीहरू ससम्मान छुटे । ती अपराधीहरूलाई जेलबाट मात्रै छुटाइएन, आफूलाई कम्युनिस्ट पार्टीको मूल प्रवाह दाबी गर्ने एमालेले रातो टीका लगाई पार्टीमा भित्यायो । सबैजसो ‘राष्ट्रिय’ पार्टीहरूमा पुराना धेरै भ्रष्ट व्यक्तिहरूले प्रवेश पाए । परिणामस्वरूप राजनैतिक पार्टीहरूमा विकृतिहरू देखाप¥यो र जनतामा राजनैतिक पार्टीहरूप्रति नै वितृष्णा बढ्न थाल्यो ।
हो, अध्यक्ष रोहितले भन्नुभएजस्तै बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि मात्रै हामी छुट्याँै । ‘भक्तपुर काण्ड’ भएको बीस महिनापछि जनताले ‘अध्यक्ष रोहितलाई फाँसी दे’ भन्ने नारा लगाउने तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह र राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीलाई नै फाँसीको माग गरे । नेमकिपालाई समाप्त पार्न खोज्ने पञ्चायती व्यवस्था आफै ढल्यो । ‘जो आगोसँग खेल्छ ऊ आगोमै मर्छ† जो पानीसँग खेल्छ, ऊ पानीमै मर्छ’ भन्ने उखान ‘भक्तपुर काण्ड’ ले चरितार्थ ग¥यो ।

स्रोत : ‘केटीहरु’ बुलेटिन, अङ्क १७, २०८१ भदौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *