भर्खरै :

१७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा प्रवचन कार्यक्रम

१७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर, १४ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शुक्रबार ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ नगरभित्र सञ्चालित माध्यमिक तहका विद्यार्थीहरूबिच प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले पुस्तकालय ज्ञान तथा अनुभवको केन्द्र भएको उल्लेख गर्दै यसको सदुपयोगले विद्यार्थीहरूको बौद्धिक विकासमा मद्दत पु¥याउने बताउनुभयो ।
विद्यार्थीले पुस्तकालयमा गई अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने बताउँदै उहाँले विद्यार्थीहरूको हस्तलेखन, वाक्कला राम्रो भए व्यक्तित्व विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।
विद्यालयको पुस्तकालयमा शैक्षिक सामग्री, पाठ्यपुस्तक र सन्दर्भ पुस्तक आदि बन्दोबस्त गरिनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापअन्तर्गत चित्रकला, नृत्य, सङ्गीत, खेलकुद, साहित्यलगायतका विषयमा पनि सिक्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकालयको संरक्षण, संवद्र्धन र विकासका लागि सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै पुस्तकालय विकासले समाजको विकास पनि हुने बताउनुभयो ।
पुस्तकालय ज्ञानको भण्डार हो, पुस्तकालयमा धेरै पुस्तक अध्ययन गर्ने सुविधा हुन्छ भन्दै उहाँले भक्तपुर नपाले नगरस्तरीय जनज्योति पुस्तकालय र वडा वडामा समेत पुस्तकालय सञ्चालन गरी आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आइरहेको बताउनुभयो ।
पुस्तकालयको महत्वबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने बताउँदै उहाँले समाज अगाडि बढ्नुमा अध्ययन अनुसन्धानले महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले दैनिक जीवनमा पठन संस्कृतिको विकासले विद्यार्थीहरूको प्राज्ञिक क्षमतालाई अझ निखार्ने बताउँदै भक्तपुर नपाले पुस्तकालयलाई विशेष प्राथमिकतामा राख्दै त्यसको संरक्षण र संवद्र्धन गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयका पुस्तकालय अधिकृत भूपाल मूलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै पुस्तक किनेर पढ्न नसक्नेहरूका लागि सार्वजनिक पुस्तकालयले धेरै सहज बनाएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले २१ औँ शताब्दीमा अनुभव, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउँदै पुस्तकालयबाट मात्र आधिकारिक तथ्य तथ्याङ्क उपलब्ध हुने बताउनुभयो ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैँया सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *