भर्खरै :

“भ्रष्टाचार नैतिकरूपमा पतन हुने अपराध हो”

“भ्रष्टाचार नैतिकरूपमा पतन हुने अपराध हो”

भक्तपुर, १४ भदौ । २०४५ सालमा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सनास्वरूप भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा ‘युवा आवाज स्वदेशमै रोजगार’ (कक्षा ११ र १२) भक्तपुर नगरव्यापी विद्यालयस्तरीय निबन्ध लेखन र ‘भ्रष्टाचार सामाजिक कलङ्क’ विषयक भक्तपुर नगरव्यापी विद्यालयस्तरीय (कक्षा ८, ९ र १०) कविता प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका विजयीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भ्रष्टाचारलाई नैतिकरूपमा पतन हुने अपराधको रूपमा व्याख्या गर्दै जघन्य अपराधीलाई कानुनबमोजिम मृत्युदण्डको व्यवस्था गर्न सकेमात्र सामाजिक अपराधहरू नियन्त्रण सम्भव हुने बताउनुभयो ।
उहाँले विद्यार्थीहरूलाई सचेत पार्न यस किसिमका प्रतियोगिता आयोजनालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
प्रतियोगितामा सहभागी र विजयी विद्यार्थीहरूलाई बधाई दिँदै उहाँले विद्यार्थीहरूले आफ्नो अध्ययनलाई मजबुत बनाउन पुस्तकहरूको अध्ययनमा जोड दिनुपर्ने र स्वअध्ययनबाट प्राप्त ज्ञान अमूल्य हुने बताउनुभयो ।
देशको शासन व्यवस्था कमजोर हुँदा भ्रष्टाचार पनि मौलाउँदै जाने बताउँदै उहाँले सार्वजनिक संस्था प्रभावकारी बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई प्राज्ञिक सँगसँगै सामाजिक विषयवस्तुहरूमा पनि परिपक्व पार्दै लानुपर्ने आजको आवश्यकता हो भन्दै २०४५ सालमा नेमकिपालाई समूल नष्ट गर्न राज्यस्तरबाट रचिएको भक्तपुर काण्डबारे भत्र्सना गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने वडा सदस्य इन्द्रबहादुर प्याठ, कार्यपालिका सदस्य छोरीमैँया सुजखू र नेपाली शिक्षक हिरालाल फुँयालले प्रतियोगिता आयोजनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा बासु माविका सुप्रिम सुलु प्रथम, वागीश्वरी माविका तन्जली लामा द्वितीय, मोर्डन ई. स्कूलका प्रतिज्ञा पौडेल तृतीय र विद्यार्थी निकेतन माविकी पानसरा शाहीले सान्त्वना स्थान हासिल गरेका थिए भने कविता प्रतियोगितामा महेन्द्र विद्याश्रमका विभूति कार्की प्रथम, वागीश्वरी माविका श्रीया शाही द्वितीय, बासु माविका हिमाल रोकाया तृतीय, विद्यार्थी निकेतन माविकी मनिषा तामाङ र सरस्वती विद्यालयकी सरु तामाङले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पठन संस्कृतिको विकासका लागि महत्वपूर्ण पुस्तकहरू उपहारस्वरूप प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *