“राजनीतिक परिवर्तन हुन एक युग लाग्न सक्छ”
- आश्विन २३, २०८१
भक्तपुर, १५ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ, चाँगुनारायण नगर समितिको आयोजनामा तीजको अवसरमा शनिबार तीज विशेष कार्यक्रम तथा बृहत महिला भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपालमा १४२ जनजाति र १२४ भाषाभाषी भएको सार्वजनिक भएको उल्लेख गर्दै ती सबै जाति र भाषाको संस्कृति संरक्षण गर्नु जरूरी रहेको बताउनुभयो ।
“तीज पर्वलाई संस्कृतिकै रूपमा मनाउनु आवश्यक छ, अङ्ग्रेजको प्रभावभन्दा पहिले नै नेपाली संस्कृतिको निकै विकास भएको काठमाडौँ उपत्यका पनि हो”, उहाँले भन्नुभयो ।
“असभ्य युगमा मानिस जङ्गलमा बस्थ्यो, लुगा लगाउँदैनथ्यो । मानव समाजको विकाससँगै सभ्य र सुसंस्कृति हुँदै आएको हो । संस्कृतिले मानिसलाई सभ्य बनाउँछ । समाजलाई सुसंस्कृत बनाउने मानिस नै हो । बुहारीलाई छोरी जस्तै ठान्नु पर्दछ र बुहारीले पनि सासुलाई आफ्नै आमाजस्तै ठान्नुपर्छ”, सांसद सुवालले थप्नुभयो ।
“हैजा, डेँगी, कोभिड–१९ लगायत महामारी फैलिन रोक्न मानिसले कम्तिमा १० मिनेट घर वरिपरी पनि सफा गर्नु जरूरी छ । सुस्वास्थ्यको लागि पत्रु खानेकुरा, चाउचाउ, चिसो पेय पदार्थ सेवन गर्नुहुँदैन । धूमपान र मद्यपान सेवन गर्नुहुँदैन”, उहाँले भन्नुभयो ।
नेमकिपाले नेपालीलाई देशभित्र रोजगारीको व्यवस्था हुनुपर्ने आवाज राख्दै आएको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “सरकारहरूले गएको वर्षमा दुई लाख महिला र पाँच लाख पुरूष गरी ७ लाखभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाए । वैदेशिक रोजगारीमा पठाइएकाहरू कतिपयको घर व्यवहार भत्किएको छ ।”
उहाँले भन्नुभयो, “नेपालमा कम्युनिस्ट दावी गरेका पार्टीहरूले सरकारमा गएर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाए । कम्युनिस्टहरूले मजदुर–किसानलाई विद्यालय र कलेज पठाउँछन् तर, नेपालका कम्युनिस्ट दावी गरेका सत्तासीन पार्टीहरूले यस्तो काम नगरेको हुँदा तिनीहरू नक्कली कम्युनिस्ट हुन् ।”
“मन्त्री बन्नु महत्वको होइन† काम गरेर देखाउनु महत्वको हो । नेपालमा सरकारमा गएका कुनै पनि पार्टीले देश र जनताको हितमा काम गर्न सकेनन् । नेपाल मजदुर किसान पार्टी पुँजीवादी सरकारमा जाँदैनन् । पुँजीवादी सरकारमा गएकाहरू कम्युनिस्ट हुनसक्दैनन्”, सांसद सुवालले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सांसद सृजना सैजूले तिज पर्व कला र संस्कृतिमात्र नभई देशको सम्पदा पनि भएको धारणा राख्दै कला संस्कृति बचाउनु राज्यको दायित्व हो भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाको उद्देश्य जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने भएकोले महिलाहरूलाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपमा सक्षम बनाउनु आवश्यक छ भन्नुभयो ।
कार्यकर्ताहरूले पार्टी प्रकाशन अध्ययन गरी छलफल र अन्तरक्रिया कार्यक्रममा चालु राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुहानपोखरीको जलाधार क्षेत्रलाई संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपाध्यक्ष फोजूले जलाधार क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण गर्न नहुने र गरिएको भए त्यसलाई बन्द गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष सानुमाया लागेजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा वाग्मती प्रदेशका सदस्य सांसद गीता काफ्ले, चानपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, कलमा गिरी, सीता कार्कीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा तीजको गीतमा नाचगान गरी रमाइलो पनि गरिएको थियो ।
Leave a Reply