अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
पहिलो र दोस्रो विश्व युद्धका युद्धको विभिषिकाबाट युरोप मात्र होइन एसिया पनि उत्तिक्कै पीडित र प्रभावित भएको थियो । त्यसैले अब त्यस्तो युद्ध नहोस् भन्ने विश्वकै शान्तिप्रेमी जनताको भावना हो । उक्त जनभावनाको मानितो अधिकांश एसियाली देशहरूले राखेका छन् । फलतः अपवाद केहीलाई छोडेर एसियाली देशहरूबिच ठुलो युद्ध भएको छैन । एसियाली देशहरूबिचको यो शान्तिपूर्ण सम्बन्ध अमेरिका र युरोपका साम्राज्यवादी देशहरूका लागि भने पाच्य भइरहेको छैन । त्यसैले संरा अमेरिकालगायत पश्चिमा देशहरू एसियामा युद्ध भड्काउने र एसियाली देशविरुद्ध एसियाली देशलाई नै उक्साउने खेलमा लागिरहेका छन् ।
दक्षिण कोरियालाई उक्साएर प्रजग कोरिया र दक्षिण कोरियाबिच युद्धको आगो लगाउने खेल अमेरिकी शासकहरूले कोरिया युद्धको युद्धविरामदेखि नै खेल्दै आएका छन् । प्रजग कोरियामाथि हमला गर्ने नियतले नै दक्षिण कोरियामा संरा अमेरिकाले आफ्ना करिब ३० हजार सेना आणविक अस्त्रसहित तैनाथ राखेको छ । प्रजग कोरियाका नेता र जनताको संयमता, बुद्धिमता र प्रतिरक्षा शक्तिको विकासले गर्दा युद्धमा समान नोक्सानी हुने सम्भावनाका कारण युद्ध थालनी गर्ने आँट साम्राज्यवादी र कठपुतली सेनाले गर्न सकेका छैनन् । तर हरेक वर्ष दक्षिण कोरिया र अमेरिका त कहिले जापानलाई समेत सामेल गरी प्रजग कोरियालक्षित युद्धअभ्यासहरू चालु राखेका छन् ।
दक्षिण चीन सागरका केही टापुहरूमाथि नियन्त्रणको विषयमा विवाद चर्काएर चीनसित छिमेकी देशहरूको तनाव बढाउने र उक्साउने कार्य पनि संरा अमेरिकाले गर्दै आएको छ । पहिले उसले भियतनामीहरूलाई उक्साउन खोज्यो तर सफल नभएपछि अहिले फिलिपिन्सका दक्षिणपन्थी राष्ट्रपति मार्कोस जुनियरलाई उक्साएर चीन–फिलिपिन्स भिडन्त चर्काउन खोजेको छ । वास्तवमा अमेरिकाको लागि फिलिपिन्स साथी नभई साधनमात्र हो । अमेरिकी कूटनीतिक नीतिको मुख्य उद्देश्य एसिया प्रशान्त क्षेत्र र विश्वभर आफ्नो प्रभूत्व कायम राख्नु हो । त्यसैले अमेरिकाले दक्षिण चीन सागर क्षेत्रको मामिलामा अति चासो देखाउनुको उद्देश्य फिलिपिन्स–अमेरिका मैत्री सम्बन्ध र फिलिपिन्ससँगको मित्रताका लागि होइन, बरु चीनको प्रगति रोक्न फिलिपिन्सलाई साधनको रूपमा प्रयोग गर्नु हो । फिलिपिन्सका लागि बाहिरी शक्तिहरूको प्रभूत्वको लाभका लागि आफूलाई प्रयोग गरिनु र छिमेकी देशहरूसँगको द्वन्द्वमा आफैँलाई संलग्न गर्नु वास्तवमै एकदम मूर्खतापूर्ण कार्य हो । देशभक्त फिलिपिनो जनताले राष्ट्रपति र सरकारको नीतिको विरोधमा बरोबर विरोध प्रदर्शन गरिरहेका छन् तर डलरमा बिकेका शासकहरू नाफाका लागि देशलाई युद्धको भुङ्ग्रोमा हाल्न तयार देखिएका छन् ।
हालै जापान–अमेरिका कूटनीतिक सुरक्षा बैठक भयो । उक्त विदेशमन्त्री तथा रक्षामन्त्रीस्तरीय बैठकले दुई देशबिचको रक्षा सन्धिमात्र विस्तार गरेको नभई पूर्वी एसियामा युद्धको बादल सिर्जना गरेको छ । जापानको खतरनाक कदममध्ये अमेरिकासँग ‘विस्तारित प्रतिरोध’ को सुदृढीकरण हो । कथित ‘विस्तारित प्रतिरोध’ शीतयुद्धको उत्पादन हो, त्यसको अर्थ संरा अमेरिकाले आफ्ना आणविक हतियारलगायत सैन्य बलबाट गठबन्धनका देशको सुरक्षा गर्ने वचनवद्धता हो । सन् २०१० देखि जापान र अमेरिकाका विदेश तथा रक्षा मन्त्रालयहरूले यस विषयबारे छलफल गर्दैआएका थिए र यस वर्ष उनीहरूले रक्षामन्त्रीस्तरीय संरचनाको स्थापना गरेका छन् । हालै आयोजित विस्तारित प्रतिरोधसम्बन्धी पहिलोपटक मन्त्रीस्तरीय बैठकमा जापान र अमेरिकाले अमेरिकी ‘आणविक अस्त्रको छाता’ साझा गर्ने उद्देश्यलाई सुनिश्चित गरेका छन् । रक्षा विज्ञहरूको विचारमा जापानको यो कदमले आणविक हतियारको अप्रसारसम्बन्धी महासन्धिमा गैरआणविक अस्त्र राष्ट्रको दायित्व उल्लङ्घन भएकोे छ । जसले आणविक प्रसार र द्वन्द्वको जोखिम बढाउने र क्षेत्रीय तनावलाई अझ चर्काउनेछ । जापानको पुनः सैन्यकरणलाई सहायता दिनु र विभिन्न सन्धि सम्झौतामार्फत् जापानलाई आणविक अस्त्रसम्पन्न बनाउनुमा पश्चिमाहरूको भित्री नियत एसियामा युद्धको ज्वाला भड्काउने रहेको प्रस्ट देखिन्छ ।
Leave a Reply