भर्खरै :

राष्ट्रव्यापी खुला फिडे ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सम्पन्न

राष्ट्रव्यापी खुला फिडे ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सम्पन्न

भक्तपुर, २२ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घको ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ तेस्रो नगर सम्मेलन तयारी समिति मध्यपुरद्वारा आयोजित दुईदिने खुला फिडे ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले खेलकुद अनुशासन र मित्रताको निम्ति खेलिने उल्लेख गर्दै खेलकुदमा जस्तै मानव जातिको समस्या समाधान गर्न पनि सबै एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “खेलकुदको मैदान र खेलकुद भवन धेरै भए अस्पताल र स्वास्थ्य चौकी कम भए पुग्ने विज्ञहरूको मत रहेको छ । मानिस स्वस्थ भए देश स्वस्थ हुन्छ । खेलाडीहरूले जङ्कफुड (पत्रुखाना) खानु हुँदैन । जङ्कफुडले २०–३० वर्षका युवाहरूको मिर्गौला बिग्रनुका साथै क्यान्सरजस्ता घातक रोगहरू पनि निम्त्याएको छ । यसर्थ, शरिरलाई हानि नपु¥याउने घरकै शुद्ध खाना खानु जरुरी छ ।”
उहाँले थप्नुभयो, “सरकारले खेलकुदमा पक्षपात गर्नु हुँदैन, अन्तर्राष्ट्रिय खेलहरूमा शासक दलहरूले आफ्ना मान्छेलाई मात्र प्राथमिकता दिएको गुनासो बढ्दो छ । हामीले बिनापक्षपात योग्य खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनुपर्ने विषय बारम्बार उठाउँदै आएका छौँ ।”
सांसद सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूमा देशको ७७ जिल्लाका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय उच्च शिक्षा हासिल गरिरहेको उल्लेख गर्दै ख्वप विश्वविद्यालय सञ्चालन गरेर सस्तोमा चिकित्सा शिक्षा पनि पढाउन चाहेको भक्तपुर नगरपालिकालाई शासक दलहरूले विधेयक पारित गरी जनताका छोराछोरीलाई अध्ययन अनुसन्धानमा लाग्ने अवसर दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “शासक दलहरूले नेपाली जनतालाई अमेरिकी नीति तथा कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता गरेर देशघात गरे । नेपाल सरकारले विदेशीको भर नपरी आफ्नै खुट्टामा उभिएर देशलाई अगाडि बढाउनुपर्छ ।”
“गणतन्त्र र लोकतन्त्रमा पटक–पटक प्रधानमन्त्री भएका शासक दलका नेताहरू देश विकास गरेको दाबी गर्छन् तर देशलाई रु. २४ खर्ब ऋणमा डुबाए ।” सांसद सुवालले बताउनुभयो ।
“शासक दलहरूले ०६३ सालमा दिइएको जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता विधेयक पारित गरेर नेपाललाई सिक्किम बनाउन खोजेका छन् । सत्ताका भोका संसद्वादी दलहरूले देश बिगारेको हुँदा नेपाली जनताले सङ्घर्ष जारी राख्नुपर्छ ।” सांसद सुवालले भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले खेलाडीहरू विश्वमा भएका मानवताविरोधी युद्धको विरोधमा लाग्नु जरुरी रहेको उल्लेख गर्दै इजरायली फासीवादले प्यालेस्टिनी जनतामाथि गरेको अन्यायपूर्ण नरसंहारविरुद्ध पनि बोल्नु जरुरी रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले अमेरिकाको हतियार बोकेर इजरायली फासीवादले प्यालेस्टिनी जनतामाथि गरेको अत्याचारबारे विस्तृत विवरण प्रस्तुत गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र था श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतियोगिताका चिफ आर्बिटर फिडे राजकुमार लघुले प्रतियोगिताको नतिजा घोषणा गर्नुभयो भने नेक्रायुसङ्घ मध्यपुरका वीरकृष्ण प्रजापति, राजु कैति र एक्टिभ इ. स्कूलका निर्देशक आशाहरि प्रजापतिले पनि बोल्नुभयो ।
प्रतियोगिता स्थलमा प्यालेस्टिनी जनतामाथि इजरायली फासीवादले गरेको मानवताविरोधी नरसंहारको तस्बिर पनि प्रदर्शन गरिएको थियो ।
प्रतियोगितामा हर्कबहादुर चोङवाङ प्रथम, बद्रीलाल नेपाली द्वितीय, धिरेन राई तृतीय, सुरोज महर्जन चौथो, निकेन कुसाथा पाँचौँ, पुरुषोत्तम सिल्वाल छैटौँ, पुरुषोत्तम चौलागाई सातौँ, गणेशमान दुवाल आठौँ, राजन सुवेदी नवौँ र दामोदर गाइँजूले दसौ स्थान हासिल गर्नुभयो ।
त्यस्तै नवीन तन्डुकार वेस्ट भेट्रान, जगन्नाथ ताम्राकार सेकेन्ड वेस्ट भेट्रान, पुनम प्रसाई वेस्ट वोमन, सोनी डंगोल सेकेन्ड वेस्ट वोमन, स्वर्णिम दुवाल वेस्ट रेटिङ विलो १७००, गणेशकुमार चाकुमनी सेकेन्ड वेस्ट रेटिङ विलो १७००, रोहन कर्ण वेस्ट अनरेटेड, नारायण ढकाल सेकेन्ड वेस्ट अनरेटेड, जेन श्रेष्ठ वेस्ट लोकल मध्यपुर, श्याम राजवाहक सेकेन्ड वेस्ट लोकल मध्यपुर, ओस्कर पन्थी वेस्ट जुनियर अन्डर १२, ओजस्वी श्रेष्ठ वेस्ट जुनियर अन्डर १२
(महिला), संयोग लामा वेस्ट जुनियर अन्डर १४ (पुरुष), अग्रता आचार्य वेस्ट जुनियर अन्डर १४ (महिला), सम्यक श्रेष्ठ वेस्ट जुनियर अन्डर १६ (पुरुष) र यशस्वी शर्मा वेस्ट जुनियर अन्डर १६ (महिला) तर्फ विजेता हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *