भर्खरै :

नापतौल डोरमा कमलविनायक क्षेत्रका ५९ व्यवसायीले लिए सेवा

नापतौल डोरमा कमलविनायक क्षेत्रका ५९ व्यवसायीले लिए सेवा

भक्तपुर, २३ भदौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत आइतबार ५९ जना व्यापारी–व्यवसायीले नापतौलका सामग्रीहरूको दर्ता तथा नवीकरण गराएका छन् ।
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरूको टोलीले चौथो दिन कमलविनायकस्थित बिग मार्ट परिसरमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । पहिलो दिन मङ्गलबार भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा, दोस्रो दिन बुधबार सुकुलढोकामा र तेस्रो दिन बिहीबार लिबालीमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरिएको थियो । नापतौल डोर कार्यक्रमअन्तर्गत २४ गते सोमबार बाराही मन्दिरनजिक र २५ गते मङ्गलबार सल्लाघारी चोङा गणेश मन्दिर तलको ढुङ्गेधारा पाटीमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरूको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगी, व्यापारी तथा व्यवसायीहरूले प्रयोग गर्ने नापतौलका सामग्रीहरूको दर्ता र नवीकरण समयमै गर्नुपर्छ र ती सामग्रीहरू ठीक छ कि छैन भनेर नियमानुसार जाँच गराउनुपर्छ । समयमै दर्ता तथा नवीकरण नगरेमा जरिवाना तिर्नुपर्ने भएकोले अहिले सञ्चालन भइरहेको नापतौल डोर कार्यक्रममा सेवा प्राप्त गर्न सम्पूर्ण व्यवसायी, व्यापारीहरूलाई आग्रह गर्दछु ।”
सङ्घका कोषाध्यक्ष एवं सङ्घअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरू समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौँ पुग्नुपर्ने झन्झटबाट मुक्त भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका व्यवसायी, व्यापारीहरूले प्रयोग गरेका नापतौलका सामग्रीहरूको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौँका सहायक निरीक्षक गोविन्द पहारीले बताउनुभयो । नापतौलका सामग्री खरिद गरी नियमानुसार समयमै दर्ता नगराएका तथा समयमा नवीकरण नगराएका व्यवसायी तथा व्यापारीलाई जरिवाना लिएर दर्ता तथा नवीकरण गरिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *