कसिमलापाँय् र हस्तलेखन प्रतियोगिता सम्पन्न
- आश्विन १४, २०८१
भक्तपुर, २७ भदौ । भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडा नं. १ विद्यालयस्तरीय चित्रकला प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रतियोगिता आयोजनाले धेरै विद्यार्थीहरूमा उत्साह थपिएको बताउँदै विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस किसिमका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुरको कला संस्कृति, संस्कार, भाषा, इतिहास आदिबारे विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्ने उद्देश्यले नगरभित्रका सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागु गरेको चर्चा गर्दै उपप्रमुख जोशीले सफा र स्वच्छ वातावरण निर्माणको लागि प्लाष्टिकजन्य फोहोरलाई निषेध गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुर शिक्षाको उत्कृष्ट गन्तव्यस्थलको रूपमा विकास भइरहेको चर्चा गर्दै शिक्षाबाट अगाडि बढेको भक्तपुर नपाले स्वास्थ्यअन्तर्गत १०० बेडको ख्वप अस्पताल सञ्चालन, घरदैलो नर्सिङ सेवालगायतका सुविधाहरू प्रदान गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुटनको लागि वडाले विविध अतिरिक्त क्रियाकलापहरूको प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो ।
कार्यक्रममा गणेश मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले प्रतियोगिता आयोजनाले विद्यार्थीहरूको सीप प्रदर्शन गर्ने अवसर मिलेको बताउँदै विद्यालयहरूमा चित्रकलाको प्रशिक्षण सञ्चालनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
मूल्याङ्कन समितिका जगतराम धुख्वाले विद्यार्थीहरूले किताबी ज्ञानसँगसँगै आफ्नो रुचिअनुसारको ज्ञान र सीप हासिल गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं.१ का वडा सदस्य कल्पना शिल्पकार, गंगा बमनू, कृष्णबहादुर दुगुजु र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।
चित्रकला प्रतियोगिताअन्तर्गत कक्षा १ देखि ५ सम्म छात्रतर्फ सूर्यविनायक इ. स्कूलका अतिशकुमार यादव प्रथम, मोर्डन इ. स्कूलका सम्राट बुढाथोकी द्वितीय, निकोल्सन स्कूलका सक्षम दनुवार तृतीय र सन्तति आ.वि.का करण दास सान्त्वना भएका थिए । त्यस्तै छात्रातर्फ मोर्डन इ. स्कूलका सुहाना राई प्रथम, गणेश माविका सकिला स्याङताङ द्वितीय, सूर्यविनायक स्कूलका प्रशुना श्रेष्ठ तृतीय र निकोल्सनका प्रत्युसा कार्की सान्त्वना भएका थिए ।
कक्षा ६—८ छात्रतर्फ गणेश माविका पंकज महत्तो प्रथम, अक्सफोर्ड प्राक्टिकलका आरब चौधरी द्वितीय, सनसाइन इ. स्कूलका आरोग्य ताम्राकार तृतीय र सैनिक आवासीय महाविद्यालयका मिगिन रानामगरले सान्त्वना स्थान हासिल गरेका थिए । त्यस्तै छात्रातर्फ सैनिक आवासीय महाविद्यालयका प्रशंसा प्रसाई प्रथम, सूर्यविनायक स्कूलका सृष्टि राई द्वितीय, गणेश माविका निशा तामाङ तृतीय र सनसाइनका दिया शाक्यले सान्त्वना स्थान हासिल गरेका थिए ।
उक्त प्रतियोगितामा भनपा वडा नं. १ स्थित अक्सफोर्ड प्रा. इ. स्कूल, सनसाइन नेसनल स्कूल, सन्तति आ.वि., लिटिल वल्र्ड इ. स्कूल, गणेश मावि, मोर्डन इ. स्कूल, सूर्यविनायक इ. स्कूल, निकोल्सन से. स्कूल, ज्ञानविजय आधारभूत विद्यालय, उदय आ.वि. सैनिक आवासीय महाविद्यालय गरी ११ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
Leave a Reply