ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
नेपाली साहित्यको आकाशमा थुप्रै साहित्यकार तथा लेखकहरू जन्मे र हुर्के । उनीहरूले आफ्नो जीवन साहित्य, पुस्तक रचना र सिर्जनामा अर्पण गरे । उनीहरूले देशलाई विश्वमा चिनाउने काम गरे । नेपाली साहित्यको ढुकुटीमा यथार्थवादी, प्रगतिशील साहित्य रचेर साहित्यिक पुस्तक लेख्ने साहित्यकार, लेखकहरूमध्ये हृदयचन्द्रसिंह प्रधान पनि एक हुन् । जीवनीकार प्रभात सापकोटाद्वारा लिखित यिनै प्रधानका जीवनका नालीबेलीको केही अंश यहाँ उल्लेख गर्ने जर्मको गरेको छु ।
जीवनी भनेकै कुनै व्यक्तिको जीवनका भोगाइका अनुभवका नालीबेली, आरोह र अवरोह हो । यस्तै जीवन हामी हृदयचन्द्रसिंह प्रधानको जीवनीमा पाउँछौँ । साहित्यकार प्रधानले देशमा प्रजातन्त्र ल्याउन साहित्यको माध्यमबाट गुप्त वा खुलारूपमा भाग लिएर योगदान दिएको तस्बिर जीवनीमा पाउँछौँ ।
हृदयचन्द्रसिंह प्रधानको बिहे आफू २० वर्ष हुँदा पाटन, सुनधारातिरकी रुक्मिणी देवीसँग भयो ।
वि.सं. १९७२ माघ १२ गते काठमाडौँको सुन्ता गाउँमा जन्मेका प्रधान पिता सूर्यप्रसाद सिंह प्रधान र माता सूर्जमायाका सात सन्तानमध्येका जेठा थिए । उनका ललित चन्द्रसिंह प्रधान, कृष्ण चन्द्रसिंह प्रधान र भुवन चन्द्रसिंह प्रधानसहित ती भाइ र चन्द्रा, लक्ष्मी र सुलोचना गरी तीन बहिनीहरू थिए ।
बाल्यकालमा प्रधानको पढाइमा कमजोर थियो । ८ वर्षको हुँदा अभिभावकले उनलाई ‘बुद्धि चाणक्य’ भन्ने पुस्तक दिएर पढ्न हौस्याउने काम गरे । उक्त पुस्तक पढेको देखेर मामाघरका सबै दङ्ग भए । मामाघर र घर दुवैरिबाट उनको प्रशंसा भयो । प्रधानको परिवार आर्थिकरूपमा कसरी कमजोर भयो भन्ने कुरा खुलाउँदै लेखक अगाडि लेख्छन्, “हाम्रो अघिल्लो पुस्ता आर्थिकरूपमा परिपूर्ण भए पनि खर्चमा संयम हुन नसक्दा वा बुबाको खर्चिलो बानीले गर्दा धेरै ऋण लाग्यो । त्यो ऋण तिर्न घर बेच्नुप¥यो । त्यसैले उनी १२ वर्षको हुँदा आफ्नो प्यारो जन्मभूमि छोडेर हिँड्नुभयो ।”
गरिबीको कारण आर्थिक जोहो गर्न, कामको खोजीमा आमाबुबासँग दाजुभाइसहित काठमाडौँबाट तराई झर्नुप¥यो । उनीहरू काठमाडौँको सुन्ता गाउँबाट गुन्टा कसेर विष्णुमती, कालीमाटीको मलिलो फाँट, रुख बिरुवासँग बिदा लिँदै गए ।
वीरगञ्जदेखि अमलेखगञ्जसम्म रेल चलाउने योजना थियो । वीरगञ्जबाट ३ कोस जति पश्चिमतिर पर्छ रानीगञ्ज । वीर शमशेरको ठाहिँलो छोरो । राणा शासककै जनरल, तेजु शमशेरको जग्गा भएको क्षेत्र । मेरा बाले काम गर्नुपर्ने ठाउँ । यहाँ कोही खेतीको काममा लागेका, कोही गाई गोरुको रेखदेखको जिम्मा लिएर बसेका, कोही भने घरको काममा खटेका, कोही डिठा, कोही मुखिया । हरहिसाब गर्न छुट्टै । त्यसमध्ये बा पनि एकजना कर्मचारी ।
बरालिएको देखेर हो कि पढाइमा लगाउन सकिएन भन्ने चिन्ताले हो, बाले मलाई वीरगञ्जदेखि एक कोस जति पूर्व सुनौल पठाइदिनुभयो । साँच्चै किसानहरू त झुपडीमा बस्ने, भुइँमा सुत्ने, पाए खाने नपाए भोकै बस्ने, काम चाहिँ भोकै भए पनि गरिरहनुपर्ने । उनीहरूका पेट त भित्र पसेका, जिउ सुक्न लागेका । मालिकका छोराछोरी भने खाएका, लाएका र रातापिरा । मालिकहरू मात्र मान्छेमा गनिने चलन भएको ठाउँ । काम गर्ने जति सबै नोकर । कमारा, दास अनि पशु । मेरा बुढा मावलीहरू जमिनदार । जमिनदार आफू नजिक आएको देखेपछि सारा किसानहरू दौतरी पनि थिए । उनीहरू त किसानका टाउकोमा टेकेर हिँड्थे ।
१९६२ तिरको कथा हो । जात व्यवस्था आवश्यक नठान्ने पाटनका माधवराज जोशीको । उहाँ पशुपतिलाई ढुङ्गो भन्नुहुन्थ्यो । मूर्तिपूजालाई व्यर्थ ठान्नुहुन्थ्यो । श्राद्ध, काजक्रिया आदिलाई पनि छाँटकाँट गर्न खाँचो देख्नुहुन्थ्यो । संस्कार गर्दा कम खर्चले पनि चल्ने उहाँको ढङ्ग मानिसहरूलाई मनप¥यो । धेरै मानिसले उहाँको अनुकरण गर्न खोजे । सरकारका मान्छेहरूलाई भने यस्तो कुरा पचेन । चन्द्र शमशेरले उहाँलाई सिंहदरबारमै बोलाउन पठाए । उहाँलाई देउता नमानेको दोष लाग्यो । समाज भाँडेको आरोप पनि लाग्यो । आरोपले मात्र पुगेन, उहाँलाई कुट्न लगाइयो । रगतपच्छे बनाइसकेपछि नगर घुमाउन हुकुम दिइयो । माधवराजलाई समाजबाट बाहेक गर्न आदेश दिइयो । जेल हाल्यो । माधवराजकै सन्तान शुक्रराज निकालिदियो । निर्दाेष बालबालिकाहरू पनि पढाइबाट वञ्चित हुनुपर्ने सजाय भयो । श्री ३ सरकारले छोडेपछि उहाँको परिवारलाई पाटनको समाजले पनि छोड्यो । काठमाडौँको समाजले पनि अपमान ग¥यो । कृष्णलालको कथा पनि उस्तै । वि.सं. १९७७ सालको कुरा हो । कृष्णलाल अधिकारीले ‘मकैको खेती’ पुस्तक लेखे । अपराधीहरूले सरकारलाई चुक्ली लगाए । कुशासनले निर्दाेष मान्छेलाई पनि दोषी देख्यो । राणा सरकारले कृष्णलाललाई जेलमै सडाएर मा¥यो ।
आफ्नो नाम फेर्ने धुन र लेखाइबारे लेखक अगाडि लेख्नुहुन्छ, मेरो सक्कली नाम चन्द्रप्रसाद । अलि पहिलेको कुरा । म वीरगञ्जको बाटोमा डुल्दै थिएँ । कसैले बोलायो ‘चन्द्रप्रसाद ।’ आफैलाई बोलाएको सम्झेर म आवाज आएको ठाउँ नजिकै पुगेँ । अरु दुई तीनजना पनि त्यही जम्मा भए । पछि थाहा भयो । जम्मा हुने सबैको नाम चन्द्रप्रसाद रहेछ । त्यसपछि त मेरै नामबाट म आफूलाई असजिलो अनुभव भयो । कति सस्तो नाम । मैले अनुमान गरेँ, यस्तो सस्तो नामले काम चल्दैन । मैले आफ्नो नाम फेर्ने विचार गरेँ । फेर्न पनि मलाई समस्या भयो । कसरी फेर्ने ? मेरो नाम चन्द्रप्रसाद होइन भन्दै हिँडेर मात्र पनि त भएन । वि.सं. १९९२ तिरको कुरा हो । ‘शारदा’ पत्रिका निस्किन्थ्यो । पत्रिका मेरो हातमा प¥यो । त्यसमा कविता, कथा र निबन्धहरू थिए । पढ्दापढ्दै रचनाले मलाई लोभ्यायो । पछि त आफूलाई पनि लेख्न मन लाग्यो । मैले ‘मातृ स्नेह’ शीर्षक दिएर निबन्ध लेखेँ । साथीलाई देखाएँ । उहाँले छाँटकाँट गरी ठाउँ–ठाउँमा थप्ने सुझाव दिनुभयो । मैले सुझावअनुसार थपेँ । अन्त्यमा, छाप्न दिने सल्लाह भयो । तयार भएपछि आफूले छानेको नयाँ नाम हृदयचन्द्र लेखेँ । शारदा पत्रिकामा छाप्न दिएँ । छापिएर आयो । त्यसपछि म चन्द्रप्रसादबाट हृदयचन्द्र भएर जन्मिएँ ।
देशमा उज्यालो बाल्ने मान्छेहरूका बारेमा लेखक अगाडि लेख्नुहुन्छ, देशमा अज्ञानको अँध्यारो धेरै छ । गरिबीको समस्या, शिक्षाको खाँचो, जाँगरको अभाव, आँखा खोलेर काम गर्न त मुस्किल र तर्कको संसार साँघुरो थियो । यस्तो अन्योलको बेला युवाहरूको चेतना बिस्तारै खुल थाल्यो । चेतना प्रस्फुरण भएर सार्वजनिकरूपमा बाहिर निस्कयो । वि.सं. १९९३ जेठ महिनाको कुरा हो । टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र अरु युवाहरूसमेत मिलेर सङ्गठन खोल्ने काम भयो । मुलुकभरि उज्यालो छर्ने, साइत पनि जुर्ने भयो । सङ्गठनले मान्छे जोगाउने काममा ठुलो काम ग¥यो । यही साल महाबीर स्कूल खुल्यो । पछि त शुक्रराज जोशी (शास्त्री), केदारमान व्यथित, मुरलीधर पण्डित आदिको संलग्नतामा ‘नेपाल नागरिक अधिकार समिति’ पनि गठन भयो । वि.सं. १९९५ मङ्सिरको सुरुतिरको कुरा, गङ्गालाल श्रेष्ठले असनमा भाषण गर्नुभयो ।
वि.सं. १९९७ सालको कुरा ‘प्रजा परिषद्’ का सदस्यहरूले पर्चा तयार गरे । पर्चा त तयार भयो । जनतामा पु¥याउने कसरी भन्ने प्रश्न उठ्यो । जाउलाखेलमा मछिन्द्रनाथको भोटो देखाउने दिन क्रान्तिकारीहरूले जात्रा र भिडभाडकै समयलाई मुहर्त बनाए । परम्परागत जात्रा सकियो । त्यसपछि मुख्य जात्रा सुरु भयो । राणाहरूको विरोधमा उपत्यकाभरि जताततै पर्चा छरियो । पर्चा शासकका हातमा पनि पुग्यो ।
सरकारले गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमा, शुक्रराज जोशी (शास्त्री) र दशरथ चन्द चारजनालाई मूल दोषी ठहर ग¥यो । राणा सरकारले गङ्गालाल र दशरथ चन्दलाई विष्णुमतीको शोभा भगवतीनेरको बगरमा लगेर गोली ठोकी मृत्युदण्ड दियो भने शुक्रराज र धर्मभक्तलाई सबैले देख्ने सडक बाटोमा क्रमशः टेकु पञ्चलीनेरको खरीको रुखमा र ज्ञानेश्वर सिफलको रुखमा झुन्ड्याएर मृत्युदण्ड दियो । सयौँ जनालाई आजीवन जेल, कतिलाई नजरबन्द, कतिलाई त अखबार पढ्न पनि रोके । कैयौँलाई जरिवाना तिराए । दस वर्षपछि स्वतन्त्रताको ज्योति बल्यो । राजाले पनि दरबार छोडे । प्रधानमन्त्री मोहन शमशेरसमेत आत्तिए । देशभरि नै जागरण आयो । त्यत्रो फुइँफाइँ गर्न राणा शासन त पुर्लुक्क ढल्यो ।
‘सिर्जनामा रमाइरहेको म’ भन्ने जीवनीको खण्डमा जीवनीकार प्रधानका बारेमा यसरी लेख्नुहुन्छ, आफ्नै दौतरीहरूसँग निकै ठट्यौलो गर्ने बानी, बोलक्कड प्रधानले थुप्रै यथार्थवादी, प्रगतिशील कविता, निबन्ध कथा, साहित्यका सिर्जनाहरू नेपाली साहित्यिक भण्डारमा भण्डारण गरेका छन् । वि.सं. २००३ मा ‘भू–स्वर्ग’ निबन्ध सङ्ग्रह† २००४ मा ‘तीस रूपैयाँ नोट’ साहित्य† एक दृष्टिकोण, समालोचना, व्याकरणमा ‘शब्द शुद्धि विचार’ समेत गरेर २००४ सालमै ३ वटा पुस्तक छापिए । वि.सं. २००९ सालमा ‘जुँगा’ निबन्धसङ्ग्रह छापियो । वि.सं. २०११ सालमा ‘गङ्गालालका चित्ता’ एकाङ्की नाटक, ‘कुरा साँचो हो’ निबन्धसङ्ग्रह, टीबीका बिरामी उपचार गर्ने टोखाको अस्पतालमा उपचार गरिरहेका बेला डाक्टरहरूले लेख्ने काम नगर भन्दाभन्दै आँखा छलेर लेखेको उपन्यास ‘स्वास्नीमान्छे’ गरी तीनवटा पुस्तक प्रकाशित भयो । वि.सं. २०१२ सालमा ‘भानुभक्त एक समीक्षा’ पनि प्रकाशित भयो । वि.सं. २०१५ सालमा ‘उनी देवता हुन्’ र २०१६ सालमा ‘कीर्तिपुरको युद्धमा’ दुइटा एकाङ्की छापिए । त्यसैगरी, ‘एक चिहान’ उपन्यास, उपसोच निबन्धसङ्ग्रह पनि प्रकाशित भयो । नेपाली काव्य, उसका प्रतिनिधि कवि, ‘शब्द शुद्धिया वाचा’ नेपाली भाषाको व्याकरण आदि पुस्तकहरू पनि प्रकाशित भए । विभिन्न पत्रपत्रिकाहरूमा सम्पादनको काम गरेको त बेग्लै भयो ।
सिंहदरबारको क्रूर कथा व्यथाको वर्णन गर्दै लेखक यसरी पस्किनुहुन्छ, वि.सं. १९९७ सालमा राणाहरूले आफ्नो काममा प्रश्न उठाउने चार जनालाई मार्न लगाए । कैयौँलाई आजीवन कारावास, कतिलाई जरिवाना तिराए । सरकार क्रूर बन्यो । त्यसैले, राणा शासनको सशक्त विरोध भयो ।
हृदयचन्द्रसिंह प्रधानको टीबी रोगसँग लड्दालड्दै मृत्यु भयो । अमूल्य जीवन प्रकृतिलाई सुम्पेर धर्तीबाट उहाँ विलीन हुनुभयो ।
विदेशीहरूका अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिभासम्बन्धी पुस्तकहरू जताततै पाइन्छ । तर, हाम्रा राष्ट्रिय प्रतिभाहरूका पुस्तक बिरलै प्रकाशन भए पनि ती प्रायः साहित्यिक पत्रपत्रिका र विशेषाङ्कको रूपमा मात्र सीमित छन् । यस्तो राष्ट्रिय प्रतिभाको जीवनसम्बन्धी पुस्तकको खडेरी परेको अवस्थामा यो पुस्तकको प्रकाशन गर्न पाउँदा गौरवको अनुभूति गर्ने एजुकेसनल पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठलाई साधुवाद ! उहाँजस्ता प्रकाशकबाट प्रधानका प्रकाशन हुन बाँकी कृतिहरू प्रकाशन गरेर पाठकले पढ्ने आशा लिनु स्वाभाविकै हो ।
Leave a Reply