भर्खरै :

प्रगति पुस्तकालयको आधारभूत चित्रकला तालिम सम्पन्न

प्रगति पुस्तकालयको आधारभूत चित्रकला तालिम सम्पन्न

भक्तपुर, २९ भदौ । प्रगति पुस्तकालयको आयोजनामा भएको तीन महिने आधारभूत चित्रकला तालिमको भक्तपुर आदर निकेतनमा शनिबार समापन भएको छ । विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि जेठ १ गतेदेखि भएको उक्त तालिममा विभिन्न विद्यालयबाट २३ जनाको सहभागिता रहेको छ ।
समापन कार्यक्रममा पुस्तकालयका पूर्वअध्यक्ष प्रेम प्रजापतिले वि.सं. २०३८ सालदेखि हालसम्म निरन्तररूपमा सामाजिक दायित्व बहन गरी समाजलाई सकारात्मक परिवर्तन गरेको बताउनुभयो । उहाँले समाजमा खुलेर विचार राख्न नपाएको त्यस समयदेखि नै पुस्तकालयबाट राजनीतिक, सामाजिक र सांस्कृतिकरूपमा जनचेतना जगाएको उल्लेख गर्नुभयो । समाजका हरेक पक्षलाई लिएर अघि बढेको पुस्तकालयले अहिले विद्यार्थीकेन्द्रित चित्रकलाको तालिमको महत्व बताउँदै विद्यार्थीको सोचलाई समाज परिवर्तनको लागि प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
तालिमका प्रशिक्षक विकास तमखुले निरन्तरको अभ्यासले पछिल्लो समयमा निकै सजिलो बनाउने बताउनुभयो । उहाँले सफल व्यक्तित्व निर्माणका लागि चित्रकलाको महत्व रहेको बताउँदै विभिन्न कला सङ्ग्रहालयहरूको अध्ययन भ्रमणले विद्यार्थीहरूमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।
अभिभावक दीपक माकले एउटा तस्बिरले हजार शब्दभन्दा बढी बताउने भएकाले चित्रकारले विषयवस्तुको महत्वअनुसार उतार्नुपर्नेमा जोड दिनुभयो ।
प्रोविस प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा पुस्तकालयका अध्यक्ष रवीन्द्रप्रसाद कुसी, जयराम कोजु, प्रगति बाल क्लवका अध्यक्ष प्रकृति प्रजापति र प्रशिक्षार्थीहरू स्पारा कोजु र विकल्प प्रजापतिले बोल्नुभयो ।
तालिममा सहभागीहरूको मूल्याङ्कन गरी उक्त कार्यक्रममा सर्वोत्कृष्ट स्थान हासिल आलोक कोजु र प्रत्युशा राजोपाध्यायलाई पुरस्कृत गरियो । पूर्वअध्यक्ष प्रजापतिले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *