भर्खरै :

सहकारी गरिब र थोरै पैसा सङ्कलन गर्ने सदस्यहरूको लागि सहयोगी बन्नुपर्ने

सहकारी गरिब र थोरै पैसा सङ्कलन गर्ने सदस्यहरूको लागि सहयोगी बन्नुपर्ने

भक्तपुर, ५ असोज । थालाछेँ बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी गरिब र थोरै पैसा सङ्कलन गर्ने सदस्यहरूको लागि सहयोगी बन्नुपर्ने तर सहकारीहरूले बैङ्कहरूमा पैसा राख्दा बैङ्कपतिहरूलाई मात्रै पोस्ने कार्य भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारीको पैसा अधिकांश घर–जग्गा गाडी खरिदजस्ता अनुत्पादक क्षेत्रमा मात्रै प्रयोग भइरहेको हुँदा घर–जग्गा कारोबार सुस्ताएसँगै सहकारीहरूमा समस्या भइरहेको छ ।”
सहकारीहरूले हरेक सदस्यहरूलाई सीप प्रदान गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिमहरू दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “केही स्वार्थी, अवसरवादी चरित्रका मानिसहरूले बदनियतपूर्वक सहकारीको पैसा सदुपयोग गरेको कारण सहकारी क्षेत्र यतिखेर बदनाम भइरहेको छ ।”
उहाँले भन्नुभयो, “नेपालमा उत्पादन केही नहुँदा सबै वस्तुमा विदेश निर्भर हुनुपर्ने अवस्था आएको छ† रोजगारीको निमित विदेश जान बाध्य छन् ।”
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले विद्यार्थीहरूलाई आफ्नै देशमा पढ्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नपाबाट खानेपानी व्यवस्थापनको लागि मेलम्ची खानेपानी ल्याउन पहल र ठाउँठाउँमा डिप बोरिङ गरिरहेको बताउनुभयो ।
उहाँले नगरको फोहोर व्यवस्थापनका लागि जनताले कुहिने र नकुहिने फोहोर छुट्याएर राखेमा फोहोर व्यवस्थापन गर्न मद्दत मिल्ने बताउनभुयो ।
आ.व. २०८०/८१ को संस्थाको आर्थिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत भएको उक्त कार्यक्रममा आ.व. २०८१/८२ को अनुमानित बजेट तथा कार्यक्रमसमेत साधारणसभाबाट पारित गरिएको थियो ।
कार्यक्रममा ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरूलाई सम्मान, हालसम्म स्नातकोत्तर उत्तीर्ण सदस्यहरूलाई सम्मान र बधाई ज्ञापन तथा असल बचतकर्ता र ऋणीहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा कृष्णश्वरी मचामसी र देवकुमार अवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *