सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
कुनै पनि देशको समाजमा पुराना जातजाति, भाषाभाषी र सरकारी वा राजनैतिक पार्टीका नेताहरूका परिवारका सदस्यहरूलाई साधारण जनताले आदर, सहानुभूति, माया वा अपनत्वको भावनाले इज्जत राख्ने काम गर्दै छन् । त्यस्ता माथिल्ला परिवारका छोराछोरी वा भाइबुहारी र श्रीमतीहरूले नराम्रो, समाजले नपचाउने एवम् देश, जनता र समाजविरोधी काम गरेको समाचार सुन्दा र पढ्दा साधारण जनता अत्यन्त दुःखी हुँदै छन् त्यो परिवारका ज्येष्ठ सदस्यहरू र हिजोसम्म आदर र सम्मान गरेका व्यक्तिहरूलाई आज जनता खिन्न मनले सम्झने गर्छन् । मानिसहरू दुःखपूर्वक भन्ने गर्छन्, “छोराछोरी र नाति–पनातिले बुबा–आमा र हजुरआमा एवम् हजुरबुबालाई ‘नर्क पु¥याए’, ‘परिवारप्रति कालो पोते’ र ‘धिक्कार छ, आजको पुस्तालाई ।”
भारतमा बम्बईमा पत्रकारिता गर्ने महात्मा गान्धीका छोरो रक्सी खाएरै मरे । भारतको राष्ट्रपति राजेन्द्र प्रसादको छोरोले एक किसानलाई गोली हानी मारेका थिए । चीनका पहिलो राष्ट्रपति सन यात सेनका नाति अमेरिकाको हलिउड सिनेमामा भाग लिए आदि । हिजोसम्म नेपालकै एक प्रधानमन्त्री बीपीका छोरा प्रकाश कोइराला प्रतिगामी सरकारमा भाग लिएर वा रक्सी खाएर पिता र पार्टीको बेइज्जति गरे । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले परराष्ट्रमन्त्री भएर पासपोर्ट काण्ड र अनेक काण्डहरू गरिन् । अहिले पाँच पटक प्रम भएका शेरबहादुर देउवाले निर्वाचनको बेला मतदातालाई ५–५ हजार रूपैयाँको खाम बाँडे । घटनाले नेकाका अन्य नेता र कार्यकर्ताको शिर निहुरेको धेरैले अनुभव गरेका थिए ।
त्यसो त दरबारकै छोराहरूले बेलायत, अमेरिका र राजधानीमै अनेक काण्ड गर्दा, विदेशीहरूले दरबार हत्याकाण्डबारे नबोले पनि जनता मौन बसे । तर, केही गृहमन्त्रीहरूले षड्यन्त्रपूर्वक उपत्यकाकै जात्रामा उपद्रव रचेर रब्बरको गोली चलाएकोमा परराष्ट्र तथा मानव अधिकार समितिले गृहमन्त्रीप्रति शक्ति दुरूपयोगको आरोप लगाए पनि केही कारबाही भएन† माफी माग्ने राजनैतिक शिष्टतासमेत देखिएन । उल्टै पाल्पामा परराष्ट्र तथा मानव अधिकार समितिका सभापतिमाथि काङ्ग्रेस सरकारको विरोधमा मसाल जुलुस ग¥यो भन्ने नाममा प्रदर्शनमाथि गोली चलाएर सख्त घाइते बनाइयो । प्रजातन्त्रमा सत्ता सम्हालेका सरकारको शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु र जनसभा राख्नु प्रजातान्त्रिक समाजको एक सौन्दर्य हो । आज प्रमुख प्रतिपक्षले सत्तापक्षको विरोधमा जनसभा र प्रदर्शन नगरी प्रजातन्त्रको तेजोबध गरी सरकारमा बसेर ‘खीर’ खानमात्र मुख खोल्ने प्रतिपक्षका नेताहरू किन मुख खोल्दैनन् भनी जनतामाझ व्यापक चर्चा छ ।
आज पैसा र उपहार बटुलेर मत खसाल्ने नागरिकहरूले पनि आफ्नो खोट र विराम सम्झेर आत्म–आलोचना गरी प्रजातन्त्रको सकारात्मकता जोगाउन आ–आफ्नो कर्तव्य पालन गरेका छन् । देशको हरेक समाचारपत्रमा दैनिकजसो सहकारीहरूबाट भइरहेका ठगी, अपचलन र भ्रष्टाचार औँल्याइरहेका छन् । अख्तियारले खोजेका व्यक्तिहरूलाई समेत परराष्ट्रमन्त्रीले सहकारीसम्बन्धी माथिल्लो समितिको सदस्य बनाउन सिफारिस गरेका व्यक्तिलाई स्वीकार गर्दा परराष्ट्रमन्त्री राणा र प्रम मन्त्रीको के इज्जत रहला भनी घरघरमा टीकाटिप्पणी हुँदै छ । यो एक लज्जाको विषय हो, ऐन–कानुन र सत्ताको मत्ता होइन राजनैतिक नैतिकताको विषय हो ।
‘३३ वर्ष अध्यक्ष रहँदा रीता सिंह वैद्यले परोपकारी संस्था बाल सङ्गठनको नक्सालस्थित २८ रोपनी जग्गा बिनाप्रतिस्पर्धा कौडीको भाउमा वि.सं. २१३१ सम्मका लागि लिजमा दिएर अनियमितता गरेको मुद्दा सीआईबीमा, अहिले राजनीतिक पहुँच र सत्ताको दबाबमा उन्मुक्ति दिने तयारी’ भन्दै ८ असोज २०८१ को ‘नयाँ पत्रिका’ ले गणेशमान सिंहकी छोरी रीता सिंह वैद्यसहितका पदाधिकारीविरुद्ध कारबाही सिफारिस पूर्वन्यायाधीशको नेतृत्वको छानबिन आयोगले गरेको बताइएको छ । शीर्षक हो – ‘कार्यवाहक प्रधानमन्त्री सिंहकी दिदी रीता मुख्य आरोपी रहेको मुद्दा ढिसमिस गर्ने तयारी ।’
के नेकाका सर्वमान्य नेता र पूर्वमन्त्री गणेशमान सिंहकी छोरीले त्यस्तो काम गर्नु हुने थिएन भन्ने थाहा नपाउनु भन्नु स्वयम् लज्जाको विषय हो । जानाजान गरेको हो भने ठुलो अपराध हो । यसमा जालसाजी गर्ने एक मारवाडी हुन् भन्ने सबैलाई थाहा छ । तर, त्यसो भनेर रीता सिंह वैद्यले अनजानमा गरेको कसैले भन्ने छैनन् ।
कागजी डिभोर्स गरेका धनराजमाथि थप अनुसन्धान गरी कारबाही गर्ने निर्देशन
नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङमाथि थप अनुसन्धान हुँदै छ । ५ असोज, २०८१ को ‘नयाँ पत्रिका’ को शीर्षक हो, ‘४० सहकारीबाट ८८ अर्ब अपचलन ।’ ‘सहकारी बचत रकम दुरूपयोगसम्बन्धी विशेष छानबिन समितिले तयार गरेको प्रतिवेदनअनुसार ४० सहकारीबाट ८७ अर्ब ८९ करोड अपचलन भएको छ ।’
यसै मुद्दाको सिलसिलामा नेका उपसभापति धनराज गुरुङसमेत छानबिनमा परेका छन् । उनकी जहान ज्योति गुरुङ, ‘मितेरी बचत तथा ऋण सहकारी’ का महाप्रबन्धक हुन् । १४ करोड ८१ लाख रकम अपचलनको मुद्दाबाट आफू पन्छिन धनराजले २९ फागुन, २०७६ मै ज्योतिसँग कागजी’ डिभोर्स गरेको बताइएको छ ।
नेका उपसभापतिजस्तो व्यक्तिले परिवारबारे थाहा थिएन भन्न सक्ने स्थिति नभएकैले पारपाचुके भएको बताएको मात्रै हो भन्ने प्रस्ट भयो – कागज पत्रले । तर, सोच्नुपर्ने विषय, राजनैतिक कार्यकर्ता र नेताले आफ्ना छोराछोरी, पति वा पत्नीको विषयमा थाहा छैन भन्न नसकिने र जनता नपत्याउने तथा छोराछोरी र पत्नी आफ्ना बुबा र पतिको इज्जत, प्रतिष्ठा र जनताको विश्वासलाई समेत सोचेर आफूहरूले काम कुरामा हात हाल्नुपर्ने प्रस्ट छ ।
त्यस्तै, युवा अवस्थामा केटा र केटीले विवाह गर्दा आफूले रोज्ने बाटो र पति वा पत्नीले अँगाल्ने पेसाबारे पनि पहिले नै जानकारी राख्न जरुरी छ भन्ने प्रस्ट हुन्छ । विवाह एक जोडीको हृदयको मिलन मात्र नभएर जनता र समाजसँग जोडिएको विषय हुन्छ भन्ने ढङ्गले युवा–युवतीले शिक्षा लिनुपर्ने देखिँदै छ ।
नेपाली समाजमा बाहुन, क्षेत्री वा ठकुरी, मल्ल आदि जातजातिबारे आदर गरिएको हुन्थ्यो । इतिहासकै कारण उनीहरू ठुलठुला पदमा सिंहदरबार, प्रहरी, सेना आदि सरकारका विभिन्न महत्वपूर्ण कार्यालयमा मुख्य पदमा देखिएकै विषय हो । समयअनुसार प्राविधिक क्षेत्र र शिक्षामा पनि माथिल्ला परिवारका व्यक्ति प्रशस्त छन् । तर, आज ती नै परिवारका व्यक्तिहरू नै देशमाथि घात गर्नेहरूमा देखिएका थिए । अङ्ग्रेजहरूसँगको सुगौली सन्धिमा देशलाई घात गर्ने गरी हस्ताक्षर गर्नेहरू गजराज मिश्र र चन्द्रशेखर उपाध्याय थिए । त्यस्तै, ठाउँ–ठाउँमा अङ्ग्रेजहरूको अगाडि आत्मसमर्पण गर्ने र वैरीहरूसँग मिल्ने पनि तिनीहरू नै देखिए । आज अमेरिकी साम्राज्यवादसँग एमसीसीमा हस्ताक्षर गर्ने नेपाली राजदूत र मन्त्री पनि माथिल्ला समाजकै हुन् ।
टेलिकमका पूर्वप्रबन्धक निर्देशक सुनिल पौडेलविरुद्ध अहिले किर्ते मुद्दा दायर भएको (नेपाल समाचार पत्र – ९ असोज, २०८१) मा प्रकाशित छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका विकल पौडेलले हुन्डीमार्फत करोडौँ रूपैयाँ अमेरिका पु¥याएको विरोधमा अर्काे मुद्दा दायर भएको बताइएको छ ।
माथिल्ला पदका व्यक्तिहरू अपराधमा
नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीविरुद्ध सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका छन् र उनी गोरखा मिडिया नेटवर्क प्रालिका संस्थापक शेयर होल्डर तथा सञ्चालकसमेत थिए । (राजधानी – ८ असोज, २०८१)
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई रूपन्देहीको सुप्रिम सहकारीबाट ऋण प्रवाह भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले देखाएको छ । गोर्खा मिडिया नेटवर्कसँग औपचारिक सम्बन्ध नै नभएका उनलाई कम्पनीले २ करोड ३४ लाख ऋण तथा पेश्की लिएको छ । पुनले सूर्यदर्शन सहकारीबाट पनि ५० लाख ऋण लिएर नतिरेको प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगी प्रकरणमा पक्राउ परी उनी धरौटीमा रिहा भएका थिए । उक्त सहकारीमा जीबी राई र दिपेशसहितको समूहले सर्वसाधारणको १ अर्ब ३१ करोड बचत रकममध्ये ८६ करोड १८ लाख अपचलन गरेको प्रतिवेदन रूपन्देही प्रहरीले सरकारी कार्यालयलाई बुझाएको थियो ।
सुन तस्करीमा संलग्न भएको आरोपमा उनी २०८० चैत २ मा काठमाडौँको धापासीबाट पक्राउ परेका थिए । (कान्तिपुर, ८ असोज, २०८१)
‘मेलम्ची भ्रष्टाचारमा पूर्वसचिव ठाकुरलाई ८ वर्ष कैद’ शीर्षकको समाचार छापियो । भ्रष्टाचारी ठहर भएका तीन कर्मचारी, एक परामर्शदाता र तीन निर्माण कम्पनीबाट १ अर्ब २९ करोड ४९ लाख असुल गर्नुपर्ने विशेष अदालतको फैसला छ ।
Leave a Reply