भर्खरै :

महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को १७ औँ वार्षिक साधारणसभा

महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को १७ औँ वार्षिक साधारणसभा

भक्तपुर, १९ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ७ वाचुत्वस्थित महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभाको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले कुनै पनि संस्था राम्रो बनाउन नेतृत्वकर्ताहरूको भूमिका उल्लेखनीय हुनुपर्ने बताउनुभयो । सहकारी संस्थाहरूले युवालक्षित सीपमूलक तालिमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको कारण विकास गर्दा भक्तपुर आज देशकै शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य ढिलो चाँडो पूरा हुनेमा विश्वास व्यक्त गर्दै उहाँले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनतर्फ नपाले जोड दिँदै आएको बताउनुभयो ।
जनताको रकम हिनामिना गर्ने सहकारी सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले सहकारी संस्थामार्फत हुने सामाजिक गतिविधिलाई अझ व्यापकता दिनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले युवाहरू बिदेसिने क्रम झन्झन् बढ्दै गइरहेको प्रसङ्ग जोड्दै भक्तपुर नपाले ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सहकारी संस्थाहरू आर्थिक अनुशासन, पारदर्शी र नियमसङ्गत ढङ्गले सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउँदै समाजवादी देशहरूमा सहकारी संस्थाहरूमार्फत धेरै राम्रा राम्रा कामहरू भएको बताउनुभयो । उहाँले समाज र समुदायमा आधारित सहकारी संस्थाले सदस्यहरूको हितमा काम गर्नुपर्ने बताउँदै सहकारी सामाजिक, आर्थिक सँगसँगै राजनैतिक सङ्गठन पनि हो भन्नुभयो ।
पूर्ववडाध्यक्ष कृष्णगोविन्द खाइजुले महेश्वरी साकोस यहाँका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने उद्देश्यले सञ्चालित संस्था भएको बताउँदै समुदायमा आधारित सहकारी संस्था स्थापनाले समाज र परिवारलाई धेरै सहयोग पुगेको बताउनुभयो । सहकारी सञ्चालकहरूले आफूलाई सामाजिक कार्यकर्ताको रूपमा स्वयम्सेवी भावनाले काम गर्न प्रेरित गर्दै उहाँले युवाहरू लक्षित गतिविधि सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घका प्रतिनिधि कृष्णश्वरी प्रजापतिले सहकारी संस्थाको साधारणसभा सहकारीको महत्वपूर्ण सभा भएको बताउँदै भत्ता र लाभांश वितरणसँगसँगै सहकारीको वित्तीय अवस्थाबारे सदस्यलाई जानकारी गराउने उद्देश्यले साधारणसभा सञ्चालन हुन जरुरी रहेको बताउनुभयो ।
सिद्धि गणेश साकोसका उपाध्यक्ष विष्णुराम दुमरुले सहकारी संस्थाहरू आर्थिक गतिविधिमा मात्र सीमित हुन नहुने बताउँदै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनेतर्फ सहकारी संस्थाहरूले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
महेश्वरी साकोसका अध्यक्ष राजेश कुस्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वअध्यक्ष विवेक कुस्मा, उपाध्यक्ष तेजभक्त श्रेष्ठ र सचिव अन्जन छुस्याबागले महेश्वरी साकोस स्थापनाको उद्देश्य र यसबाट सञ्चालित विविध गतिविधिबारे प्रकाश पार्नुभयो । २०६२ सालमा २७ हजार शेयर पुँजी, ५४ जना सदस्यबाट स्थापना भएको महेश्वरी साकोसमा हाल रु. १४ करोडको कारोबार भइरहेको छ । संस्थामा १,२५६ जना सदस्य र ३०६ जना बाल सदस्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *